Logo

कांग्रेसले संसदीय व्यवस्थाको धज्जी उडायो: सांसद भट्टराई



काठमाडौँ, ३ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएर प्रतिपक्षी कांग्रेसले संसदीय व्यवस्थाको धज्जी उडाएको आरोप लगाएका छन् । भट्टराईले सामान्य संसदीय नियमलाई पनि कांग्रेसले स्वीकार गर्न नसकेको टिप्पणी गरेका छन् ।

संसद वैठक अवरुद्धपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता भट्टराई भने, ‘आफुँलाई संसदीय व्यवस्थाको पर्यायाबाची ठान्ने नेपाली कांग्रेसले संसदीय व्यवस्थाको धज्जी उडायो । संसदीय व्यवस्थाको सामान्य नियम पनि के हो भने कुनैपनि मन्त्रीले समय मागेर जुनसुकै बेला बोल्न सक्छन् । प्रधानमन्त्रीले त झन् बोल्न नपाउने भन्ने कुरै छैन् ।’

उनले विवादमा आएका तथा प्रतिपक्षीले उठाएका प्रश्नको उत्तर पनि प्रधानमन्त्रीले दिन नपाएको भन्दै प्रधानमन्त्रीले भन्दा पहिला बोल्न पाउनुपर्छ भनेर कांग्रेसले अनैतिक काम गरेको टिप्पणी गरे । उनले भने, ‘प्रधानमन्त्रीले भन्दा पहिला आफैंले बोल्न पाउनुपर्छ भन्ने असाध्यै अनैतिक कुरा हो । सभामुखले पटक–पटक प्रधानमन्त्रीले बोलेपछि समय दिन्छु भन्नुभएको छ । त्यो कुरालाई पुरै वेवास्ता गर्दै प्रधानमन्त्रीलाई बोल्न नदिनु र संसद चल्न नदिनु संसदीय व्यवस्था माथिको धावा हो ।’

उनले संसदीय इतिहासमै कांग्रेसले अनैतिक काम गरेको टिप्पणी गर्दै कांग्रेसको रवैयाप्रति निन्दा र भत्सना गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्