Logo
  चैत्र १६, २०८० शुक्रबार

सामुदायिक विद्यालयः जहाँ विद्यार्थीलाई तपाई भन्नु पर्छ !



झापा, ६ साउन । बिर्तामोड नगरपालिका वडा नंम्बर ९ को लक्ष्मी प्राथमिक विद्यालयका विद्यार्थीलाई शिक्षक र शिक्षिकाले तँ, तिमी होइन, तपाईँ भनेर सम्बोधन गर्नु पर्छ । सरकारी विद्यालयमा विद्यार्थीलाई तपाई भन्नु पर्ने सम्भवतः नेपालकै पहिलो विद्यालय हुनु पर्दछ । विद्यार्थी घटेर नगरपालिकाले अन्य स्कुलमा मर्ज गर्ने लागेको विद्यालयमा अहिले एकाएक परिवर्तन आएको छ ।

विद्यार्थी कुट्ने पिट्ने त परै जाओस आँखा तर्न पनि पाईदैन । शिक्षक शिक्षिकले सँधै हँसिलो हुनु पर्दछ । ६ महिना भित्र विद्यालयमा यत्रो परिवर्तनको मूल श्रेय भने विद्यालय सूधारका अभियन्ता अर्जुन भट्टलाई जान्छ । चितवन घर भएका भट्ट बाल शिक्षकलाई तालिम दिन झापा आउनु नै विद्यालयको कायापलट गर्न सम्योग मिलेको हो ।

कक्षा ५ सम्म पढाई हुने यस विद्यालयमा शैक्षिक सत्र २०७४-०७५ मा ३६ जना विद्यार्थी र ६ जना शिक्षक थिए । शैक्षिक सत्र २०७५÷०७६ मा आइपुग्दा विद्यार्थी थपिने त होइन, घटेर विद्यालय बन्द हुने अवस्थामा पुगेको थियो । विद्यार्थी घटेपछि नगरपालिकाले विद्यालय मर्ज गर्ने अर्थात एक प्रकारले बन्द गर्ने र त्यहाँका शिक्षक र विद्यार्थी नजिकैको सामुदायिक विद्यालयमा समायोजन गर्ने निर्णय गर्यो ।

तर, बाल शिक्षा सूधारका लागि शिक्षक तालिममा प्रशिक्षक भएर बिर्तामोड आएका अर्जुन भट्टको कुरा सुनेपछि बिर्तामोड नगरपालिका शिक्षा शाखाका अधिकृत देवराज कार्की प्रभावित भए । कार्कीकै पहलमा नगरपालिकासँग थप छलफल गराए । भट्ट र नगरपालिका बीचको सम्झौतामा सामुदायिक विद्यालय सूधारको योजना बनेको हो ।

बिर्तामोड नगरपालिकाले नगर भित्रका १८ वटै सामुदायिक विद्यालय सूधारको प्रस्ताव राख्यो । नमूना विद्यालयका अभियन्ता भट्टले सबै भन्दा काम नलाग्ने विद्यालय जिम्मा दिन आग्रह गरे । र, त्यसका लागि छनोट भयो बन्द हुन लागेको शहिद लक्ष्मी प्रावि । वडा समिति, विद्यालय व्यवस्थापन परिवार, शिक्षक, शिक्षिका, अभिभावक जिद्यालयलाई नमूना बनाउन लागे । जुन परिणाम अहिले देखिन थालेको छ ।

अभियन्ता भट्ट अभिभावकलाई कक्षा लिँदै

विद्यालय सूधार अभियानमा बिगत दश वर्षदेखि सक्रिय भट्टको योजना अनुसार विद्यालय सूधारको योजना अनुसार विद्यायका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी, अभिवावकलाई प्रशिक्षित गरे । त्यस पछि घर घरमा गएर विद्यार्थी बोलाउन थाले । विद्यालय सूधार गर्न स्थानीय युवाहरु पनि कसिएर लागे । एकै महिनामा परिणाम देखियो ।

विद्यार्थी थपिन थालेपछि नगरपालिका, वडा कार्यालय र स्थानीयको सक्रियतामा विद्यालयमा पर्खाल लाग्यो, नयाँ भवन बन्दै छ, पुरानो भवनको मर्मत तथा रंगरोगन, शौचालय निर्माण तथा सूधार, विद्यालयका कक्षा कोठामा सीसी क्यामेरा, नर्सरी कक्षामा टेलिभिजन, अन्य कक्षामा प्रोजेक्टरबाट पढाई लगायतका भौतिक पूर्वाधार थपिए ।

