Logo

प्रचण्डको सन्देशः सत्ता कि पार्टी नेतृत्वको वार्गेनिङ ?



नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः एक पटक नेपाली मिडियामा तरंग ल्याएका छन् । पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री भारत भ्रमणमा रहेका समयमा प्रचण्डले सत्तामा साझेदारीको प्रतिक्रिया किन दिए ? सर्वत्र चर्चा र चासोको विषय बनेको छ ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकताको सन्दर्भमा दुई अध्यक्षले आधा आधा कार्यकाल सरकार संचालन गर्ने सहमति गरेका थिए ।

सहमतिको विषय बाहिर आएपनि हस्ताक्षर भएको सम्झौता पत्र भने सार्वजनिक भएको थिएन । तर, भारतमा मोदीको पुर्नउदयसँगै प्रधानमन्त्री ओली भारत भ्रमणमा रहेका बेला प्रचण्डको प्रतिक्रिया अर्थपूर्ण रहेको विश्लेषण गरिएको छ ।

प्रचण्ड कहिलेकाँही सार्वजनिक एजेण्डा स्थापित गर्न पनि यस्ता प्रतिक्रिया र वक्तव्य दिने गर्दछन् । उनको यस्तो शैली जनयुद्ध कालमा पनि देखिएको थियो । राजनीतिक रुपमा एक ढंगले अघि बढिरहेको अवस्थामा प्रचण्ड तत्कालै युटर्न हुनसक्ने नेतामा पर्दछन् । प्रचण्डको यस्तो शैलीले धेरैलाई आश्चर्यमा मात्र पर्दैन, राजनीतिक वृतमा तरंग पनि ल्याउने गरेको छ ।

काँग्रेससँगको सत्ता र निर्वाचनमा सहकार्य भइरहेको अवस्थामा तत्कालिन एमालेसँग निर्वाचनमा सहकार्य मात्र होइन, पार्टी एकता नै गर्ने प्रचण्डले सहमति गरे । यसले राष्ट्रिय अन्र्ताष्ट्रिय रुपमा तरंग उत्पन्न गरेको थियो ।

प्रचण्ड नकिटका नेता भन्ने गर्दछन्, प्रचण्ड परिस्थिति आंकलन गर्न कहिलेकहीँ वक्तव्यवाजीमा उत्रन्छन् । उनले कूटनीतिक रुपमा कुनै साइनो सम्बन्ध नभएको दक्षिण अमेरिकी मुलुक भेनेजुएलाका विषयमा वक्तव्य निकालेर तरंग ल्याएका थिए । त्यसबेला पनि प्रधानमन्त्री ओली विदेश भ्रमणमा थिए ।

भूुकम्प पछि बन्द भएको तातोपानी नाका खुलाउन ओली र प्रचण्डले धेरै प्रयास गरे । पटकपटक अनुनय विनय गरे । तर, चीनले सँधै हुन्छ हुन्छ भनेर झुलाए पछि अमेरिकाको इण्डो प्यासिफिक रणनीतिक प्रस्तावमा छलफल गर्न ओली र प्रचण्डले परराष्ट्र मन्त्री प्रदीप ज्ञावालीलाई अमेरिका पठाए । मन्त्री ज्ञावालीले अमेरिकासँग छलफल गरेपछि चीन झस्कियो । चीनले अमेरिकी रणनीतिलाई रोक्न तातोपानी नाका खुल्ला गरेको छ ।

प्रधानमन्त्री ओली र प्रचण्डको सहमतिमै मन्त्री ज्ञावालीले इण्डो प्यासिफिक रणनीतिमा प्रारम्भिक सहमति गरेका थिए । तर, अमेरिकाले प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्री ओलीलाई मात्र महत्व दिने तर प्रचण्डलाई कुनै महत्व दिएन ।

अमेरिकाले बाल नगने पछि प्रचण्डले भेनेजुवेलाका राष्ट्रपति मधुरोका पक्षमा वक्तव्य दिए । अमेरिकालाई साम्राज्यवादीको आरोप लगाए । पछि सरकारले समेत प्रचण्डको वक्तव्यलाई कूटनीतिक भाषामा समर्थन गर्नु पर्ने अवस्था आयो । त्यस लगत्तै प्रचण्ड पत्नि सीताको उपचारका लागि अमेरिका गए । अमेरिकी अधिकारीसँग भेटघाट गरे ।

