Logo
  चैत्र ६, २०८० मंगलबार

खाम पत्रकारिता र आचारसंहिता



नेपाल पत्रकार महासंघ झापा शाखाले २०७५ साल मंसिर १० गते आचारसंहिता कार्यान्वयन गर्ने उद्देश्यले पत्रकार सम्मेलन वा समाचार प्रयोजनका लागि बोलाइएका कार्यक्रममा यातायात खर्चका नाममा दिइने कुनै पनि नगद वा उपहार नलिन झापाका पत्रकारलाई आह्वान गरेको थियो ।

महासंघले यस्तो उपहार वा नगद नदिन नागरिक समाज, संघ संस्था, उद्योग, प्रतिष्ठान लगायतलाई अपिल गर्यो । महासंघ झापाको निर्णयपछि पत्रकारले यातायात खर्च लिन हुन्छ कि हुँदैन ? यो बहसको विषय बन्यो ।

पत्रकारले पत्रकार सम्मेलन वा कार्यक्रममा गएर लिने नगदलाई पत्रकार वृतमा ‘खाम’ भन्ने गरिन्छ । खामको प्रबन्ध छ, छैन ? खाम कतिको रहेछ ? भनेर त्यसलाई संकेत गरिन्छ । खामको चर्चा गर्नु भन्दा अघि यसको प्रारम्भ हुनुको पछाडिको कारण खोतल्नु सान्दर्भिक हुन्छ । लगभग १५ वर्षअघि पत्रकार सम्मेलन गर्दा पत्रकारलाई ‘सोमरस’ प्रबन्ध गर्ने चलन थियो ।

राजनीतिक बाहेकका अधिकांश पत्रकार सम्मेलन साँझमा हुने गर्दथे । कतिपयले बिहान वा दिवामा पनि गर्थे । सामान्यतया त्यसबेला पत्रकार सम्मेलन कमै हुन्थ्यो । पत्रकारको संख्या पनि कमै थियो । त्यसबेलामा पत्रकार सम्मेलन वा त्यसपछि आयोजित जलपानमा सोमरस कति खाने भन्ने कुराको कुनै मापन हुँदैन थियो । टन्नै खाने भन्ने नै हुन्थ्यो । सोमरस नखाने र थोरै खानेको संख्या पनि थोरै नै थियो । यसले नराम्रो विकृति सृजना गर्यो ।

रक्सी खाएर आफ्नै साथीहरुबीच झगडा गर्ने, रक्सी खाएको कुरा समाचारको विषय बन्न थालेपछि महासंघले पत्रकार सम्मेलनका लागि सल्लाह गर्न आउनेलाई मादक पदार्थ नराख्न अर्थात् सोमरसको व्यवस्था नगर्न सल्लाह दिएको थियो । आयोजकले नमान्ने अवस्थामा त्यसको सट्टा यातायात खर्च दिन सुझाव दिइएको थियो ।

त्यसबेला महासंघले मादक पदार्थलाई निरुत्साहित गर्न त्यो कदम चालेको थियो । त्यसबेला त्यो प्रगतिशील थियो । समयक्रमसँगै खाम पत्रकारिता भ्रष्टीकरण भयो । यसले पत्रकारिताका मूल्य, मान्यता र आदर्शलाई ओझेलमा मात्र पारेन, बदनाम र दुर्नाम बनायो । आचारसंहिताका जति नै तालिम दिए पनि अर्थहीन हुन थाल्यो । पत्रकारिता पेसा नै धरापमा परेपछि महासंघ झापाले यातायात खर्च नलिन र नदिन आह्वान गरेको हो ।

कस्तो थियो समस्या ?
पूर्वको व्यापारिक केन्द्र हो बिर्तामोड । यहाँ राजनीतिक दल, संघ संस्था, व्यापारिक प्रतिष्ठान, उद्योग, व्यापार अनेकका कार्यालय छन् । सबैको केन्द्र विन्दु भएकाले पत्रकारितासँग सम्बन्धित गतिविधि बढी हुनु स्वभाविक हो ।

