Logo

अमेरिकी राष्ट्रपति ट्रम्पलाई रंगभेदको आरोप



एजेन्सी, ३० असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प फेरि विवादमा तानिएका छन् । केही महिला सांसदप्रति लक्षित गर्दै आक्रामक ट्वीट गरेपछि राष्ट्रपति ट्रम्पमाथि रंगभेदको आरोप लागेको हो ।

राष्ट्रपति ट्रम्पले केही महिला सांसदहरुलाई पूर्णरुपमा असफल राष्ट्रबाट अमेरिका आएको भन्दै उनीहरुलाई पुरानै मुलुकमा फर्कन भन्दै ट्वीट गरेका थिए ।

राष्ट्रपति ट्रम्पको ट्वीट डेमोक्र्याटिक महिला सांसदहरुप्रति लक्षित थियो । यद्यपी ट्वीटमा कुनै पनि महिला नेतृको नाम उल्लेख छैन ।

अहिले उनले ट्वीटको तीव्र आलोचना भइरहेको छ । ट्रम्पले ल्याटिन तथा अफ्रिकन मूलका महिला नेतृलाई लक्षित गरेर रंगभेदी ट्वीट गरेका हुन ।

डेमोक्र्याटिक पार्टीका प्रगतिशील धारका चार महिला नेतृको समूह ‘द स्क्वाड’ सँग सभामुख न्यान्सी पेलोसीको गत हप्ता विवाद भएको थियो । त्यसको हप्ता दिनपछि ट्रम्पले उनीहरु विरुद्ध रंगभेदी ट्वीट गरेका छन् ।

ट्रम्पले ती नेतृहरु आफ्नो ‘मूल’ देश फर्किने भए यात्राको निःशुल्क व्यवस्थापनका लागि सभामुख पेलोसी खुशी हुने पनि ट्वीटमा उल्लेख गरेका छन् ।

सभामुख पेलोसीको नाम ट्वीटमा उल्लेख भएकाले ट्रम्पले इंगिद गरेका नेतृहरु एलेक्सान्ड्रिया ओकासिओ–कोर्तेज, रशिदा तलाइब, एयाना प्रेसली र इहान ओमार रहेको स्पष्ट भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

सभामुख पेलोसीले ट्रम्पको ट्वीट अमेरिकालाई विभाजित गर्ने खालको बताएका छन् । उनले विविधता नै अमेरिकाको बल र एकता नै शक्ति रहेको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरेका छन् । केही सांसदहरुले राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाउनुपर्ने धारणासमेत सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्