Logo
  चैत्र १६, २०८० शुक्रबार

सिद्धेश्वर मन्दिरः जहाँ, पुजारीमा महिला माझी र समितिमा दलित महिला



झापा, २१ असार । नेपाल धर्म निरपेक्ष राज्य भएको १३ वर्ष भएपनि अझै कयौँ मठ मन्दिरमा दलितलाई सहज प्रवेशमा रोक लगाइने गरेको छ ।

दलित समुदाय प्रवेश गरेको मन्दिरमा व्राम्हण पुजारी हुन नमान्ने, दलितको घरमा पुजापाठ र काजक्रिया गर्न पुजारी नपाइने घटना भइरहेका बेला झापा शिवसताक्षी नगरपालिका ७ का चन्द्रडाँगीको सिद्धेश्वर पुशुपतिनाथ तथा दुर्गा मन्दिरमा भने सहयक पुजारी माझी महिला र मन्दिर व्यवस्थापन समितिमा दलित र जनजाति छन् ।

चन्द्रडाँगी बजारमा ६ दशक अघि स्थापना भएको दुर्गा मन्दिरसँगै सिद्धेश्वर मन्दिरमा जातीय रुपमा कुनै विभेद छैन । मन्दिर निर्माणदेखिनै सबैले सहयोग गरेर स्वामित्व लिएका छन् ।

सिद्धेश्वर पुशुपतिनाथ तथा दुर्गा मन्दिरका मूल पुजारी सोमनाथ ढकाल छन भने सहायक पुजारीमा तारा माझी भएको मन्दिर व्यवस्थापन समितिमा अध्यक्ष योगेन्द्र अधिकारीले बताए । नगरपालिका सदस्य मञ्जु सुजी दर्जी मन्दिर व्यवस्थान समिति सदस्य छिन् । पदममायाँ राई र निरु सुब्बा पनि व्यवस्थापन समिति सदस्य छन् भने गंगामायाँ सुवाङ लिम्बू सल्लाहकार सदस्य छिन् ।

मूल पुजारीका लागि संस्कृत अध्धयन आवश्यक भएकाले व्राम्हण समुदायबाट राखिएको अध्यक्ष अधिकारीले बताए । उनले भने, सहायक पुजारी, मन्दिर व्यवस्थान समितिसँधै समावेशी हुन्छ । अध्यक्ष अधिकारीले मन्दिर स्थापनाकालबाटै समावेशी रहेको र मन्दिर व्वस्थापन समितिमा दलितलाई राखेर छुवाछुत मुक्त बनाईएको बताए ।

गाँउमा आफ्नै पसिना र दानबाट मन्दिर निर्माण गर्न पाएकोमा सबै पुलकित छन् । गाउँमा भव्य मन्दिर देखेर सबै दंगदास छन् । मन्दिरको बसाह निकै आकर्षक छ । गजुरयुक्त मन्दिरमा निर्माणले चन्द्रडाँगी बजारमा छुट्टै रौनक छाएको छ ।

आदिवासी, जनजाति, व्राम्हण, दलित, क्षेत्री लगाउतका सबैले मन्दिर निर्माणमा योगदान पुर्याएका छन् । साँझ परेपछि जाँडरक्सी खाएर होहल्ला र झैझगडा हुने चन्द्रडाँगी बजार अहिले फेरिएको छ । बिहान पुजा पाठको कार्य हुन्छ भने साँझमा भजन किर्तन हुने गर्दछ ।

मन्दिरको गजुरमा रहेको माइकमा हरदम बज्ने भजनमा सबै रमाउँदै गएका छन् । गाउँका मानिस भजन र किर्तन रमन थालेका छन् । बिवाह, ब्रतमन जस्ता कार्य पनि मन्दिरमा हुने गरेको छ ।

मन्दिर व्यवस्थापन समितिले दुर्गा मन्दिरको पुरानो संरचना भत्काएर नयाँ स्वरुपमा निर्माण गरेको छ । समितिले मन्दिर संचालनका लागि स्रोत निर्माण गर्न व्यवसायिक सटर निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्