Logo

विराटनगरमा लक्ष्यभन्दा ४ अर्ब राजस्व असुली न्यून



विराटनगर, ३ साउन । प्रदेश १ को मुख्य नाका विराटनगर भन्सारले पनि गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व असुली गर्न सकेन । ४२ अर्ब २५ करोड रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखे पनि ३८ अर्ब २८ करोड रुपैयाँ मात्र राजस्व असुली गरेको छ ।

लक्ष्यभन्दा झन्डै ४ अर्ब राजस्व असुली न्यून भएको छ । भन्सारका प्रवक्ता मणिराम पौडेलले भने, ‘आयात घटदा र असार महिनाभरि आयात–निर्यात असहज हुँदा राजस्व असुली घटेको हो ।’ यो भन्सारले गत वर्ष लक्ष्यभन्दा बढी राजस्व असुली गरेको थियो ।

भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क तीनवटै असुली लक्ष्यअनुसारको रहेन । भारत र तेस्रो मुलुकबाट हुने आयात जोगबनी नाकाबाट निकै घट्यो । पौडेलका अनुसार तेस्रो मुलुकबाट हुने आयातले नाका परिवर्तन गरेकाले पनि राजस्व असुली प्रभावित भएको हो ।

बाढीले भारतको बथनहा नजिकको मिरगन्ज पुलमा क्षति पुर्‍याएपछि चार दिनदेखि जोगबनी नाकाबाट आयात–निर्यात ठप्प छ । असार दोस्रो सातादेखि सीमावर्ती भारतीको स्थानीय प्रशासनले निकासी पैठारीमा समय सीमा तोकेका कारण पनि असार महिनामा राजस्व असुली प्रभावित हुँदा लक्ष्यअनुसारको राजस्व असुली हुन नसकेको पौडेलको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्