Logo

ईटहरीका मेयर–पत्रकार बिवाद, पत्रकारको गल्ती भएको प्रतिबेदन सार्बजनिक



इटहरी, २९ जेठ । सुनसरीको ईटहरीमा उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी र पत्रकार विराट गौतम (अनुपम) बिचको बिवादपछि गठित नेपाल पत्रकार महासंघको मिसन टोलीले घटनामा पत्रकारको गल्ती भएको प्रतिबेदन सार्बजनिक गरेको छ ।

मेयर चौधरीलाई फोन गरेर उत्तेजित गराएको भन्दै नेपाल पत्रकार महासंघले पत्रकारको गल्ती औंल्याएको छ । महांघको मिसनले मेयर चौधरीको समेत कमजोरी औंल्याएको छ । टहरीका पत्रकार गौतमले फेसबुक स्टाटसमा दिने निजी अभिव्यक्तिले विभिन्न व्यक्तिको मानमर्दन हुने गरेको समेत पत्रकार महासंघको रिपोर्टमा उल्लेख छ । इटहरी र धरानमा भएका पत्रकारसँग सम्बिन्धत घटनाहरुको अध्ययन गरी रिपोर्ट पेश गर्न पत्रकार महासंघ प्रदेश १ कमिटीले जेठ २३ गते नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य मोहनकाजी न्यौपानेको संयोजकत्वमा एउटा मिसन टोली गठन गरेको थियो । टोलीले मंगलबार प्रतिवेदन बुझाईसकेको छ ।

मिसन टोलीको निश्कर्षको तेस्रो नम्बर बुँदामा ‘पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसमा प्रमुख द्वारिकलाल चौधरीले कमेन्ट गरेको विषयलाई फोन गरेर उत्तेजित बनाएको पाइयो । साथै पत्रकार विराट अनुपमले पटक–पटक सामाजिक सञ्जाल फेसबुकमा दिने निजी अभिव्यक्ति तथा धारणाले थुप्रै पत्रकार र सामाजिक व्यक्तिको मानमर्दन र प्रतिष्ठामा आघात पुगेको गुनासा थुप्रै पाइयो ।’ लेखिएको छ ।

पत्रकारले रिपोर्टिङ गर्दा र अन्तरवार्ता लिने क्रममा व्यक्तिलाई होच्याउने गरी अशिष्ट, अमर्या्दित र पूर्वाग्रही प्रश्न गर्नु हुँदैन । पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग पृथक विषय भएको हुँदा पत्रकारले सामाजिक सञ्जालमा विचार र टिप्पणी व्यक्त गर्दा सचेत हुनुपर्दछ ।’ मिसन टोलीले सुझाव दिएको छ । पत्रकार महासंघले जिल्ला शाखामा गुनासो सुनुवाई शाखा निर्माण गर्नुपर्ने सुझाव समेत दिएको छ । अनुगमनका क्रममा मिसन टोलीले इटहरी उपमहानगरपाकिलाका मेयर द्वारिकलाल चौधरीसँग पनि भेट गरेको थियो । यसक्रममा चौधरीले आफूबाट गल्ती भएको भए कान समातेर उठबस गर्न तयार रहेको बताएका थिए । मिसनले मेयरको समेत कमजोरी देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्