बिर्तामोडमा दैनिक पत्रकार सम्मेलन वा समाचार प्रयोजनका कार्यक्रम हुनु स्वभाविक मान्न सकिन्छ । एकै दिनमा एक दर्जनसम्म पत्रकार सम्मेलन हुने । र, अधिकांश कार्यक्रममा यातायात खर्चका नाममा खाम वितरण हुन्थ्यो । बिर्तामोडमा खाम पत्रकारिता सबैभन्दा बढी फस्टाएको थियो ।

त्यसपछि भद्रपुर, काँकरभिट्टा, दमक प्रभावित थिए । सुरुङ्गा, धुलाबारी, चारआली जस्ता ससाना बजार, चोक मात्र होइन, गाउँ ठाउँमा पत्रकार सम्मेलन हुन थाल्यो । त्यस्ता ठाउँ जहाँ एक दुईभन्दा बढी पत्रकार छैनन्, त्यहाँ हुने पत्रकार सम्मेलनमा पनि हुलका हुल पत्रकार उपस्थित हुने प्रवृति देखियो । यसको एक मात्र कारण थियो खाम ।

बिर्तामोडमा एकै दिनमा नौ–नौ वटा पत्रकार सम्मेलन र कार्यक्रम भए । ती सबैमा पत्रकारलाई नगद पाउने अवस्था थियो । साथीहरु यस महिनामा मेरो यति कलेक्सन भयो भनेर खुल्लम खुल्ला भन्ने, कतिपय साथीहरुको पत्रकार सम्मेलनमा जाने र खाम संकलन गर्ने विषय पेसा जस्तै बन्यो ।

पत्रकारका आआफ्ना समूह बन्ने, कसैले मिडिया वा पत्रकारसँग कुनै गुनासो लिएर आए भने पत्रकार सम्मेलन गर्न लगाउने, त्यसमा आफ्नै समूहका साथीहरुलाई सहभागी गराउने अवस्था देखियो । पत्रकार सम्मेलनमा पनि एक प्रकारको सिन्डिकेट देखियो ।

सामान्य नागरिकका लागि पत्रकार महँगा हुन थाले । आवाजबिहीनहरुका आवाज भन्ने विषय एकादेशको कथा जस्तै हुन थाल्यो । हुँदाहुँदा मिर्गौलासम्बन्धी बिरामीका लागि आर्थिक संकलन गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमासमेत खाम बुझिन थालेपछि ‘खाम पत्रकारिता’ले सीमा नाघेको हो ।

क्याम्पसमा भर्ना खुलेका विषय, बोर्डिङ स्कूलमा भर्ना खुलेको विषय, होटल उद्घाटनलाई लौ आर्थिक समाचार मानौँ, तर होटल उद्घाटनको मिति घोषणामा पनि पत्रकार सम्मेलन ! कुनै निजी अस्पतालमा नयाँ डाक्टर आए, बिरामीको उपचार गरे, उद्योगको स्थापना, डिलरको उद्घाटन जस्ता सोझै विज्ञापनका विषय पनि खामका कारण पत्रकार सम्मेलनमार्फत समाचार बनाउन थालियो ।

पत्रकार आचारसंहिता उल्लङ्घनले हद नाघेपछि महासंघ झापा शाखामा यसको समीक्षा भयो । धेरैले पैसा बिना पत्रकारले समाचार लेख्दैनन्, पत्रकारलाई सम्मेलनमा पत्रकारज्यू भन्नेले ढोकाबाट बाहिर निस्कने बित्तिकै गालीका अनेक सूचक प्रयोग गर्ने, पैसा दिएपछि जेलाई पनि पत्रकारले समाचार बनाउँछन्, बरा विचरा पत्रकारसँग मोटरसाइकलमा हाल्ने तेल हुँदैन, खाजा चिया खाने पैसा हुँदैन, पत्रकारले तलब पाउँदैनन्, उनीहरुलाई दुःख छ भन्ने अभिव्यक्ति सुन्नु पर्ने अवस्था आएपछि पत्रकार महासंघ झापा शाखाले यी सबै परिस्थितिको समीक्षा गरेको हो ।

