Logo

देउवालाई तह लगाउन काँग्रेसमा हुँदैछ झेल र खेल



काठमाडौँ, १९ फागुन । महाभारतमा कौरवहरु आफै लडेर सकिए जस्तै नेपाली काँग्रेस भित्र पनि महाभारतकै्र शैलीमा नयाँ खालको लडाई सुरु भएको छ । केही समय अघि सम्पन्न महासमितिको बैठकले दिएको म्याण्डेड विपरित केन्द्रीय समितिको पछिल्लो बैठकले पार्टीको विधान पारित गरेको भन्दै काँग्रेसमा नयाँ युद्धको ऐलान गरिएको हो ।

विशेषगरी पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर काँग्रेस भित्र चर्को विवाद सुरु भएको छ । देउवाले प्रकाशशरण महत जस्ता केही अराजनीतिक व्यक्तिलाई चेपेको भन्दै चर्को विवाद भएको हो । देउवाको कार्यशैली विरुद्ध रामचन्द्र पौडेल, कृष्ण प्रसाद सिटौला तथा पार्टीका महामन्त्री संशाक कोइराला समेत आजित भएका छन् । पार्टी संस्थागत तवरले नचलाएको, विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालले जस्तै ज्यादती गरेको देउवाका आलोचकहरुले बताएका छन् ।

विगतमा आफूले संस्थापन पक्षबाट भोग्नु परेको जस्तै अहिले संस्थापन भएपछि अरुलाई गरिएको भन्दै देउवाको आलोचना मात्रै भएको छैन, पार्टी बैठक समेत नै बहिस्कार गर्नुपर्ने अवस्थामा पुगेको छ । बैठक बहिस्कार गर्नेमा पौडेल, सिटौला मात्रै होइन महामन्त्री समेत देखिएपछि देउवाले अन्तिम समयमा आएर केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिदिएका छन् । पछिल्लो पटक काँग्रेस भित्रको घर झगडाको बाहिर देखाउने कारण नेपाल विद्यार्थी संघको विवाद देखएिपनि भित्र भने आगामी महाधिवेशनबाट नेतृत्व हत्याउने एजेण्डा नै हो ।

पार्टी सभापति मात्रै होइन महामन्त्री पनि एक अर्का प्रति आरोप प्रत्यारा्ेपमा उत्रिएका छन् । एउटाले हैसियत नभएको बताएको छ भने अर्कोले काँग्रेस कोइराला परिवारको पेवा नभएको बताएको छ । देउवाले आगामी एक कार्यकाल समेत सभापति बन्ने इच्छा राखेको उनका निकटवर्ती नेताहरुको भनाइ छ । तर देउवाको उक्त इच्छा पूरा हुन नदिने योजनामा कोइराला खलक लागेको छ । सुजाता जोस्टदेखि शेखर, संशाकको गठबन्धन बनेको छ ।

कोइराला परिवारको् विरासतमा काँग्रेसलाई अगाडि बढाउने भन्दै सो समूहले आगामी महाधिवेशनमा देउवा विरुद्धको मोर्चा खडा गर्ने बताएका छन् । देउवा विरुद्ध कोइराला परिवारको मोर्चा खडा गर्दा सबै भन्दा बढी समस्यामा रामचन्द्र पौडेल पर्ने वाला छन् । कहिल्यै पार्टी सभापति समेत बन्न नपाउने अभावी नेताको रुपमा उनको नाम दर्ज हुने वाला छ ।

प्रधानमन्त्रीमा १७ पटक निर्वाचन हारेको रेकर्ड राखेका पौडेल सभापति नै हुन नपाई काँग्रेसबाट पलायन हुनुपर्ने वाध्यता आइ लागेको छ । कोइराला परिवार काँग्रेसको नेतृत्व आफूहरुले अगाडि बढाउने भन्दै देशव्यापी रुपमा अगाडि बढेको, पौडेलको पक्षमा कोही पनि नभएको तथा देउवाको आफ्नै समूह रहेको अवस्थामा सबैभन्दा मर्कामा उनै पौडेल पर्नेवाला छन् ।

पौडेललाई साथ दिने कुनै पनि नेता सतहमा देखिनै छैनन् । कुनै पनि राजनीतिक अडान नभएका र कुनै पनि क्षमता र राजनीतिक रुपमा योग्यता समेत नभएका पौडेललाई साथ दिएर राजनीतिक करियर सिध्याउने पक्षमा कोही पनि छैनन् । राजनीतिमा एउटा आशावाद हुन्छ, तर पौडेलमा न त राजनीतिक आशावाद रहेको छ, न त उनले कुनै नेता तथा कार्यकर्ताको संरक्षण नै गर्न सक्छन् । उनले केवल आफ्ना लागि मात्रै केही गर्छन्, अरुका लागि केही पनि गर्न सक्दैनन् । उनले सम्धीलाई जागिर खुवाउन सक्छन्, छोरालाई जागिर खुवाउन सक्छन् । तर आफ्ना भनेर लागेका कुुनै पनि नेता तथा कार्यकर्ताको संरक्षण र समेत गर्न सक्दैनन् ।

त्यसो त काँग्रेसलाई दक्षिणपन्थको बाटोमा हिडाउने प्रयास पनि सुरु भएको छ । हिन्दु राष्ट्रको नारामा काँग्रेसलाई दक्षिणपन्थको बोटामा हिडाउन लागिएको हो । त्यसमा महामन्त्री संशाकको बढी हात रहेको छ । उनी र विगतमा खुमबहादुर खड्काको नजिक रहेकाहरु हिन्दु राज्यको विषयमा अगाडि बढेका छन् । उनीहरु पहिले पानी छाम्ने र राजनीति धमिल्याउने हिसाबले अगाडि बढेका छन् । उनीहरु पहिले हिन्ुदु राज्यको कुरा गर्ने र अन्त्यमा राजतन्त्र समेत फिर्ता गराउने कमल थापा मार्गमा अगाडि बढेको राजनीतिक क्षेत्रका जानकारहरुको भनाइ छ ।

काँग्रेसले विगतमा राजनीतिक आन्दोलन र जनताको दबावमा मात्रै आफूलाई गणतन्त्रवादीको कित्तामा उभ्याएको थियो । त्यसमा गिरिजा प्रसाद कोइरालाको ठूलो योगदान रहेको थियो । तर यतिखेर देशमा कम्युनिस्ट पार्टीको सरकार रहेको र प्रजातन्त्र र लोकतन्त्र धरापमा परेको भन्दै केही दक्षिणपन्थी शक्तिले काँग्रेसको एउटा तप्कालाई दक्षिणपन्थको हावा भराएको छ । त्यसको मतियार बनेका छन् सशांक । उनले भारतका जातीवादी र हिन्दुवादी अतिवादीहरुसँग सम्पर्क बढाएको पनि काँग्रेसका जानकारहरुको भनाइ छ । राजनीतिकलाई अगाडि मात्रै बढाउन सकिन्छ तर पश्चगमनका खेलाडीहरुले इतिहासको चक्कालाई पछाडि हटाउने कुचेष्टा गरेका छन्, त्यसमा कोइराला समूहलाई परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्