Logo

विद्युत् नियमित नगरे आन्दोलनमा उत्रने चेतावनी



उद्धब पुरी
बिर्तामोड २३ जेठ ।  बिर्तामोडको व्यवसायिक संघ÷संस्थाले नियमित विद्युत आपूर्तिको माग गरेका छन् । उनीहरुले   बिहीबार  नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रमा ज्ञापन पत्र बुझाएका छन् ।  
झापा उद्योग वाणिज्य संघ बिर्तामोड, बीरता जेसीज, बीरता लेडी जेसीज, सुनचाँदीं व्यवसायी संघ, पूर्वेली युवा क्लव, हार्डवेर व्यवसायी संघ, मेची डिलर एशोसिएसनले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् । ती संस्थाका पदाधिकारीले  कार्यालयका इन्जिनियर अनिल अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा आर्थिक क्षेत्रको  आधार स्तम्भ उद्योग व्यवसाय भएकाले व्यवसाय नै धरायसी हुने गरी  प्राधिकरणले बिद्युत कटौती गरेको र नियमित विद्युत सुचारु गर्न माग गरिएको छ ।  त्यस्तै यथाशीघ्र लोडसेडिङ हटाउनु पर्ने, विद्युत अनियमितबाट मुक्त गरिनुपर्ने लगायतका माग राखी ज्ञापनपत्र बुझाइएको वाणिज्य संघका अध्यक्ष बलराम कार्कीले बताए ।
ती माग सम्बोधन नगरे उद्योग व्यवसाय बन्द गरेर सडकमा उत्रने संघका अध्यक्ष कार्कीले चेतावनी दिए । ज्ञापनपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय झापा, नेपाल विद्युत् प्राविधिकरण भद्रपुर र प्राधिकरण दुहवी केन्द्रलाई बुझाइने भएको छ ।
 

प्रतिक्रिया दिनुहोस्