Logo
  बैशाख ८, २०८१ शनिबार

किशोर श्रेष्ठले किन दिए रविलाई धम्की ?

समाचार टिप्पणी



काठमाठौँ, २० भदौ । प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले न्युज २४ का पत्रकार दिपक बोहोरासँग ६ महिनाअघि भएको अडियो सम्वाद सार्वजनिक गरेर पुनः विवादमा परेका छन् ।

बोहोरासँग भएको सम्वाद श्रेष्ठले बिना अनुमति रेकर्ड गरेर ६ महिनापछि सार्वजनिक गरेका छन् । अडियो सार्वजनिक नगर्न आग्रह गरे पनि श्रेष्ठले सार्वजनिक गरेको पत्रकार बोहोराले बताए । अडियोमा श्रेष्ठले रवि लामिछाने, बोहोरा र न्युज २४ प्रति धम्कीपूर्ण भाषाको प्रयोग गरेका छन् ।

स्वघोषित भए पनि प्रेस काउन्सिलको कार्यबाहक अध्यक्ष भएका श्रेष्ठले पत्रकार र मिडियाका विरुद्ध दिएको धम्कीपूर्ण भाषा स्वयम् आचारसंहिता विरुद्ध छ । तर, उनले आचारसंहिताको आड लिँदै रवि लामिछानेलाई पटक–पटक धम्की दिएका छन् । उनले केही ठाउँमा बोहोरालाई पनि धम्क्याएका छन् । उनले न्युज २४ टेलिभिजनको लाइसन्स खारेज गर्न सक्ने र प्रोग्राम बन्द गर्न सक्ने चेतावनी दिएका छन् ।

पत्रकार रवि लामिछानेले चलचित्रकर्मी निकिता पौडेलसँग विवाह गरेपछि श्रेष्ठले त्यसको खोजीनीति गर्न थाले । त्यसपछि अरुलाई सोध्नुभन्दा रविलाई वा हामीलाई नै सोधे भइहाल्यो नि भन्दै दिपकले फोन गरेका थिए । तर, श्रेष्ठले रविसँगको पुरानो प्रसङ्ग कोट्याउँदै उनले लगातार धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । फोन सम्वादमा बोहोरा निरीह र श्रेष्ठ डन जस्तो प्रतित हुन्छ ।

श्रेष्ठले ‘चाहेँ भने न्युज २४ को नवीकरण बन्द गराइदिन सक्ने’ मात्र भनेका छैनन् प्रधानमन्त्री केपी ओलीले धाप नमारेको भए देखाइदिन्थेँ भनेका छन् ।

श्रेष्ठले बोहोरासँगको अडियो सम्वादमा दिएको धम्कीको सारंश
३२ वर्ष भो मैले पत्रकारिता गरेको, म मान्छेको रौं–चिरा जान्दछु । मेरो प्रोडक्ट कहाँ–कहाँ छन् तपाईंलाई थाहा छ ? म कुन पोजिसनमा छु, त्यो तपाईलाई थाहा छ ? दुई चार वर्षअघि आएका (रवि लामिछाने)ले च्यालेन्ज गरेर अननेसेसरी हिरो हुन खोज्ने ? मसँग पनि पेपरको हतियार छ । अनभेरिफाइड स्टोरी गरेँ र गर्न खोजे भने नि ? तपाईंले के–के गर्नु भयो, के रोल खेल्नु भयो भन्ने सबै मसँग रेकर्ड छ । तर, म के कारणले खुम्चिएँ भने म प्रेस काउन्सिलमा छु ।

म नेपालको व्यूरोक्रेसी जान्दछु । तपाईंहरुले मेरो रातो पासपोर्ट खोसियो भनेर भन्नुभयो । खोसिएको हो, होइन मलाई सोध्नु भो ? रवि लामिछानेलाई भने जस्तै तपाईलाई पनि भन्छु, मैले चाहेँ भने मिनेटभरमै सिध्याउन सक्छु । तर, म त्यो काम गर्दिन, तपाईंहरु पनि मिडियामा हुनुहुन्छ ।

