Logo
  चैत्र ६, २०८० मंगलबार

संस्कृतलाई अन्य भाषाहरुको जननीको रुपमा चिनिन्छः पुरण भट्टराई



रोसन भट्टराई
सूर्योदय नगरपालिका ८ स्थित कन्याम सिद्धिगाउँमा बुबा भिमप्रसाद भट्टराई र आमा जमुना देवी भट्टराईका कान्छा छोराको रुपमा जन्मिएका पुरन भट्टराई उमेरले र्भखर १८ लागे ।

प्रखर पुराण तथा कथा प्रवचकका रुपमा चिनिने उनले संस्कृत भाषाको अध्ययन गर्न थालेको ८ वर्ष भइसकेको छ । उनले विभिन्न २१ ठाउँहरुमा कथा वाचन गरिसकेका छन् । पछिल्लो समय लोप हुँदै गइरहेको संस्कृत भाषा, कर्मकाण्डको महत्व र अध्यात्मवादका बारेमा उनीसंग गरेको कुराकानी प्रस्तुत छ ।

संस्कृत भाषलाई कसरी व्याख्या गर्नुहुन्छ र यसको महत्व के छ ?

संस्कृत भाषा भनेको पौराणीक भाषा हो । यसलाई देव भाषा पनि भनिन्छ । विभिन्न देवता तथा ऋषीमुनीहरुको पालादेखि चल्दै आएको यो भाषा नेपाली, हिन्दी जस्ता अन्य भाषाहरुको जननीको रुपमा चिनिने भएकाले यसको अत्यन्तै महत्व रहेको छ ।

कर्मकाण्डका बारेमा के भन्न चाहनुहुन्छ ?

कर्मकाण्ड भनेको मनमा पवित्रताको भावना राखेर गरिने कार्य हो । मानिसहरुले आफ्नो शारिरिक तथा मानसिक पवित्रताको लागि र यो लोक तथा परलोकमा सुःख शान्ति र मुक्तिका लागि पनि कर्मकाण्ड गर्नु पर्ने तथा हरेक नयाँ तथा रचनात्मक कार्य गर्दा पनि सफलताको कामनाका लागि यो कार्य गरिने हुँदा यसको महत्व अनादि कालदेखि नै रहँदै आएको छ ।

यो पेशा प्रति तपाईको धारणा कस्तो छ ? तथा नयाँ संस्कृत पढ्न इच्छुकहरुलाई के भन्न चाहनुहुन्छ ?

यो पेशामा मैले आफ्नो भविष्य सुरक्षित देखेर नै यस तर्फ उन्मुख भएको हुँ । हुन त हिजो आज समाजमा आफ्नो सनातन धर्मलाई छोडी इसाइकरण बढ्दै गएको छ । यसबाट नेपाली समाज तथा राष्ट्रलाई जोगाई बैदिक सनातन धर्मको रक्षा र निरन्तरताका लागि पनि म यो पेशामा लागेको हुँ । हामी सम्पूर्ण नेपालीहरु ति महान् ऋषि मुनीहरुको सन्तान भएकाले नयाँ पुस्ताले पनि संस्कृत भाषाको अध्ययन गर्नुपर्छ भन्ने मेरो धारण छ ।

संस्कृत भाषा अध्ययन देखि अलावा अन्य के गर्नुहुन्छ ?

म एक संस्कृत भाषाको विद्यार्थी हुँ त्यसैले मेरो मुख्य कार्य त संस्कृत भाषा तथा कर्मकाण्डको अध्यन नै हो तर यसका अलावा संगितमा पनि मेरो मोह उत्तिकै छ । केही दिन अघि मात्र मेरो आफ्नै शब्द तथा कृष्ण भण्डारीको संगितमा रहेको मेरो र पुष्पा प्रणामीको स्वरमा रहेको मैले भगवान संग बोलको भजन सार्वजनिक गरेको छु तथा आगामी दिनहरुमा पनि संगितलाई निरन्तरता दिँदै अगाडी बढ्ने छु ।

धर्मलाई कसरी व्याख्या गर्नुहुन्छ ?

मानव जीवन इश्वरीय वरदान पाएको जीवन हो । धर्मले गर्दा नै संसारमा रहेका अन्य सम्पूर्ण प्राणीहरु भन्दा मानव सर्व श्रेष्ठ रहेको छ । धर्मको वास्तविक अर्थ धारण गर्नु भन्ने हुन्छ अर्थात नियम कानुनमा बसी शास्त्रले बताएका मार्गहरुको अनुशरण अनुसारनै आफ्नो जीवनलाई अगाडी बढाउनु धर्म धारण गर्नु हो । शास्त्रमा भनिएको पनि छ धर्म रक्षित रक्षित अर्थात हामीले धर्मको रक्षा ग¥यौँ भने धर्मले पनि हाम्रो रक्षा गर्नेछ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

नेपाल देशको एउटा पहिचानको रुपमा समेत रहेको संस्कृत भाषालाई सबै भाषाहरुको जननीको रुपमा लिइन्छ । संस्कृत भाषामा लेखिएका विभिन्न ग्रन्थहरुमा मानव जीवनका सम्पूर्ण पक्षहरुको व्याख्या गरिएकाले मानव जीवनमा यसको महत्व धेरै छ । लोप हुन लागेको हाम्रो एउटा पहिचानका रुपमा रहेको यो भाषालाई सबैले बुझेर पहिलाको जस्तै सबै विद्यालयहरुमा अनिवार्य संस्कृत भाषाको पठनपाठन गराउन सकेमा सम्पूर्ण सरोकारवालाहरुमा फाइदा पुग्ने भएकाले सम्बन्धित पक्षले यस तर्फ ध्यान दिन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्