Logo

वैदेशिक रोजगारीको डिमाण्ड अब मोबाइल एपमा



काठमाडौँ, १२ जेठ । वैदेशिक रोजगारीमा जाने कामदारका हकमा वैदेशिक रोजगार विभागले डिमाण्ड खोज्न नामक एप सञ्चालनमा ल्याएको छ ।

यो एपमा वैदेशिक रोजगारीका लागि विदेशबाट आउने डिमाण्डको सम्पूर्ण जानकारी उपलब्ध हुने विभागले जानकारी दिएको छ । अब वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरुले विभागको वेबसाइटमा गएर काम, दाम, कम्पनी, यताको म्यानपावर एजेन्सी सबैको पूर्ण जानकारी एपबाट लिन सक्ने विभागले जनाएको छ ।

कानूनी दायित्व नलिने एजेन्ट भनिने विचौलियाहरुले गाउँ–गाउँबाट बैदेशिक रोजगारमा जान चाहने कामदार ल्याएर म्यानपावर कम्पनीसँग सम्पर्क गराई लाभ लिने गरेको र यसलाई रोक्न एपले सहयोग गर्ने विभागका महानिर्देशक डा. भिष्मकुमार भुसालले बताएका छन् । वैदेशिक रोजगारमा अब एजेन्टको भूमिका समाप्त हुने उनको भनाइ छ ।

सरकारले वैदेशिक रोजगारीका लागि खाडीका मुलुक र मलेसिया जाने कामदार फ्रि भिसा फ्रि टिकटमा जाने भनेपनि एजेन्टहरुले उनीहरुसँग धेरै पैसा लिएर म्यानपावरलाई बुझाउने गरेका छन् ।

म्यानपावरले धेरै रकम लिएपनि १० हजार रुपैयाँ रिसिभ रसिद दिदै आएका छन् । वैदेशिक रोजगारी क्षेत्रमा धेरै ठगीमा म्यानपावर कम्पनीभन्दा एजेन्टले गर्ने गरेको विभागको बुझाइ छ ।

एजेन्टले कामदारसँग रकम लिएको कुनै प्रमाण हुँदैन । विभिन्न जिल्लामा एजेन्टहरूले म्यानपावर एजेन्सीको शाखा भन्दै कामदारसँग रकम असुल्ने गरेका छन् । प्रयोगमा ल्याएको एप मार्फत एजेन्टले गदै आएको ठगी नियन्त्रण हुने विभागको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्