इशा प्रकरण र रवि लामिछाने प्रकरणमा तपाईंहरुले गरेको ए टु जेड थाहा छ । सबै रेकर्डेड छ । तपाईको न्युज २४ लाई के गर्ने ? कसो गर्ने ? मलाई थाहा छ । सञ्चार मन्त्रालयले गर्ने होइन, लाइसन्स रिनु गर्ने होइन ? सञ्चार मन्त्रालयलाई भनेर प्रोग्राम बन्द गराउन सकिन्छ सकिन्न ? लाइसन्स रिनु बन्द गराउन सकिन्छ सकिँदैन ? तपाईहरु अननेसेसरी पङ्गा नलिनुहोस । प्रोग्राम चलाउनुहोस्, गरिखानुहोस् । तपाईलाई मैले भने नि, केपी ओलीले हिजो धाप नमारेको भए..।

रवि लामिछाने नव आगन्तुक हो । तर, तपाईं (दिपक)ले आफ्नो फ्यूचर हेर्नुपर्छ । क्यारियर हेर्नु प¥यो, हावा हुण्डरीको पक्षमा लागेर हुँदैन । रवि लामिछाने जस्तो फटिचरलाई उकास्नु हुन्थ्यो ? को हो रवि लामिछाने ? उसले गरे जस्तो गर्ने हो भने चारवटा कानुन लगाएर समातिदिन्छु ।

रविलाई कहाँ कसरी ठेगान लगाउनु पर्छ म गर्छु । नेपालमा नयाँ कानुन आउँदैछ । उसका भविष्यका दिन गन्ती सुरु हुँदैछ । काउन्टडाउन सुरु हुँदैछ । किशोर श्रेष्ठ आजको भोली रिजल्ट खोज्ने मान्छे होइन । रवि लामिछानेको हिसाब किताब एक–एक गरेर यो धर्तीले गर्ला । मलेसिया र खाडीका खल्लीबल्ली लिएर त किशोर श्रेष्ठ हिँडेको छैन ।

रविले गरेको कामको जिम्मा तपाईंले लिनु पर्दैन ? तपाईं क्यारियर भएको मान्छे । तपाईको इतिहास, वर्तमान र फियूचर पनि थाहा छ मलाई । पानीको फोका नहुनुहोस्, बबल नहुनुहोस् । तपार्इंहरु राजा महाराजाभन्दा ठूलो हो ? तपाईहरुलाई बोलाउँदा हाजिर हुन्न भन्ने ?

त्यो प्रकरणको सबै मलाई थाहा छ । तर, जनआस्थामा आको छ ? कान्तिपुरका सम्पादक होइन, यो देशका भेट्रान भेट्रान जर्नालिष्ट जनआस्थाको स्कुलिङबाट प्रोड्युस् भएका मान्छेहरु हुन् । रवि लामिछानेको इतिहास आउन बाँकी छ । उसलाई सुनाइदिनु, उसका विगत वर्तमान र भविष्य आउन बाँकी छ । फुर्तिफार्ती नगरे हुन्छ ।

अडियो सम्वादको अर्थ
कार्यबाहक अध्यक्ष श्रेष्ठले पटक–पटक रातो पासपोर्ट खारेजको न्युज २४ टेलिभिजनमा झुठ्ठा समाचार आएको जिकिर गरेका छन् । त्यसबेला रातो पासपोर्ट खारेज भएको समाचार प्रधानमन्त्रीको सचिवालयबाट बाहिर आएको थियो ।

श्रेष्ठप्रति केही गम्भिर प्रश्न उठ्छन् । रवि लामिछानेप्रति उनी कति पूर्वाग्रही रहेछन् भन्ने यो अडियो सम्वादले प्रस्ट पार्छ । रविप्रतिको उनको कलुसित मानसिकता छर्लङ्ग हुन्छ । फोन गर्ने दिपक बोहोराले अडियो सार्वजनिक नगर्न आग्रह गर्दागर्दै सार्वजनिक गर्ने श्रेष्ठलाई साइबर अपराध कानुनले छुँदैन ? वा व्यक्तिको व्यक्तिगत गोपनियता पनि हुँदैन ? सम्वादमा उनले आचारसंहिताको पटक–पटक कुरा उठाएका छन् । तर, सम्वादको एउटा पक्षले अडियो सार्वजनिक नगर्न गरेको आग्रहलाई बेवास्ता गरेर आचारसंहिता पालन हुन्छ ?

