Logo

सुत्केरीको मृत्युपछि ११ जना चिकित्सक एकै पटक विदामा



काठमाडौं, २ असार । सुदूर पश्चिमको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालका ११ जना चिकित्सक एकै पटक विदा बसेका छन् ।

उपचारका क्रममा डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु भएको आरोप लागेपछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै चिकित्सक आइतबारदेखि विदा बसेका हुन्।

डाक्टरहरू ललिल सुरी, उत्तम भट्ट, पदम नेपाली, अमृत अधिकारी, सुभास लामिछाने, विकास दुवाडी, विभव बस्याल, नरेश श्रेष्ठ, सृजना अधिकारी, सिर्जना महर्जन र डबल बुढा विदा बसेका छन्। उनीहरूले मेडिकल सुपरिटेन्डेन्ट जितेन्द्र कडेँललाई आफूहरू विदा बसेको सूचना विज्ञप्तिमार्फत् दिएका छन्।

अमरगढी नगरपालिका–६ की २५ वर्षीया गीता ताम्राकारको शनिबार शल्यक्रियाको क्रममा मृत्यु भएपछि स्थानीयहरूले नाराबाजी गरेका थिए। उनीहरूको आन्दोलनले सुरक्षा नभएको भन्दै डाक्टरहरू विदामा बसेका हुन्।

‘घटनापछि उत्पन्न परिस्थितिबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँदा समस्या समाधान गर्नुको साटो उल्टै डर, धम्की र गैरजिम्मेवार रूपमा प्रस्तुत हुनुभएको जानकारी गराउँछौं,’ डाक्टरहरुले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालजस्तो संवेदनशील ठाउँमा होहल्ला गरी अराजकता नित्याउनेलाई कानुनी दायरामा नल्याएसम्म काममा फर्कन नसक्ने भएकोले सामूहिक विदा बसेका छौं।’

दुई साता अघि शल्यक्रिया गरेर बच्चा जन्माएकी ताम्राकार रक्तश्राप नरोकिए पछि पुनः शनिबार अस्पताल आएकी थिइन्। चिकित्सकको लापरवाहीका कारणले उनको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा र सडकमा प्रदर्शन गरेका थिए।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले डाक्टरहरुलाई सुरक्षाको ग्यारेन्टी दिने बताउँदाबताउँदै विज्ञप्ति जारी भएको बताए। ‘सुत्केरीको मृत्युपछि परिस्थिति असहज बन्यो नियन्त्रणमा लिइसकिएको छ,’ उनले सेतोपाटीसँग भने, ‘म अस्पतालमै गएर डाक्टर र कर्मचारीलाई राखेर सुरक्षाको ग्यारेन्टी जिल्ला प्रशासन र गृह मन्त्रालयले दिन्छ भनेको थिएँ।’

उनले घटना दुःखद भएको बताउँदै पीडित पक्षलाई राहतका लागि सिफारिस पनि गरेको बताए। ‘डाक्टरलाई डरधम्की दिनुपर्ने कारण नै छैन,’ उनले भने, ‘बरू पूरा सुरक्षा दिन्छौं काम गर्नुस् भनेका हौं। सोमबारदेखि अस्पताल खुलाउन पहल गरिरहेका छौं।’

पीडित पक्षले शवको परीक्षण बाहिरका डाक्टरले गर्नु पर्ने माग राखेपछि बैतडीको डाक्टरले पोस्टमार्टम गरिसकेको उनले बताए। उनीहरूले छानबिन समिति पनि गठन गर्न माग गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले डाक्टरहरु विदा बसेकोबारे मन्त्रालयलाई जानकारी भएको बताए। घटनाको छानबिनका लागि मन्त्रालयले तीन सदस्यीय टोली पठाएको र अध्ययन थालिसकेको उनको भनाइ छ। ‘उपसचिव भानुभक्त न्यौपाने संयोजकत्वको टोलीले छानबिन सुरू गरिसकेको छ,’ उनले भने।

घटनापछि सरकारी चिकित्सक संघ (गोदान) ले विज्ञप्ति निकालेर मानसिक तनाव र असुरक्षाले चिकित्सक स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको उल्लेख गरेको छ।

चिकित्सकलाई दुर्व्यवहार र हातपात गर्नेलाई कारबाही गर्नुको साटो अस्पताल सञ्चालन गर्न दबाब दिनु स्थानीय प्रशासनको निकम्मापन भएको गोदानका अध्यक्ष डाक्टर दीपेन्द्र पाण्डेले निकालेको विज्ञप्तिमा उल्लेख छ।

‘सुरक्षाको ग्यारेन्टी नभएसम्म चिकित्सकहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गर्दछौं,’ डाक्टर पाण्डेले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्