Logo

सप्तकोशीमा पानीको बहाव बढ्यो



काठमाडौँ, २६ असार । अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तीन दिन देखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा बिहीबार बिहान १० बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख १० हजार ९ सय सय क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी हो । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

बिहीबार र शुक्रबार देशभर भारी वर्षाको कारण साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी गर्न सरकारले आह्वान गरेको छ । विशेषगरी तराई, सिवालिक र मध्य पहाडी क्षेत्रमा आगामी २०–३६ घण्टासम्म भारी वर्षा हुने अनुमान छ । जसका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने छ ।

तराईका कन्काई र कमला नदीमा पनि पानीको सतह खतराको लेभलभन्दा माथि पुग्ने चेतावनी दिइएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार र शुक्रबार देशभर वर्षाको सम्भावना छ ।

बिहीबार राति केही स्थानमा ‘अति भारी’ वर्षा हुने पूर्वानुमान गरिएको छ । आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै मौसमविदले हवाई र सडक यातायातमा समेत अवरोध आउने बताएका छन् । हाल मनसुन न्यूनचापीय रेखा नेपालको नजिक रहेकाले देशभर पूर्ण बदली रही मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिम क्षेत्रको धेरैजसो स्थानहरुमा मनसुनी वर्षा जारी छ ।

प्रतिक्रिया दिनुहोस्