Logo

जनताको सुखी हुने सपना वर्तमान सरकारले पूरा गर्ने: मुख्यमन्त्री राई



विराटनगर, ३ असार ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनताको न्यायमा पहुँच र समावेशी बनाई समाजवाद स्थापनाको यात्रामा अघि बढेको बताएका छन् ।

विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालय परिसरमा स्थापित मार्क्सवाद अध्ययन अनुसन्धान केन्द्रको उद्घाटन गर्दै उनले मार्क्सवादको सिर्जनात्मक प्रयोगबाट जनतामा आर्थिक समृद्ध कायम गर्नुपर्नेमा जोड दिए ।  उनले यस पाठशालाको अध्ययनबाट हुर्केकाले वर्तमान सरकारको नेतृत्व सम्हालेको स्मरण गराउँदै जनताको सुखी हुने सपना वर्तमान सरकारले पूरा गराउने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राईले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटको माध्यमबाट विकासको कार्य अघि बढीरहेको चर्चा गर्दै समृद्ध र सुखी समाज निर्माण गर्न सरकार कटिबद्ध रहेको टिप्पणी गरे । उनले पुस्तकालयका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, अध्ययन अनुसन्धान कार्यमा विशेष सहयोग उपलब्ध गराउने बताउँदै पुष्पलाल चोक आसपासमा ज्येष्ठ नागरिकका लागि चौतारा निर्माण कार्यको पहल गर्ने जानकारी दिए ।

पुस्तकालयका अध्यक्ष केशवप्रसाद गौतम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, ज्येष्ठ नागरिक तोया घिमिरेले केन्द्रको स्थापनाबाट मार्क्सवादी पुनःजागरण र समाजलाई रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । उक्त केन्द्रमा प्रत्येक शनिबार बिहान ६ देखि ८ बजेसम्म मार्क्सवादको राजनीतिशास्त्र, अर्थशान्त्र र दर्शनशास्त्र अध्ययन गराइने भएको छ ।

विसं २०२४ मा स्थापना भएको विष्णुमाया पुस्तकालयले ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र, खाजाको व्यवस्था विद्युतीय पुस्तकालय, सामुदायिक विद्यालयबाट एसईई परीक्षामा सहभागी हुने विद्यार्थीका लागि निःशुल्क कक्षा सञ्चालन र दैनिक बिहान योग अभ्यास गराउँदै आइरहेको छ अध्यक्ष गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्