श्रेष्ठले पटक–पटक पत्रकारिता गरेको ३२ वर्ष भयो भनेर फूर्ति लगाएका छन् । देशका भेट्रान भेट्रान पत्रकार उत्पादन गरेको फूर्ती लगाएका छन् । तर, आज उनीकहाँ काम गरेका कयौँ पत्रकार जनआस्थामा थिएँ भन्नलाई सर्माउने गरेका छन् ।

जनआस्थाको पत्रकारितामा टे«न्ड गज्जबकै छ । यौन, रक्सी, लोग्ने स्वास्नीका कथा धेरै समाचार बन्छन् । यस्ता विषयमा कथा बुन्न माहिर छन् यसका सम्पादक र उनका सहकर्मी । कयौँ लोग्ने स्वास्नीको घर बिग्रिएको छ ।

नायिका श्रीशा कार्कीको नग्न तस्वीर छापेर आत्महत्या गर्न जनआस्थाले नै बाध्य पारेको इतिहास छ । एक दर्जनभन्दा बढी मुद्दामा जनआस्था र त्यसका सम्पादक श्रेष्ठ अलादतबाट दोषी प्रमाणित भएका छन् । यस्तो अनुपम नमूना भएको पत्रिका सम्पादकले आचारसंहिता पढाउनु दुनियाँ हँसाउनु मात्र हो ।

अडियो र पुडासैनी भिडियो कनेक्सन
श्रेष्ठले पूर्वाग्रह पीडित भएर ६ महिना अघिको भिडियो सार्वजनिक गरे । उनी कति पूर्वाग्रही छन् भन्ने कुरा उनैले सार्वजनिक गरेको अडियोबाट प्रस्ट हुन्छ । शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको भिडियो पनि श्रेष्ठले सार्वजनिक गरेका हुन् । उनले परिवारले भिडियो दिएको भने पनि परिवारले अस्वीकार गरेको छ ।

अदालतले पुडासैनीको भिडियो खिच्ने समयमा दोस्रो व्यक्ति पनि हुनुपर्छ भनेको छ । प्रहरीले दिएको होइन, परिवारले दिएको होइन, पुडासैनीको भिडियो खिच्ने दोस्रो व्यक्ति को हो ? श्रेष्ठ वा उनले अराए खटाएका मान्छे त होइनन् ? शंका उब्जिएको छ । उनले यस विषयमा अहिलेसम्म धारणा सार्वजनिक गरेका छैनन् ।

शालिकराम पुडासैनीको भिडियो सार्वजनिक गर्नुको मूल उद्देश्य रवि लामिछानेलाई फसाउनु हो भन्ने श्रेष्ठले सार्वजनिक गरेको अडियोले पनि पुष्टि हुन्छ । श्रेष्ठ रविलाई सडाउन हात धोएर लागेका रहेछन् भन्ने उनकै भनाइले पुष्टि गर्दछ ।

प्रेस काउन्सिलमा बसेर एउटा पत्रकारप्रति पूर्वाग्रह राख्न पाइन्छ ? नियम कानुन अरुले मान्नु पर्ने काउन्सिलका कार्यबाहक अध्यक्षले मान्नु नपर्ने पनि हुन्छ ? किशोर श्रेष्ठ र उनका कारण नेपाली पत्रकारिता नराम्ररी बद्नाम भएको छ । यो बन्द गर्नु नै उनका लागि र नेपाली पत्रकारिताका लागि उत्तम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्