Logo

श्रीमतीको हत्या गरी ड्रममा शव लुकाउने श्रीमान पक्राउ



नेपालगञ्ज, २६ असार । श्रीमानको कुटाइबाट नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोल निवासी ३६ वर्षीया ललिताकुमारी लोधको मृत्यु भएको छ ।

हत्या गरेर श्रीमान् शिवकुमार लोधले पत्नी ललिताको लाश ड्रममा लुकाएर राखेका थिए । ड्रममा लुकाएर राखिएको अवस्थामा बुधबार साँझ ललिताको शव फेलापरेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार, विद्यालय गएका छोराले घरमा आउँदा आमालाई नदेखेपछि सोधीखोजी गरी होहल्ला गर्दा मृतकको शव ड्रममा राखिएको अवस्थामा भेटिएको थियो । जीवित रहेको अनुमानमा ललितालाई शिक्षण अस्पताल नेपालगञ्ज पुर्‍याइए पनि चिकित्सकले केही घण्टाअघि नै मृत्यु भएको बताएका थिए ।

सधैँजसो झगडा गर्दै कुटपिट गर्ने शिवकुमारले छोरा अमन विद्यालय गएको बेलामा ललितालाई कुटेर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरी उपरीक्षक वलीले घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मृतकका श्रीमान् शिवकुमारसहित दुईलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताए । मृतक ललिताको अनुहार, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्