विद्यार्थीलाई कपी, किताब र ड्रेस निशुल्क उपलब्ध गराइयो । त्यति मात्र होइन, विद्यार्थीका लागि दिवा खाजा पनि प्रवन्ध भयो । यति भएपछि अविभावक आफै कस्सिए र विद्यार्थीका लागि यातायातको प्रवन्ध गर्न लागे । विद्यार्थी भ्यानबाट स्कुल आउँछन् । अभिभावकले एक विद्यार्थीको ४ सय रुपैयाँ व्यहोर्नु पर्ने नियम छ, तर अहिलेसम्म जम्मा २६ हजार मात्र उठेको छ, वडा अध्यक्ष पवित्रा पाठकले बताइन् । उनले गाडीको हरेक महिना ४५ हजार भुक्तानी गर्नु पर्ने बताइन् । उनले भनिन्, तीन महिनाको भुक्तानी भयो तर यातायात शुल्क उठ्न नसकेको बताइन् ।

विद्यालय सूधार अभियान अन्तर्गत नमूना विद्यालय बन्दै गरेको शहिद लक्ष्मी प्राविमा पढाउने होइन, सिकाउने गरिएको अभियन्ता अर्जुन भट्टले बताए । उनले विद्यालय व्यवस्थापनदेखि पठनपाठनको परम्परागत तरिका भन्दा भिन्न तरिकाबाट विद्यालय संचालन भएको बताए । भट्टको कुरा सुन्दा अहिलेका विद्यालयमा पढाने तरिकासँग फेदटुप्पै मेल खाँदैन ।

कक्षामा सहभागि विद्यार्थी

शहिद लक्ष्मी प्रावि कसरी नमूना विद्यालय बन्दैछ भन्ने प्रश्नको यसरी उत्तर दिएः हामी विद्यार्थीलाई कुनै कुरामा जवरजस्ती गर्दैनौं, कक्षमा विद्यार्थीलाई अल्छी लाग्यो भने विद्यार्थी बाहिर जान सक्छन् । तर, कम्पाउण्ड बाहिर जान पाउँदैनन् । पढ्न मन लागे पढ्ने, मन नलागे नपढ्ने, विद्यार्थीलाई पढ्दा पढ्दै खेल्न मन लाग्यो भने खेल्न पाउँछन् । कुनै कुरामा जवरजस्ती छैन । कक्षा बाहिर जान सोध्नु पनि पर्दैन, जे गर्छन, उत्प्रेरित भएर गर्ने बनाउने हो । विद्यार्थी तर्साउने, पिट्ने, हप्काउने यहाँ कुरै हुँदैन, आँखा तरेर पनि हेर्न पाईँदैन ।

शिक्षकले विद्यार्थीलाई तपाई भन्नु पर्छ, कतिपय शिक्षक शिक्षिकामा यो बानी लगाउन गाह्रो भएको छ, तरपनि बिस्तारै बानीको बिकास हुँदैछ । विद्यार्थीलाई विद्यालय आउँ आउँ लाग्ने बनाउने हो, विद्यालयबाट कतिखेर भागौँ बनाउने होइन ।

विद्यार्थी फोहोरी भएर आए भने गाली गर्न पाईँदैन, शिक्षक शिक्षिकाले सफा गर्दिनु पर्छ । नङ लामो छ भने काटी दिनु पर्छ । सरसफाई योजनाको पहिलो दिनको घट्ना भट्टले यसरी सुनाएः विदालयका कतिपय विद्यार्थीमा सरसफाईको समस्या थियो । त्यस्ता विद्यार्थीलाई लाइन लागएर साबुन पानीले हात खुट्टा धोइदिने कार्यक्रम राखियो । त्यो काम शिक्षक र शिक्षिकालाई लगाइयो । उहाँहरुले अफ्ठेरो मान्नु भयो, म आफँले अघि सरेर विद्यार्थीका हात खुट्टामा साबुन लगाएर धोइदिएँ, नङ काटिदिए, त्यसपछि शिक्षक र शिक्षिकाले पनि गर्नु भयो । यो अहिले सहज भएको छ ।

बाल कक्षामा सहभागि विद्यार्थी

विद्यार्थी पनि त्यो देखेर अचम्मित भए । फोहरी भन्दै कुटाई खाने साना नानीहरु अचम्मित भएका थिए । बिस्तारै उनीहरु पनि बानी परे । आफैँ सफा भएर आउन थाले, विद्यार्थीमा सफा बस्नु पर्छ भन्ने चेतना भयो । यसले विद्यार्थीमा सफा सुग्घर हुनु पर्छ भन्ने मात्र होइन, प्रयोगात्मक भएकाले छिट्टै प्रभावकारी भयो ।

