Logo

विश्वकप एसियाली छनोट: नेपालले अस्ट्रेलियासँग खेल्ने



काठमाडौँ, २ साउन । नेपाली राष्ट्रिय फुटबल टिमले एसियाली फुटबलको शक्तिशाली टिम अस्ट्रेलियाविरुद्ध पहिलोपल्ट प्रतिस्पर्धा गर्ने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) को क्वाललम्पुरस्थित मुख्यालयमा बुधबार भएको विश्वकप २०२२ को एसियाली छनोटको ‘ड्र’ अनुसार नेपालले नयाँ प्रतिद्वन्द्वीको रूपमा अस्ट्रेलियालाई पाएको हो ।

‘होम एन्ड अवे’ का आधारमा हुने छनोटमा नेपालले अक्टोबर १०, २०१९ मा अस्ट्रेलियाको यात्रा गर्नेछ । नेपालले फिफा वरीयतामा ११८ स्थान माथिको टिमलाई मार्च ३१, २०२० मा काठमाडौंमा निम्त्याउने छ ।

पछिल्लोपल्ट रुसमा भएको विश्वकपमा समूह चरणबाटै बाहिरिएको अस्ट्रेलिया वरीयतामा ४३औं स्थानमा छ भने नेपाल १६५औंमा । पाँचपल्ट विश्वकप खेलेको अस्ट्रेलिया सन् २०१५ को एसियन कप च्याम्पियन पनि हो । उसको टिम युरोपेली लिगमा व्यस्त खेलाडीले भरिएको हुने गर्छ । नेपाल भने दक्षिण एसियाली च्याम्पियनसिपमा पनि सेमिफाइनलमाथि उक्लिन सकेको छैन ।

अस्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेई र कुवेतसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपालले कुवेतविरुद्ध घरेलु भूमिमा प्रतिस्पर्धा गर्दै सेप्टेम्बर ५, २०१९ मा छनोट यात्रा थाल्नेछ । अघिल्लो महिनाको वरीयतामा एसियाको शीर्ष ३४ स्थानमा रहेपछि सिधै छनोटको समूह चरणमा प्रवेश पाएको नेपाल समूहमा सबैभन्दा कमजोर टिम हो । त्यसैले नेपालले छनोटका प्रतिद्वन्द्वीहरू हेरेर अरुको खेलभन्दा पनि आफ्नै खेलमा ध्यान दिएर स्तर बृद्धिका लागि प्रतिस्पर्धा गर्नुपर्ने प्रशिक्षक योहान कालिनले प्रतिक्रिया दिएका छन् ।

स्वीडिस प्रशिक्षक कालिनको मार्चमा टिम सम्हालेयता नेपालले मैत्रीपूर्ण चार खेल खेल खेलेको छ । त्यसमा कुवेतविरुद्ध एक बराबरी र एक हारको नतिजा बेहोरेको थियो भने मलेसियामा पराजित भएको थियो । नेपालले चाइनिज ताइपेईविरुद्ध ताइवानमा १–१ को बराबरी गरेको थियो ।

कुवेत र चाइनिज ताइपेईविरुद्ध विपक्षी मैदानमा खेलेको बराबरी नतिजलाई उपलब्धिमूलक मानिएको छ । यही विश्वकप छनोटको तयारीमा नेपाली टिमले दुई सातायता निरन्तर अभ्यास गरिरहेको छ ।

विश्वकप छनोटको यो दोस्रो चरणको प्रतिस्पर्धा एसियन कप २०२३ को छनोटको रूपमा पनि रहेको छ । आठ समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट चार टिम विश्वकप छनोटको अन्तिम चरणमा प्रवेश गर्नेछन् र त्यससँगै ती १२ टिम चीनमा २०२३ मा हुने एसियन कपमा पनि छनोट हुनेछन् । अरु टिमले एसियन कपमा बाँकी रहेको १२ स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्