प्रचण्डको राजनीतिक वक्तव्य जारी गर्ने विषय नौलो होइन । कुन समयमा कस्तो वक्तव्य जारी गर्ने भन्ने राम्रो कला र हेक्का राख्ने गर्दछन् प्रचण्ड । खुल्ला मात्र होइन, युद्धकालमा पनि प्रचण्डका वक्तव्यले तरंग ल्याउने गरेको थियो ।

जनयुद्धका समयमा प्रचण्डले नोकरसँग होइन, मालिकसँगै वार्ता गर्ने भन्दै वक्तव्य जारी गरे । सरकारसँग होइन, राजासँगै वार्ता गर्ने भन्दै जारी गरेको वक्तव्यले पनि त्यसबेला तरंग ल्याएको थियो ।

भारतीय हस्तक्षेप रोक्न भन्दै जारी गरेको सुरुङ युद्ध गर्ने वक्तव्य होस वा चुनवाङ् बैठक पछि लोकतान्त्रिक गणतन्त्रमा जाने माओवादीको निर्णय वा सात राजनीतिक दलसँग भएको १२ बुँदे समझदारी सबैले राजनीनिक वृतमा तरंग ल्याएको थियो ।

संविधान निर्माणको विषय होस वा अहिलेको सत्ता साझेदारको विषय होस प्रचण्डका खास खास बेलामा सार्वजनिक हुने वक्तव्यले हलचल ल्याउने गरेको छ । उनको यो शैली अरु नेतासँग मिल्दैन ।

स्वर्गिय गिरिजाप्रसाद कोइरालाले राजनीतिमा कुनै नयाँ निर्णय गर्नु पर्यो भने विराटनगर गएर घोषणा गर्दथे । कोइरालाको यो तरिका स्थापित थियो । प्रचण्डको पनि वक्तव्य जारी गर्ने र राजनीतिमा तरंग ल्याउने शैली स्थापित भएको छ ।

प्रचण्डले बेला बेला जारी गर्ने यस्ता वक्तव्यको गहिरो अर्थ हुने गरेको छ । वक्तव्यमा एकथोक तर परिणम भने अर्कै निस्कने गरेको छ । प्रचण्ड एउटा परिणामका लागि अर्को एजेण्डा सतहमा ल्याउने गर्दछन् ।

प्र्रधानमन्त्री ओली भारत भ्रमणमा गएका बेला प्रचण्डले सत्ता साझेदारका विषयमा दिएको अभिव्यक्ति अर्थपूर्ण छ । झट्ट हेर्दा प्रचण्डको प्रतिक्रिया सरकारका लागि वार्गेनिङ जस्तो देखिएको छ । तर, अन्तर्य कुरा पार्टी अध्यक्षका लागि हो भन्ने संकेत देखिन्छ ।

प्रधानमन्त्री ओलीले पनि व्यङ्ग्य मिश्रित प्रतिक्रिया दिएका छन् । उनले १५ महिना होइन, पाँच दिन पो बाँकी छ त भने । ओलीले प्रचण्ड के खोज्दैछन् भन्ने सम्भवतः राम्ररी बुझेको हुनु पर्छ । नेकपाका अर्का प्रभावशाली नेता बामदेव गौतमको प्रतिक्रियाले प्रचण्डको प्रतिक्रिया तयारीसाथ हो भन्ने बुझिन्छ ।

नेता गौतमले पार्टी र सरकार दुबै प्रभावकारी नभएकाले एकजनाले सरकार र एकजनाले पार्टीको नेतृत्व गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । उनले सहमति पालना नभए पार्टी एकता भाँडिने प्रतिक्रिया दिएकाले प्रचण्डले पार्टी नेतृत्व खोजेको संकेत गर्दछ ।

पार्टी नेतृत्व नदिने भए १५ महिना पछि सरकारको नेतृत्व सुम्पन तयार हुनु भन्ने प्रचण्ड प्रतिक्रियाको सन्देश हो । प्रचण्डको सन्देशलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले कसरी लिन्छन्, त्यसले पार्टी र सरकारको भावी दिन निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्