Logo

अभिनेत्री प्रियंका चोपडालाई युद्ध उक्साउन खोजेको आरोप



एजेन्सी । भारत पाकिस्तान तनाव चर्किँदै गर्दा भारतीय अभिनेत्री प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गर्दै एउटा ट्वीट लेखेपछि उनीविरुद्ध युद्ध उक्साउन खोजेको आरोप लागेको छ ।

लस एन्जलसमा चोपडा सहभागी एक सौन्दर्य सम्मेलनमा सहभागी एक पाकिस्तानी अमेरिकी महिलाले उनलाई आडम्बरीको सङ्ज्ञा दिइन् ।

गत सप्ताहान्तमा चोपडा ब्यूटिकन नामक संस्थाले आयोजना गरेको कार्यक्रमको मञ्चमा थिइन् । त्यतिबेला दर्शकदीर्घामा बसेकी पाकिस्तान(अमेरिकी महिला आयेशा मलिकले उनलाई प्रश्न गरिन् ।

“तपाईँले मानवताको बारेमा कुरा गरेको सुन्न अलि कठिन भयो किनभने तपाईँको छिमेकी पाकिस्तानीको रुपमा मलाई थाहा छ तपाईँ अलि आडम्बरी हुनुहुन्छ,“ आयेशा मलिकले भनिन् ।

उनले चोपडाले फेब्रुअरीमा लेखेको ट्वीटको प्रसङ्ग कोट्याउँदै भनिन् “तपाईँ (राष्ट्रसङ्घीय बालकोष) युनिसेफको शान्तिदूत पनि हुनुहुन्छ र पनि तपाईँ पाकिस्तानविरुद्ध परमाणुयुद्धलाई उक्साइरहनु भएको छ । यसमा कसैको जित हुँदैन ।

त्यसपछि सन् २०१६ देखि युनिसेफको सद्भावनादूत रहेकी चोपडाले मलिकलाई जबाफ दिइन् । उनले पाकिस्तानमा आफ्ना धेरै मित्रहरू रहेको बताउँदै आफू युद्धको पक्षमा नभएको बरु देशभक्त चाहिँ भएको बताइन् ।

चोपडाले भनिन्, “पाकिस्तानमा मेरा धेरैधेरै साथीहरू छन् । म भारतबाट आएकी हुँ, तर मलाई युद्ध मन पर्दैन । तर म देशभक्त छु । मैले कसैको भावनामा चोट पुर्याएकी रहेछु भने क्षमाप्रार्थी छु । तर मलाई लाग्छ हामी सबैले हिँड्ने एउटा बीचको बाटो हुन्छ । त्यो तपाईँको पनि छ होला । बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्