Logo

दुर्गा प्रसाईले नेपालका औषधि फापरको पिठो जस्तो र एमआरलाई दलाल भनेपछि..

समाचार टिप्पणी



झापा, २५ साउन । बिर्तामोडको बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले नेपालका औषधि फापरको पिठो र औषधि बिक्रेता एमआरलाई दलाल भनेपछि स्वास्थ्य क्षेत्रमा हल्लीखल्ली मच्चिएको छ ।

अस्पतालमा केही दिन अघि आयोजित पत्रकार सम्मेलनमा प्रसाईले औषधि उद्योगहरुले एमआरको प्रयोग गरेर बिरामी ठगी गर्ने गरेको भन्दै आलोचना गरेका थिए ।

प्रसाईले औषधि उद्योगले एमआर (मेडिकल रिप्रेजेन्टेटिभ) प्रयोग गरेर बिरामीलाई कसरी ठग्छन् भन्ने सत्य कुरा सार्वजनिक गरेका छन् । उनले पत्रकारका अघि औषधि उद्योगी र एमआरले अस्पतालका विरामी कसरी ठगिन्छन् भन्ने बेलीबिस्तार लगाए । उनले भने, अस्पताल र क्लिनिक धाउने एमआरहरुले सबै विगारेको आरोप लगाए । उनले औषधि बेच्ने दलालहरुले विभिन्न खालका औषधि भिडाएर विरामी, डाक्टर तथा अस्पताल सञ्चालकलाई हैरान पार्ने गरेको टिप्पणी गरे ।

प्रसाईले नेपालका औषधि उद्योग नसुध्रिएसम्म अस्पतालमा विरामी चाप बढेने बताए । उनले सरकारले औषधि उद्योगको अनुगमन गरेर कारवाही गर्नु पर्ने बताए । प्रसाईले नेपालका औषधि उद्योगले उत्पादन गरेको कुनै पनि औषधि काम लाग्ने खालको नभएको बताए । ‘नेपालमा उत्पादित धेरै औषधि फापरको पिठो जस्तो छ । दुइ दिनमा निको हुने विरामी हप्ता दिन औषधि खाँदा पनि निको हुँदैनन् ।’

प्रसाईले पत्रकारसँग भने, ‘म आफै अस्पतालको सञ्चालक हुँ तर नेपालका उद्योगबाट उत्पादित औषधि प्रयोग गर्दिन, म भारतीय औषधि प्रयोग गर्छु, यहाँका औषधिका व्यापारीले विरामीलाई ठगेका छन् ।’

प्रसाईले औषधि बेच्ने दलालहरुले डाक्टर र केहि अस्पतालका सञ्चालकलाई किनिसकेको बताए । सुरुमा आफ्नो अस्पताल पनि त्यही अवस्थामा भएको स्वीकारे । उनले भने, ‘तर, अहिले धेरै कन्ट्रोल गरिसके । एमआरहरुलाई अस्पताल पस्न रोक लगाइसकेको छु ।’ ‘एमआरहरुले यतिसम्म कि डाक्टरहरुको खानेबस्ने र हवाईजहाजको टिकटसम्म व्यवस्था गरिदिने गरेको रहेछ’, उनले भने ।

प्रसाईको यो प्रतिक्रियापछि बिर्तामोडका एक औषधि बिक्रेताले एमआर र औषधि बिक्रेता कम्पनीले डाक्टर कसरी किन्छन् भन्ने सुनाए । नाम सार्वजनिक नगर्ने शर्तमा उनले भने, ‘ डाक्टरका घर र कोठाका एसी, फ्रिज, टिभी, फर्निचर जस्ता सामग्री मात्र होइन, बिभिन्न ब्राण्डका सक्सी समेत कोठैमा पुग्ने गर्दछ ।’

औषधि उद्योगले डाक्टरलाई एउटा औषधि लेखिदिए वापत वार्षिक एक लाखदेखि दुई लाखसम्म दिने गरेका छन् । चल्तीका डाक्टरले २० वटा ब्राण्डका औषधि लेख्दा वर्षको २० देखि ४० लाखसम्म नगदै पाउने गरेका छन् । प्रसाईले भने जस्तै डाक्टरलाई लगभग पैसाको भरमा औषधि उद्योगले किनिसकेको हुने ति बिक्रेताको भनाई छ ।

प्रसाईको यो टिप्पणी केही मिडियामा आएपछि अस्पताललाई औषधि उद्योग, डाक्टर र एमआरको दवाव परेको छ । स्वयम् प्रसाईले र अन्य संचालकले आफू नजिकका पत्रकारलाई यो बिषयलाई धेरै नउछाल्न आग्रह गरेका छन् ।

प्रसाईको टिप्पणीप्रति डाक्टर, औषधि उद्योग र औषधि बिक्रेताले आपत्ति जनाएका छन् । उनीहरुले एउटै पेसामा भएर यस्तो नकारात्मक टिप्पणी गर्न नहुने गुनासो गरेका छन् । सार्वजनिक रुपमा आपत्ति नजनाएपनि आन्तरिक रुपमा असन्तुस्टी व्यक्त गरेका छन् ।

धेरै औषधि लेखिदिने डाक्टरलाई डोमेस्टिक हवाई यात्राको टिकटदेखि विदेश भ्रमण यात्रासमेत गराउने गरेकाछन् । डाक्टरलाई काठमाडौँबाट बाहिर जिल्लाका क्लिनिकमा जाने आउने हवाई टिकट उद्यागले दिने गर्दछन् । सेमिनारको बहानामा चल्तीका डाक्टरलाई औषधि उद्योगले विदेश भ्रमणमा पठाउने गरेका छन् ।

नेपालमा ५० भन्दा बढी औषधि उद्योग संचालनमा छन् । स्वदेशी तथा विदेशी लगानीका २१ भन्दा बढी उद्योग संचालनको तयारीमा छन् । नेपालमा उत्पादित औषधिले ४५ प्रतिशत बजार ओगटेको छ । नेपालको औषधि बजारको ठूलो हिस्सा भारतीय औषधिले ओगटने गरेको छ । आयुर्वेदिक औषधि उत्पादन गर्ने पनि ५० भन्दा बढी उद्योग संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्