महासंघले पत्रकार सम्मेलन वा समाचार प्रयोजनका लागि आयोजना गरिएका कार्यक्रममा नगद वा उपहार नबुझ्न पत्रकारलाई र नदिन नागरिक समाज, संघ संस्था लगायतलाई आह्वान गरेको हो ।

झापामा अहिलेको अवस्था
महासंघको यो निर्णयले दैनिक हुने दर्जनौँ पत्रकार सम्मेलन र विज्ञापनमूलक कार्यक्रममा कमी आएको छ । एक दिनमा हुने पत्रकार सम्मेलनको संख्या आजभोलि लगभग एक महिनामा पुग्ला । महासंघको निर्णयपछि पत्रकार स्वयम् अघोषित आयोजक बनेर गर्ने पत्रकार सम्मेलन निकै कम मात्र हुने गरेका छन् ।

आम्दानीको राम्रो स्रोत भएका केही निजी अस्पताल, सहकारी, संघ संस्था, नागरिक समाजले हाम्रो आग्रहलाई स्वीकार गरी पत्रकार सम्मेलनमा नगद वितरण गर्ने कार्य रोकेका छन् । महासंघको निर्णयका बारेमा सूचना सम्प्रेषण वा हाम्रै साथीहरुले महासंघको निर्णयले केही फरक पर्दैन, दिँदा हुन्छ, निर्णय आफ्नो ठाउँमा छ भनेर बाध्य नबनाउने हो भने खाम लिने विषय सतप्रतिशत बन्द हुन्छ । तर, अझै पनि यो प्रवृति नरोकिनुमा केही कारणहरु छन् ।

महासंघको आह्वान दण्डात्मक हुने कुरा होइन, आचारसंहिता पालना गरौँ भन्ने हो । मंसिर १० गते भन्दा अघि महासंघको नेतृत्वमा हुनेले यस्तो यातायात खर्च लिँदैनथे भन्ने प्रश्न उठ्न सक्छ । लिन्थे, हाम्रो पेसा, व्यवसाय बिग्रियो, यस्ता सानातिना कुराले बदनाम र अपमानित भयो भन्ने समीक्षा गरेरै नलिने भनिएको हो ।

कतिपय साथीहरुबाट महासंघले चन्दा लिन मिल्ने हामीले नगद लिन किन नहुने ? भन्ने प्रश्न उठ्ने गरेका छन् । महासंघले चन्दा लिन बन्द गर्नु पर्यो र श्रमजीवी ऐन कार्यान्वयन भयो भने खाम नलिने भनेर तर्क उठ्ने गरेको छ । महासंघले पत्रकारको क्षमता बृद्धिका लागि स्थानीय सरकार र संघ संस्थासँग सहयोग लिइएको छ । त्यो पनि सम्भव भएसम्म नलिने नीति लिइएको छ ।

उपचार कोषका लागि स्वेच्छिक चन्दा लिइएको हो । हो, यो पनि लिन नपर्ने अवस्था आएको भए राम्रो हुन्थ्यो । सहयोग लिए बापत कसैको समाचार नलेख्नु भन्ने उर्दी जारी भएको छैन । श्रमजीवी ऐन कार्यान्वयनको कुरामा महासंघ पछि हट्ने कुरै आउँदैन ।

पत्रकार सम्मेलनमा यातायात खर्च बुझ्ने कुरा झापाको मात्र समस्या नहुन सक्छ । यो पत्रकारितामा देखिएको क्यान्सर जस्तै रोग हो । अन्य जिल्लाका पत्रकारले लिइराखेका छन् हामीले पनि लिन पाउनु पर्छ भन्ने कुरा तर्क संगत होइन । उसो भा झापामा सबै खामका पछाडि मात्र कुद्ने पत्रकार छन् त ? त्यो पनि होइन, खोज मूलक समाचार लेख्न सक्ने एक से एक पत्रकार पनि छन्, सम्पादनको राम्रो क्षमता भएका साथीहरु पनि छन् ।

