Logo

मिडिया काउन्सिल विधेयकमा सत्ता-प्रतिपक्षबीच सहमति



काठमाडौँ, २७ साउन ।  राष्ट्रियसभामा दर्ता भएको विवादित मिडिया काउन्सिल विधेयकमा सहमति जुटेको छ । नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसदमा टेबुल गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा आज भएको छलफलमा छिट्टै नै विधेयक सदनमा अगाडि बढाउन सबै पक्ष सहमत भएको र विवादित विषयलाई संशोधन गर्ने सहमति भएको कांग्रेस सांसद सरिता प्रसाईंले जानकारी दिइन् ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा अध्यक्षसहित, उपाध्यक्ष शशिकला दहाल, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, राष्ट्रियसभा दलका नेता दिनानाथ शर्मा, विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराई, विपक्षी दलका सचेतक सरिता प्रसाईं, समाजवादी पार्टीका नेता प्रमिला कुमारी, पत्रकार महासंघका प्रतिनिधिबीच छलफल भएको हो।

सत्ता पक्ष र विपक्ष दुवैले संशोधन हाल्ने र त्यहीबीच पत्रकार महासंघको माग अनुकूल विधेयक बनाउने अन्तिम सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्