Logo

म्यानचेस्टर सिटीको शानदार सुरुवात, आज तीन खेल हुने



एजेन्सी, २६ साउन । साविक विजेता म्यानचेस्टर सिटीले नयाँ सिजनको इंग्लिस प्रिमियर लिग फुटबलमा शानदार सुरुवात गरेको छ ।

पहिलो खेलमा वेस्ट ह्याम युनाइटेडलाई ५–० ले पराजित गर्दै सिटीले उपाधि रक्षाको अभियान थालेको हो । गएराती भएको खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लीङले ह्याट्रिक गरे । यसैगरी ग्याब्रीएल जिसस र सर्जियो अगुएरोले एक एक गोल थपे ।

गएराती नैं भएको अर्को खेलमा टोटनह्याम हट्सपरले एस्टन भिल्लालाई ३–१ ले हरायो ।टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई गोल गरेभने दोम्बेलेले एक गोल थपे । भिल्लाका जोन म्गाक्गीनले सुरुवाती गोल गरेका थिए ।

प्रिमियर लिग फुटबलका अन्य खेलहरुमा बर्न्लेले साउथह्याम्पटनलाई ३–० ले हराउँदा ब्राईटनले वाट्फोर्डलाई ३–० ले नैं पराजित गर्‍यो । यसैगरी एभर्टन र क्रिष्टल प्यालेसले गोलरहित बराबरी खेल्दा बर्नमाउथले शेफिल्ड युनाईटेडसँग १–१ गोलको बराबरीमा चित्त बुझायो ।

प्रिमियर लिग फुटबलमा आज तिन खेल हुनेछन् । आज आर्सनल र न्युकासल युनाईटेड तथा लेष्टर सिटी र वुल्भरह्याम्पटन भिड्दा चेल्सीले म्यान्चेस्टर युनाईटेडसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्