व्यापारिक कार्यक्रममा कहिल्यै नजाने साथीहरु पनि छन् । खाम नलिने वा यो आचारसंहिता विपरीत हो भन्ने प्रस्ट बुझाइ भएका पत्रकार पनि छन् । हिजो कसैले नलिउँ भनेको थिएन र सबैले लियौँ । तर, त्यो विस्तारै घातक बन्यो । त्यही भएर नलिउँ भनेको हो । बाटो बिरायौँ, अब सच्चियौँ भन्ने हो, महासंघको निर्णय र आह्वान ।

निर्णय सार्वजनिक भएपछि नागरिक समाज, संघसंस्था, पत्रकार संघ, संगठनका नेता, महासंघका पुराना वा नयाँ सदस्यका फरक–फरक धारणा र टिप्पणी आए । जसको जे टिप्पणी आए पनि यातायात खर्चका नाममा दिइने खाम लिने वा नलिने भन्ने मै बहस केन्द्रित भयो ।

महासंघले निर्णय गरेको लगभग ८ महिना भयो, यस अवधिमा अनेक प्रवृत्ति देखिएको छ । नियन्त्रित र शिथिल हुँदै गएको खाम पत्रकारिता पछिल्ला दिनमा पुनः मौलाउन थालेको छ । यी सबै घटनाक्रमको समीक्षा गर्ने उद्देश्य हो । महासंघले यातायात खर्च नलिन सार्वजनिक आह्वान गरेर हाम्रो बेइज्जत भयो भनेर महासंघ र नेतृत्वको आलोचना भयो ।

यो आलेखपछि पनि पुनः कतिपय साथीहरुले आलोचना प्रारम्भ गर्नु हुने छ । साथीहरुलाई महासंघको निर्णयको पुनः स्मरण गराउनु मात्र यसको उद्देश्य हो । पत्रकारिता राम्रो बनाउन स्वस्थ बहस गर्ने उद्देश्यले यो समीक्षा गरिएको हो । महासंघको आह्वानपछि यातायात खर्चका सम्बन्धमा केही प्रवृत्ति देखिए । देखिएका केही प्रवृतिका सम्बन्धमा यहाँ बुँदागत रुपमा समीक्षा गर्ने प्रयास भएको छ ।

प्रवृत्ति नम्बर १. महासंघको निर्णयमा हस्ताक्षर गर्ने कार्य समितिका केही सदस्य निर्णय कार्यान्वयन गर्ने कुरामा सक्रिय देखिएनन् । उनीहरुको निर्णय कार्यान्वयनमा खुट्टो धर्मराएको छ । साथीहरु निर्णय हुँदै गर्छ, दिएको कुरा किन छाड्नु भनेर यातायात खर्चको नाममा दिइने खाम लिइरहेका छन् । बैठकमा कुरो उठाउँदा ती साथीहरुले आयोजकले जबरजस्ती दिएकोसम्म भन्न पछि परेनन् ।

प्रवृति नम्बर २. कार्य समिति बाहिर वा भित्रका केही साथीहरुले महासंघको निर्णयले झापाको पत्रकारिताको बद्नाम गर्यो भन्ने आरोप लगाए । कुरो नबुझ्ने साथीहरुलाई आचारसंहिताले कहाँ रोकेको छ भनेर पढेर सुनाइयो, आचारसंहिता देखाइयो, कयौं साथीहरु महासंघको निर्णयबाट विस्तारै कन्भिन्स भए । तर, पत्रकारितामा लामो समयदेखि अभ्यासरत, पत्रकारिताका प्रशिक्षक कतिपय साथीहरुमा पनि बुझाइमा समस्या देखियो ।