विद्यार्थीलाई कपाल काट्न मन लाग्छ कि पाल्न, त्यो उसको सोखको कुरा हो । जुल्फी पालेर आए पनि, कपालमा राँटा राखेर आएपनि केही फरक पर्दन । उसको अरु आनिवानी र शैली ठिक छ भने त्यसले केही फरक पर्दन । मूल कुरा विद्यार्थी सृजनात्मक हुन पर्दछ ।

शिकाई आफैँ एउटा प्रक्रिया हो । शिक्षा अरुबाट दिने साधन होइन, आफैँबाट प्राप्त गर्ने कुरा हो । विद्यार्थी फेल भयो भने विद्यार्थी र अभिभावकको होइन, शिक्षक र विद्यालयको चिन्ता हुनु पर्छ । विद्यार्थी होइन, शिक्षक फेल भएको ठानियो भने परीक्षाको सोँचमा परिवर्तन आउँछ ।

भट्टले विद्यालयमा लागू गर्न बाँकी केही नयाँ योजनाका सम्बन्धमा सुनाए, अब स्कुलमै विद्यार्थीको एक जोर ड्रेस राख्छौ, सुविदा सम्पन्न वाथरुप हुन्छ । विद्यार्थीलाई गर्मी भयो वा फोहर भयो भने नुहाउन सक्छन् । मैला भएको ड्रेस वासिङ मेशिनमा धुने काम स्कुलमै गर्छौ । उनले भने, नमूना विद्यालयको योजना अनुसार अहिलेसम्म २५ प्रतिशत प्रगति भएको बताए । विद्यालय पूरै नमूना बनाउन समय लाग्ने बताए । शिक्षक, शिक्षिका, अभिभावक, व्यवस्थापनमा संलग्न भएका हामी जति छौँ, हाम्रो पुरानो सोँच पुरै नबदएिसम्म विद्यालय नमूना बन्न नसक्ने बताए ।

बिर्तामोड नगरपालिका र अभियन्ता भट्ट बीच दुई वर्षमा कम्तिमा दुई सय विद्यार्थी पूर्यायनु पर्ने सम्झौता भएको छ । भट्टले सूधारको योजना कार्यान्वयन थालेको तीन महिना भित्र नै १ सय ७६ विद्यार्थी भएका छन् । शैक्षिक शत्र सुरु भएको तीन महिना भएपनि विद्यार्थी भर्ना हुने क्रम जारी भएको प्रधानाध्यापक बीरेन्द्र बुढाथोकीले बताए ।

बिक्रम सम्बत् २०५१ सामा स्थापना भएको यस विद्यालयमा दुई स्थाइ, ८ जना करार र स्वयम् सेवी शिक्षक शिक्षिका छन् । शहिद लक्ष्मी प्राविका आसपासमा तीन वटा अंग्रेजी विद्यालय छन् । अहिले बोर्डिङ स्कूल छुटाएर अभिभावकले भटाभट विद्यार्थी भर्ना गर्न थालेका छन् । स्थानीय देवेन्द्र श्रेष्ठले कञ्चनजंघा बोर्डिङ स्कूलबाट निकालेर छोरालाई भर्ना गरे । घर छेउको स्कूलमा छोरा भर्ना गर्न पाएकोमा उनी खुसी छन् । श्रेष्ठ मात्र होइन, अन्य अभिभावक पनि विद्यालय नमूना भएकोमा खुसी छन् । कतिपय अभिभावक भन्दै थिए । विद्यार्थी स्कुल नआउन होइन, आउन हतारिन्छन् । विदा नभए हुन्थ्यो जस्तो गर्छन् ।

शहिद लक्ष्मी प्राविमा सूधार भएर बोर्डिङबाट धमाधम विद्यार्थी आउन थालेपछि नजिकैका निजी स्कूलले हाम्रा विद्यार्थी लगेको भन्दै आक्रोस पोख्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद चम्लागाईले बताए । उनले स्थानीय एक निजी स्कुलबाट मात्र ६६ जना विद्यार्थी आएको बताए ।

शहिद लक्ष्मी प्राविसँगै अभियन्ता भट्टले बिर्तामोडकै लक्ष्मी आधारभूत विद्यालय, अर्जुनधारको समाजसेवी प्रावि र दमकको जनता प्राविलाई नमूना विद्यालय बनाउन सम्झौता गरेका छन् । ती विद्यालयमा निर्माणका केही काम भइरहेकाले नमूना विद्यालय कार्यान्वयन हुन बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्