Logo

पार्टी एकताको सबै काम आजै टुंगिन्छः प्रचण्ड



काठमाडौं, ३१ असार । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बेलुकीसम्म पार्टी एकताका सबै काम टुंग्याउने बताएका छन्।

ललितपुरमा मंगलबार जिल्ला कमिटीलाई सपथ खुवाउँदै प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकताको काम टुंग्याउने भनेअनुसार नै आज बेलुकीसम्म सबै काम सकिने बताए।

प्रचण्डका अनुसार आज कार्यविभाजन, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद, विशेष कमिटी र विभागहरू गठन गर्ने काम आज साँझसम्म सकिन्छ।

‘आज बेलुकीसम्म पार्टी एकताका काम टुंग्याउँछौं,’ प्रचण्डले भने, ‘यो कार्यक्रम लगत्तै म पार्टी बैठकमा जान्छु। मूलभूत कुराहरू सकिएको छ। खाली ठाउँ भर्न मात्रै बाँकी छ।’ उनले केन्द्रीय समिति बैठक पनि छिट्टै बस्ने बताए।

पार्टी एकताका सबै काम सचिवालय बैठक हुँदै केन्द्रीय समितिबाट अनुमोदन गरेपछि देशब्यापी रूपमा अभियान लिएर जनतामा जाने उनले बताए।

‘पार्टी कमिटी र जनतासँग सम्बन्ध सुदृढ बनाउन देशैभर अभियानमा जान्छौं,’ उनले भने, ‘पार्टी एकताको काम तीन महिनामा सक्ने भनिएको थियो। ढिला भएकै हो तर काम फत्ते गरेका छौं।’

प्रतिक्रिया दिनुहोस्