प्रवृति नम्बर ३. महासंघको खाम नलिने निर्णय ठिकै हो, राम्रो हो, हाम्रो पत्रकारिता खत्तम भयो भन्ने अनि कार्यक्रम वा पत्रकार सम्मेलनमा गएर खाम बुझ्ने, महासंघले खाम नलिनु भनेको छ, खाम टेबलमा राखेर नगद खल्तीमा हालेको भन्दै व्यङ्ग्यात्मक स्टाटस लेखेर उडाउने मित्रहरुलाई सम्झाउने आचारसंहितामा कुनै ओखती रहेनछ ।

प्रवृति नम्बर ४. महासंघले यातायात खर्च नलिन गरेको आह्वानको पक्षमा लेख लेख्ने, स्टाटस लेख्ने केही साथीहरु अरु नै कुनै प्रसङ्ग वा विषयमा महासंघ नेतृत्वसँग असहमत हुँदा पुनः यातायात खर्च लिन थाल्नु उदेकलाग्दो छ ।

प्रवृति नम्बर ५. महासंघको नेतृत्वप्रति सधँै आलोचक, पूर्वाग्रही र नकारात्मक सोच भएका साथीहरुले पनि महासंघको निर्णयको अवज्ञा गर्ने प्रवृति देखिएको छ ।

प्रवृति नम्बर ६. कार्य समितिमा खाम नलिने भनी हस्ताक्षर गर्ने तर बाहिर अरु नै विषयको उठान गरी महासंघको नेतृत्वप्रति असहमत भए जस्तो गर्ने । तर, खामको पीडा झल्काउने प्रवृति देखिएको छ ।

खाम प्रकरणका केही दृष्टान्त
दुई महिनाअघि बिर्तामोडका एक निजी विद्यालय सञ्चालकले लगाएको कोठेवारीमा फलेका लिच्ची बिक्री गर्नुपर्ने भयो । उनले पत्रकार सम्मेलन गरे । त्यहाँ पत्रकारका लागि एक एक हजार खामबन्दी प्रवन्ध गरियो । हामीले त्यसलाई लिच्ची महोत्सव भनेर व्यापक प्रचारप्रसार गर्यौँ । कोठेबारीमा फलेको लिच्ची बिक्री गर्ने उनको मक्सद थिएन । उनलाई प्रचार चाहिएको थियो । त्यो एक हजारले पूरा गरे ।

भद्रपुर नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई भेटेरै महासंघको निर्णयको विषयमा जानकारी गराइएको थियो । नगरका सार्वजनिक कार्यक्रममा पनि नगद नदिन अपिल गरिएको थियो । तर पनि नगरपालिकाले खाम बाँड्न छाडेको छैन । कार्यक्रम कहिले हुन्छ वा कति पत्रकार जान्छन् धेरैलाई थाहा हुँदैन । तर, दुई हप्ता, तीन हप्तापछि पनि कार्यक्रममा नगएका पत्रकारलाई पनि खाम बाँडिन्छ । नगरपालिकाको आलोचना गरेर समाचार लेख्नेलाई खाम प्रदान हुँदैन ।

भद्रपुर नगरपालिका भित्रबाटै प्रसार हुने रेडियोको कार्यक्रममा बजेट कटौटी हुन्छ । नगरभित्रबाट प्रकाशित साप्ताहिक पत्रिकामा छापिएको एक हजारको बिल भुक्तानी गर्न आदेश नभएको र बजेट नभएको भन्दै फर्काइन्छ । पत्रिकाको एक हजारको बिल भुक्तानी नगर्ने तर पत्रकारलाई खाम बाँड्न बुनै बजेट नचाहिने । जनप्रतिनिधि र कर्मचारीको यस्तो कार्यशैलीलाई के भन्ने ? भद्रपुर नगरपालिकामा पत्रकारलाई प्रेस सल्लाहकार नियुक्ति गरिएको छ । तर, पनि महासंघले गरेको आह्वानको निरन्तर उलंघन भएको छ ।

