Logo

वडाध्यक्षको फर्जी हस्ताक्षर अभियोगमा पक्राउ



काठमाडौं, ३१ असार । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा मंगलबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बालाजुस्थित अटो पार्ट्सका कर्मचारी रवीन खत्री रहेका छन् ।

आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष रिजालको हस्ताक्षर गरेर वडामा फाइल पेस गरेको पाइएकाले प्रहरीले उनलाई पक्राउ गरेको हो । वडाध्यक्ष रिजालले दर्ता शाखामा आफ्नै हस्ताक्षर गरेर फाइल पेस गरेको भेटिएपछि प्रहरीलाई बोलाएर जिम्मा लगाइएको जानकारी दिए ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले बताए । कार्कीले अटो पार्ट्सका मालिक टेकबहादुर रायमाझीको निर्देशनमा आफूले फाइल वडामा ल्याएको तर यसबारे थप जानकारी आफूलाई नभएको बयान दिएको बताइएको छ ।

वडाध्यक्ष रिजालले भने–‘उहाँले क्लोजिङका लागि फाइल दर्ता शाखामा पेस गर्नुभएछ । मेरो स्टाफले नक्कली हस्ताक्षर भएको आशंकामा मकहाँ फाइल ल्याएपछि हस्ताक्षर नक्कली नै भएको पाइएपछि प्रहरी बोलाएर जिम्मा लगाएका हौं ।’

प्रतिक्रिया दिनुहोस्