Logo

यो फिल्म चल्नलायक नै थिएन: वरुण



एजेन्सी, ३ असार । लगातार ११ हिट फिल्म दिएपछि बलिउड अभिनेता वरुण धवनको फिल्म ‘कलंक’ बक्स अफिसमा नराम्रोसँग चिप्लियो । उनको अघिल्लो फिल्म ‘सुई धागा’ लाई समीक्षकले खासै रुचाएनन् तर बक्स अफिसमा राम्रै व्यापार ग–यो । ‘कलंक’ फ्लप हुँदा यसले आफूलाई निकै नराम्रोसँग प्रभाव पारेको वरुण बताउँछन् ।

अभिषेक वर्मनको निर्देशन र करण जोहरको निर्माण रहेको यो फिल्मलाई समीक्षकले पनि रुचाएनन् । दर्शकले पनि फिल्मको राम्रो रिभ्यु गरेनन् । वरुणले भने यो फिल्मको असफलताले आफूलाई धेरै कुरा सिकाएको बताउँछन् ।

एक समाचार एजेन्सीसँग कुरा गर्दै वरुण धवनले यो फिल्मले आफूलाई प्रभावित पारेको बताएका छन् । ‘फिल्मलाई जनताले खासै रुचाएनन्, यो फिल्म चल्नेलायक पनि थिएन, यदि फिल्म दर्शकलाई मन पर्छ भने त्यो फिल्म चल्नुपर्छ,’ धावनले भने ।

वरुणले ‘कलंक’ दर्शकलाई मन नपर्नु भनेको आफ्ना लागि पनि सिकाइ भएको बताए । ‘मैले यो फिल्मबाट सिकेँ कि, कैयनपटक केही चीजले राम्रोसँग काम गर्दैनन्, जसका कारण नतिजा राम्रो आउँदैन,’ उनले भने ।

आफूले यो फिल्मबाट धेरै कुरा सिकेको र अब नयाँ प्रोजेक्टमा फोकस भएको उनले बताए । वरुणका हातमा ‘स्ट्रीट डान्सर’ ‘कुल्ली नम्बर १’ लगायतका फिल्म छन् ।

प्रतिक्रिया दिनुहोस्