दुई हप्ताअघि बिर्तामोडका एक कलेजले ११ मा कानुन विषय पढाउने भएछ । कलेजले पत्रकार सम्मेलन गर्यो, त्यहाँ पाँच–पाँच सय खाममा राखेर बाँडियो । आयोजकले बाँडेको पनि होइन, पत्रकार आफैँ ढोकामा बसेर खाम बाँडने, नलिने साथीहरुको खल्तीमा जबरजस्ती हाल्ने र हाल्न खोज्ने काम भयो ।

पत्रकार सम्मेलन नभएको भए कलेजले लाखौँ खर्च गरेर विज्ञापन गर्नु पथ्र्यो । तर, कलेजले पाँच सयमा विज्ञापनलाई समाचार बनायो । हाम्रा साथीहरु पाँच सयमा मख्ख, कलेज लाखौँ जोगिएकोमा मख्ख ! पत्रकार सम्मेलनमा जाने अधिकांश पत्रकार मिडिया सञ्चालक समेत छन् । तर पनि कुरो बुझाउन सकिएको छैन ।

साउन २ गते कचनकवल गाउँपािलकामा नीति कार्यक्रम घोषणा भयो । बिर्तामोडदेखिका पत्रकार साथीहरु पुगे । प्रति पत्रकार पाँच–पाँच हजारको बोलकबोल रहेछ । तर, कार्यक्रम सकिएपछि दुई हजारका दरले मात्र दिएछन् कर्मचारीले । दुई हजार दिने कि पाँच हजार दिने गलफत्ती भएछ । जनप्रतिनिधि पाँच भन्ने कर्मचारी दुई हजार मात्र भन्ने गलफत्ती फेसबुकबाट सार्वजनिक भयो । कचलकबलमा महासंघ कार्यसमितिका साथी अघोषित प्रेस सल्लाहकार छन् ।

यी केही दृष्टान्त मात्र हुन् । हाम्रा साथीहरु आफैँ खाम पत्रकारिताबाट मुक्त हुन सकेका छैनन् । यसबाट मुक्त नहुँदा सबैभन्दा बढी आफैँ मिडिया सञ्चालन गरेर स्वरोजगार बन्ने पत्रकारलाई घाटा छ । विज्ञापन वा सञ्चारमैत्री नीति बनाउन लगाउने कार्यमा हाम्रो ध्यान जान सकेको छैन । जुन कुराले स्थानीय मिडियाको स्थायित्व हुन्छ त्यसमा हाम्रो भूमिका शून्य जस्तै छ ।

सूधारका केही निर्णय
आचारसंहिता कार्यान्वयनमा पत्रकार महासंघ झापाले यातायात खर्च बाहेक अन्य विषयमा पनि निर्णय गरेको छ । खाम जस्तो ति निर्णय चर्चामा आएनन् । तर, निर्णय प्रभावकारी देखिएको छ । नगदसँग जाडिएकाले खामले बढी चर्चा पाएको हो । महासंघ झापाको अघिल्लो कार्य समितिको पहिलो बैठकले पाँच वर्ष अघि धुर्मपान र मध्यमानमा महासंघले खर्च नगर्ने निर्णय गर्यो । यसको उद्देश्य मादक पदार्थ सेवन गर्ने कुरालाई निरुत्साहित गर्ने थियो ।

हाम्रा अधिकांश अतिथि सोमरसको प्रवन्ध गर्नु पर्ने प्रथा जस्तै बनेको थियो । सोमरससँग हुने सितनको खर्च हिसाव गर्दा वर्षको एक दुई लाख हुने अवस्था थियो । चन्दा मागेर अतिथिलाई सोमरस खुवाउने कुराले आचरणमा सुधार आउँदैन भन्ने निस्कर्षकासाथ खर्च नगर्ने निर्णय गरिएको थियो । जुन निर्णयले अहिले पनि निरन्तरता पाएको छ ।

