Logo

नेयमारलाई फर्काउने कसरतमा बार्सिलोना



एजेन्सी, ३ असार । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले विश्वका महँगा खेलाडी नेयमारलाई उचित मुल्य पाए बेच्ने बताइरहँदा स्पेनिस क्लब बार्सिलोनाले आफ्ना पुर्व खेलाडी नेयमारलाई अनुब्नध गर्न चासो देखाएको छ ।

बार्सिलोनाले नेयमारलाई भित्र्याउने तयारी अगाडी बढाउने क्रममा औसमाने डेम्बेले, इभान राकिटिक र स्यामुयल उम्टिटीलाई उचित मूल्यको प्रस्ताव आए विक्री गर्ने गृहकार्य थालेको हो । चार सिजन बार्सिलोनामा बिताएर सन् २०१७ मा फ्रान्स पुगेका नेयमारले पनि बार्सिलोना फर्कने संकेत दिएका छन् । उनी विश्व कीर्तिमानी १ सय ९८ मिलियन पाउन्डमा पीएसजी पुगेका थिए ।

ग्लोबो स्पोर्टस्का अनुसार बार्सिलोना र पीएसजीका उच्च अधिकारीहरुबीच यसै समरमा नेयमारको विषयमा सहमति नजिक पुगिसकेको उल्लेख गरेका छन् । ग्लोबोका अनुसार नेयमारको मुल्य १ सय ९० मिलियन पाउन्ड राखिएको छ । तर बार्सिलोना आफूले बेचेको मूल्यभन्दा केहि कममा फिर्ता लिने पक्षमा छ ।

चोटका कारण नेयमारले घरेलु भुमिमा आयोजना भइरहेको कोपा अमेरिका कप समेत गुमाएका छन् । प्रतियोगिता सुरु हुनुअघि कतारविरुद्धको मैत्रीपुर्ण खेल दौरान नेयमारले दायाँ खुट्टाको एंकलमा चोट बोकेका थिए ।

बार्सिलोनाका स्टार लुईस स्वारेज ब्राजिली खेलाडी नेयमारसँग पुन खेल्न आफु उत्साहित रहेको बताएका छन् । ‘कसले चाहँदैन नेयमार जस्तो खेलाडीलाई ?’ स्वारेजले प्रश्न गरेका छन् । नेयमारले पीएसजीलाई दुईपटक लिग जिताउन महत्वपुर्ण योगदान गरेका थिए । उनले खेलिएका ५८ खेलमा ५१ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्