Logo

बिर्तामोडः वृहत शहरको आकार लिँदै



झापा, १७ असार । मेचीको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड पूर्वको वृहत शहरको आकार लिएको छ । अनारमनी, चारपाने, गरामनी गाबिस समायोजन भएर बिर्तामोड नगरपालिका बनेपछि यसले वृहत आकार लिएको छ । पूर्व पश्चिम राजमार्ग, भद्रपुर केचना सडकका साथै लामो तथा छोटो दुरीका अधिकांश बस बिर्तामोडबाट छुटने गरेका छन् ।

दुई दशक अघिसम्म बिर्तामोडमा काठ र टिन लागाएका घर पर्याप्त देखिन्थे । तर, पछिल्ला डेढ दशकमा बिर्तामोडले निकै ठूलो फड्को मारेको छ । बिर्तामोडमा एक दशक अघिनै नगर पालिका हुने पूर्वाधार तयार भएको थियो । तर, सरकारले नगरपालिका नबनाउँदा मेचीकै मुख्य शहर बिर्तामोड पूर्वाधारमा पछि परेको हो । अहिले बिर्तामोडमा जे छ त्यो पूर्वाधार बिनाको जवरजस्त शहर हो भन्दाफरक नपर्ला ।

बिर्तामोड नगरपालिकाले पूर्वाधार बिकासका लागि तिव्र गतिमा अघि बढनु पर्ने भएको छ । सडक र दल निर्माणमा पछि परेको बिर्तामोड नगरपालिका भएपछि पूर्वाधार निर्माणले गति लिएको छ । अहिले बिर्तामोड निर्माणका कार्यले अस्तव्यस्त देखिए पनि दुई वर्ष भित्र बिर्तामोड पूर्वको वृहत शहर बन्न सक्ने सम्भावना छ ।

बिर्तामोडमा पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम लगायतका पहाडी जिल्लाबाट मात्र होइन, झापाका ग्रामिण इलाकाबाट पनि वर्षेनी सयौँ परिवार बसाई आउने गरेका छन् । त्यसो त नेपाली मूलका भारतीय पनि दार्जिलिंङ, खर्साङ लगायतका स्थानबाट बसाई सरेर बिर्तामोड आउने गरेका छन् । अमेरिका लगायत त्स्रो मुलुक नगएका वा गएर फर्किएका सायँं भुटानी शरणार्थी परिवार बिर्तामोडमा बसोवास गरिरहेका छन् ।

बिर्तामोडमा केही वर्ष यता ठूला ठूला हस्पिटल, सूपर मार्केट, कलेज, होटल खुलेका छन् । बि एण्ड सी, बिर्तासिटी जस्ता ठूला लगानीका अस्पताल खुलेका छन् । हनुमान सेन्टर र बिग मार्केट जस्ता आधुनिक मार्केट संचालनमा छन् । डिलक्स टाइपमा एक दर्जन होटल खुलेका छन् भने तारे होटल संचालनको तयारीमा छ । निजी क्षेत्रबाट पूर्वाधारमा ठूलो लगानी भएको छ । दर्जनौं बैक, फाइनान्स र सहकारी संस्था संचालनमा छन् ।

ताप्लेजुङु, पाँचथर र इलामको कृषिजन्य उत्पादन बिर्तामोड आउने र बिर्तामोडबाट खाद्यान्न, लत्ताकपडा लगायत दैनिक उपभोग्य सामग्रीदेखि मेशिनरी पाटपूर्जा, सवारी साधन कलकारखानाका सामग्री निर्यात हुने गरेको छ ।

व्यावसायिक हिसावले मात्र होइन, बिर्तामोड मेचीको राजनीतिक केन्द्र जस्तै बनेको छ । प्राय राजनीतिक दलका जिल्ला कार्यालय पनि बिर्तामोडमा रहेका छन् । भूमिगत तथा आपराधिक समुहका लागि पनि वासस्थान बनेको छ, बिर्तामोड ।

बिर्तामोडमा विभिन्न जातिका मानिस बसोवास गरेका छन् । कुनै एक जातिको मात्र बसोवास छैन । मिश्रित जातिको बसोवास भएकाले पनि बिर्तामोड धेरैको रोजाईमा परेको हो । यि अनेक सम्भावनाले पूर्वाधार कम हुँदाहुँदै बिर्तामोडले एक वृहत आकार ग्रहण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्