झापामा अहिले मादक पदार्थ सेवन नगर्ने पत्रकारको संख्या ठूलै छ । सेवन गरे पनि नितान्त व्यक्तिगत रुपमा । समाचार प्रयोजनका लागि बोलाइएका कार्यक्रम वा पत्रकार सम्मेलनमा मादक पदार्थ सेवन गर्ने कुरा लगभग छैन भने पनि हुन्छ । महासंघको एउटा निर्णयको सकारात्मक परिणाम हो ।

त्यस्तै महासंघको वर्तमान कार्य समितिले पत्रकारलाई गरिने मान सम्मानलाई निरुत्साहित गर्ने निर्णय गर्यो । हाम्रा आन्तरिक कार्यक्रममा साथीहरुलाई यस विषयमा अपित गर्यौँ । यो पनि धेरै हदसम्म निरुत्साहित भएको छ । हुलका हुल पत्रकार सम्मानित हुने काम अहिले कम भएको छ । दिने पिच्छे सरहकारी संस्था, संघ संस्थाले एउटा सम्मान पत्र थमाएर पत्रकारलाई सम्मान गर्ने काम अहिले कमै मात्र हुन्छ ।

रिपोर्टिङमा गएका पत्रकारलाई पनि मञ्चमा बोलाउने र सम्मान गरिहाल्ने चलन कम भएको छ । सामाजीक सञ्जालमा दिनै पिच्छे सम्मानका तस्वीर अहिले देखिँदैन । यो पनि सूधार हो ।

समाचार र आचारसंहिता
यातायात खर्च नलिने प्रसङ्ग पत्रकार आचारसंहिताको एउटा सामान्य अंश मात्र हो । आचारसंहिताका अन्य अनेक विषय उल्लङ्घन हुने गरेका छन् । कुनै पत्रकारले लेखेको गतिलो समाचर, लेखमा अग्रज वा सहकर्मीबाट निरुत्साहित गर्ने काम हुन्छ । कसैले समाचार लेखाइमा त्रुटी भए सुधारका लागि सुझाव दिने हो । तर, समाचारको अंग पुर्याउन कुनै पत्रकारले प्रतिक्रिया माग्यो भने तुरुन्तै प्रतिक्रिया दिनेले समाचार रोक्न अर्को पत्रकार प्रयोग गर्ने गरेका छन् ।

समाचार रोक्न पत्रकार नै सक्रिय हुन्छन् । लेखिहाले पुनः नलेख्न भनिन्छ । न्यूजको फलो अप भए चेतावनी दिइन्छ । पत्रकार वृत्तमा नकारात्मक टिप्पणी र आलोचना गरिन्छ । जसका बारेमा समाचार आएको छ, उसले दबाब दिँदैन, पत्रकारमार्फत् दबाब सिर्जना गरिन्छ । यस्ता कार्यमा कहिलेकाहीँ संलग्न पत्रकारले चम्चागिरीको सीमा नाघेका हुन्छन् ।

नयाँ पत्रिका दैनिकका झापा सम्वाददाताले बिर्तामोडका नगरप्रमुखको समाचार लेखे । उनलाई समाचार रोक्न पत्रकार मार्फत दबाब आयो । तर, उनले समाचार लेखे, छापियो, फलोअप गरे, सरकारले दिने भनेको ३० लाख नलिने घोषणा गर्न मेयर बाध्य भए । यो समाचारलाई धेरैले राम्रो भने ।

सामाजिक सञ्जालमा धेरैले हेरे, पढे मात्र होइन, प्रशंसा पनि गरे । यो न्यूजले झापाली पत्रकारको साख जोगियो । तर, केही पत्रकारलाई चित्त बुझेन सामाजिक सञ्जालमा घुमाउरो भाषामा पीडा पोखे । पत्रकारितामा हाम्रो सोच, चिन्तनको यो एक नमूना मात्र हो ।

