Logo

काँग्रेसलाई विप्लवमाथि हेर्ने दृष्टिकोण स्पष्ट पार्न संचारमन्त्रीको आग्रह



काठमाडौँ, २६ असार । सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका छन् ।

मन्त्री बाँस्कोटाले चन्द समूहले गरिरहेको हिंसाको सहारा लिएर नेपाली काँग्रेसले सरकारमाथि प्रश्न उठाउने काम गरिरहेको भन्दै आफ्नो दृष्टिकोण स्पष्ट पार्न आग्रह गरेका हुन् ।

संविधान, कानुन र शान्तिका विरुद्ध नेपाली काँग्रेसले चन्द समूहलाई किन काखी च्यापेको भनि प्रश्न पनि गरे । भोजपुरमा चन्द समूह र प्रहरीबीचको झडपमा परी बुधबार बिहान दुवै पक्षका २ जनाको हत्या भएको थियो । सोही घटनालाई लिएर नेपाली काँग्रेसले सरकारले ‘मृत्यको व्यापार’ गरिरहेको आरोप लगाएको थियो ।

त्यसप्रति टिप्पणी गर्दै मन्त्री बाँस्कोटाले नेपाली काँग्रेसले कानुन, संविधान विपरित हिंसात्मक गतिविधिलाई साथ दिएको दावी गर्दै आपत्ति जनाए । मन्त्री बाँस्कोटाले चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्याको छानविनका लागि संसदीय समिति गठन गर्न नसकिने अडान पनि दोहोर्‍याए ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सो हत्याकाण्डको छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गरिरहेको छ । मन्त्री बाँस्कोटाले संसदीय समितिले छानविन गर्दैमा सो समस्या समाधान नहुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्