Logo

केन्द्रीय कारागारमा सिसी टिभी जडान



काठमाडौँ, १२ साउन । मुलुककै सबैभन्दा धेरै कैदीबन्दी क्षमताको केन्द्रीय कारागारमा सिसी टिभी जडान भएको छ ।

१०४ वर्ष पुरानो केन्द्रीय कारागारमा धेरै कैदीबन्दी र विभिन्न समयमा कारागारबाट बन्दी भाग्ने गरेको घटना बढेपछि सुरक्षाका लागि सिसी टिभी क्यामरा जडान गरिएको हो ।

केन्द्रीय कारागार कार्यालयका लेखा अधिकृत कुलप्रसाद रेग्मीले रु १५ लाखको लागतमा ३० क्यामरा जडान गरिएको जानकारी दिए ।

“अहिले केन्द्रीय र भद्रगोल कारागारमा सिसी क्यामरा जडान गरेका छौं, अर्को वर्ष महिला जेलमा पनि सिसी क्यामरा जडान गर्नेर्छौँ,”– उनले भने ।

हाल केन्द्रीय कारागारमा एक हजार ६९५, भद्रगोल कारागारमा ७९० र महिला कारागारमा ३१८ कैदीबन्दी गरी दुई हजार ८०३ र नाबालक चारजना रहेको रेग्मीले बताए । केन्द्रीय कारागारमा राखिएको क्यामराको निगरानी प्रहरी प्रमुख र कारागार प्रमुखले गर्नेछन् ।

केन्द्रीय कारागार सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले सिसी क्यामरा जडानसँगै जेलको सुरक्षामा सहज हुने बताए ।

“ धेरै कैदीबन्दी हुँदा सबैलाई भित्र गएर निरीक्षण गर्न सकिँदैन, सिसी क्यामरा भएपछि निगरानीमा सहज हुन्छ,”– उनले भने ।

जेलभित्र कैदीबन्दीले के–कस्ता काम गर्छन् भन्ने बारेमा धेरै कैदीबन्दी आवतजावत गर्ने मुख्य चोकमा सिसी क्यामरा राखिएको हो ।

कारागार व्यवस्थापन विभागका अनुसार हाल नेपालका ७२ जिल्लाका ७४ कारागारमा १८ हजारभन्दा धेरै कैदीबन्दी छन् ।

प्रतिक्रिया दिनुहोस्