झापामा संचालन हुने अघिकांश सञ्चार माध्यम स्वयम् पत्रकारको संलग्नतामा खुलेका छन् । उक प्रकारको स्वरोजगार कुटिर उद्योग बनेको छ । केही सञ्चार माध्यम मात्र उद्योगी वा व्यवासयीको एकल लगानीमा सञ्चालित छन् । अधिकांश सञ्चारमाध्यममा श्रमजीवी पत्रकार स्वयम् संलग्न छ ।

राजधानीबाट प्रकाशन प्रसारण हुनेको सम्वाददाता र स्थानीय सम्पादक प्रकाशक रहने साथीहरुको संख्या पनि ठूलो छ । एउटा पत्रकार सञ्चालक वा व्यवस्थापक र पत्रकार दुवै पनि हुन सक्छ । अर्थात् दोहोरो जिम्मेवारीमा हुन सक्छ । यस्तो अवस्थामा समाचारमा पत्रकारको भूमिका निर्वाह गर्ने र व्यवस्थापक हुँदा त्यही अनुसार भूमिका निर्वाह गर्नुपर्ने हाम्रो बाध्यता हो ।

स्थानीय तहका साना मिडियाले प्रदेश वा स्थानीय सरकारबाट विज्ञापन पाउने विषय मुद्दा बनाउन सकिएको छैन । आफ्ना नगर वा गाउँपािलका क्षेत्रका मिडियालाई विज्ञापन वा कार्यक्रमबापत सहयोग गर्नुको अर्थ आलोचनात्मक समाचार नलेख्ने भन्ने हुँदैन । जनताले तिरेको करबाट प्राप्त हुने विज्ञापन वा कार्यक्रमको रकम बृद्धि गर्न वा त्यस अनुसारको नीति बनाउन सामुहिक प्रयत्न गर्नुपर्ने हुन्छ । हामी यसमा नराम्ररी चुकेका छौँ ।

झापाका धेरै स्थानीय तहले नगद बाँड्ने कार्य रोकेका छन् । तर, महासंघले कार्यक्रममा बोलाएर वा पत्रकार सम्मेलनमा पत्रकारलाई यातायात खर्च नदिनुहोस् भन्दाभन्दै पनि दिने स्थानीय तह छन् । कर्मचारी मान्दैनन्, तपाईंहरुकै साथीहरु मान्दैनन् भनेर पत्रकारलाई बद्नाम गर्ने पनि छन् ।

पत्रकार आचारसंहिताको विषय यातायात खर्च लिने÷नलिने भन्ने मात्र होइन । पत्रकार आचारसंहितामा पत्रकारले के गर्न हुने, के गर्न नहुने भन्ने उल्लेख गरिएको छ । आचारसंहिताका सूत्र हाम्रा लागि पढ्ने, बुझ्ने, तालिम लिने र तालिम दिने तर आफूमा लागू गरे पनि हुने नगरे पनि हुने जस्तो भएको छ । आचारसंहिता लागू गर्नका लागि हो । त्यसको न्यूनतम् कुरा स्वयम् पत्रकारले कार्यान्वयन गर्नुपर्छ भन्ने हो ।

सिनियर वा केही वर्ष पत्रकारिताको अभ्यास गरेका पत्रकारबाट आचारसंहिता पालन नगर्दा नयाँ पुस्ताले पनि त्यही सिक्ने हुन् । पत्रकारिता वा अन्य विषय अध्ययन गरेर पत्रकारितामा भविष्य खोज्न पत्रकारिताको अभ्यास गरिरहेकालाई हामीले के सिकाउने हो ? आचारसंहिता सिकाउने तर पालना गर्न नपर्ने सिकाउने हो र ? पुरानाले जे गर्छन् नयाँले त्यही सिक्ने न हुन् । आचारसंहितालाई व्यवहारमै नउतारेसम्म पत्रकारिताको व्यावसायिकरण असम्भव हुन्छ । (लेखक, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तथा सजिलो खबर डट कमका सम्पादक हुन्)

प्रतिक्रिया दिनुहोस्