Logo

१२ वर्षे बालिकामाथि सामुहिक बलात्कार



राजविराज, २६ असार । सप्तरीमा १२ वर्षीया बालिका बलात्कारको घटना सार्वजनिक भएको छ । घटनाको एक सातापछि पीडित पक्ष उजुरी लिएर शान्ति सुरक्षाको माग गर्दै सदरमुकाम आएपछि घटना सार्वजनिक भएको हो ।

दाई नाता पर्ने किशोरसहित अन्य चार जनाले ती बालिकालाई बलात्कार गरेको खुल्न आएको छ । गाई चराउन जंगल गएकी अग्नीसाइर कृष्णसवरण गाउँपालिका–२ की बालिका असार १८ गते बलात्कारमा परेकी हुन्। मुखमा रुमालले बाँधेर घिस्याउँदै घारीतर्फ लगेर बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बयान दिएकी छन्।

पीडितकी आमाले दिएको उजुरी र बालिकाको बयानपछि पीडितको स्वास्थ्य परिक्षण गरी उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कञ्चनरुपका डिएसपी मकेन्द्रकुमार मिश्रले बताए। आरोपीहरुको उमेर पनि १८, १७, १५ र १२ वर्षको छ। चारै जना आरोपीहरु फरार रहेकोले खोजीकार्य भइरहेको छ।

पारिवारिक दवावका कारण उजुरीमा दाजुको नाम उल्लेख नगरिए पनि पीडितले बयानमा भने उनको नाम किटानी गरेकी छन्। दाजुबाट नै अन्य आरोपीको नाम खुलेको पीडिततर्फका कानुन व्यावसायीले जानकारी दिए।

पीडितका दाई नाता पर्ने सबैभन्दा कम उमेर १२ वर्षका छन्। दवाव, अज्ञानता र लोकलाजका कारण पीडित परिवारले घटनालाई लुकाएर राख्दा प्रमाण जुटाउन र दोषी पक्राउ गर्न समस्या भएको प्रहरीको भनाई छ।

गाउँसमाजले नै मिलाउने भनी उजुरी गर्न रोक लगाएकोले ढिलो भएको स्विकार्दै पीडितकी आमाले उजुरी दिन कञ्चनरुप आएपछि आरोपितहरुरू गाउँबाट भागेको बताइन्। सामूहिक बलात्कार घटनाबारे प्रहरीमा उजुरी परेपछि आरोपितको परिवारबाट झनै दबाव बढेको र जिउ ज्यानमा असुरक्षा भएको भन्दै पीडित परिवार सुरक्षा माग्दै बिहीबार सदरमुकाम राजविराज आएका छन्।

बालिकामाथि सामुहिक बलात्कारका घटना बढेको र अधिकांश घटनामा छिमेकी, चिनजान र आफन्तकै संलग्नता रहेको देखिन्छ। एसपी मनोजकुमार यादवले पनि बालिका र महिलाहरु छिमेकी र आफन्तबाट नै बढी असुरक्षित रहेको बताए।

प्रतिक्रिया दिनुहोस्