Logo

भारतीय कम्युनिष्ट आन्दोलनको नारा बदल्दै कन्हैया



बिश्वपुँजिवाद, दक्षिणपन्थ र सामाजिक फाँसिवादका विरुद्ध नागरिक स्वतन्त्रता र सामाजिक न्यायका पक्षमा भारतमा कन्हैया कुमारले जसरी मुद्दा उठाइरहेका छन्, धेरै युवालाई यसले आकर्षित गरेको छ । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु) मा उनको उदय । जेएनयु छात्र संघमा अल इन्डिया स्टुडेन्ट्स फेडेरेसनको तर्फबाट अध्यक्षमा निर्वाचित ।

मोदी सरकारका दक्षिणपन्थी नीतिहरुका विरुद्धमा उनको भाषण । देशद्रोहको आरोपमा गिरफ्तार अनि तिहार जेल चलान । जेलबाट रिहाइपछि जेएनयु प्राङ्गणमा उनको नारा ‘हम लेके रहेंगे आजादी’ । भारतबाट हैन भारतभित्र बेरोजगारी, अशिक्षा, गरीबी, भोकमरी र पुँजीवादबाट आजादी अर्थात् स्वतन्त्रता । यो नाराले पाएको व्यापकता, चर्चा र विवाद ।

एकपछि अर्को बौद्धिक बहसका मञ्चहरुमा उनको जबरजस्त उपस्थिति । र अहिले लोकसभा निर्वाचनमा भारतीय कम्युनिष्ट पार्टी (भाकपा) को तर्फबाट विहार बेगुसराय क्षेत्रबाट उम्मेद्ववारी । राजनीतिप्रति चाख राख्ने जोकोहीका लागि ३२ वर्षीया कन्हैया कुमारको यो राजनीतिक यात्रा रोचक छ ।

कन्हैयाकुमारले उम्मेद्वारी दर्ताकै बेलाबाट विग कर्पोरेटको हैन आम जनताको सहयोगमा चुनाव लड्ने घोषणा गरे । परम्पराभन्दा फरक ढंगले चुनावी मैदानमा खडा भएका कन्हैयाको यो अभियान सामाजिक संजालमा पछ्याएर धित मरेन ।

हाम्रो सानो टोली उनको चुनावी अभियान अध्ययन र अवलोकन गर्न रातारात बेगुसराय पुग्यो । प्रत्यक्ष स्थलगत अवलोकनले भारतीय लोकतन्त्र र त्यसमा पनि भारतीय वामपन्थीहरु कसरी चुनाव लडिरहेका छन् ? नजिकबाट नियाल्ने अवसर मिल्यो ।

अग्रजले हाँक्ने, युवा खट्ने
बिहान ७ बजे हामी पुग्दा, बिहाटस्थित कन्हैयाको घर युवाहरुले भरिएको थियो । कन्हैया भने केही साथीसँग ‘मर्निङ वाक प्रचार’मा निस्कीसकेका रहेछन् । यो समय कन्हैया घरदैलो र गाउँका मानिसहरुसँग कुराकानी गर्दा रहेछन् । करिब ८ बजे घरकै मेसमा तयार भएको खाजा (प्राय पुरी तरकारी) खाएर उनी पार्टीले निर्धारण गरेको रुटमा ‘रोड शो’ र चुनावी सभामा निस्किए ।

‘हम लेके रहेंगे आजादी’ लेखिएको र कन्हैयाले डम्फु (डफली) बजाउदै गरेको तस्बिर अंकित टीसर्ट लगाएका जोशिला युवाहरुले नारा लगाउँदै अगुवा पछुवा गाडी र मोटरसाइकलको लामो लर्को लगाए । अर्कोतिर, प्रचारका लागि दिल्ली, पटना र भारतका अन्य क्षेत्रबाट आएका सयौँ युवाहरु ५÷७ जनाको सानो सानो टोली बनाएर स्थानीयका साथमा मतदाताको घरआँगनमै पुग्दथे । घरदैलोको क्रममा उनीहरुको ध्याउन्न कुनै पनि घर नछुटोस् भन्ने देखिन्थ्यो । कसरी भोट गर्ने र कन्हैयालाई नै किन भोट गर्नुपर्ने भन्ने बुझाउँदै हिँडेकोे सक्रियता निकै आकर्षक देखिन्थ्यो ।

दिउँसो २ बजेतिर भाकपाको बेगुसराय जिल्ला कार्यालय पुग्दा त्यहाँ प्रौढ मानिसहरुको बाहुल्यता थियो । सहयोग र समर्थन गर्ने अन्य दलका नेताहरु पनि भाकपा कार्यालयमा जम्मा हुन्थे । कन्हैयाको प्रचार योजनाको प्रभावकारिता र थप मिहिनेत गर्नुपर्ने विषयमा चर्चा गर्थे ।

पार्टीले विभिन्न क्षेत्रमा प्रचारको फ्लेक्स टाँगिएका, कन्हैया र उनको चुनाव चिन्हबारे स्पष्ट पार्ने गीतसंगीत सहितको प्रचार साधनहरुको जोहो गरेको थियो । यस्तो सबै संयोजन गर्ने प्रौढ नेताहरु नै देखिन्थे । नेताहरु विभिन्न ठाउँमा कन्हैयाको चुनावी अभियानको अपडेट लिदै थिए । कार्यालयमा एउटा ठुलो टेबल र केही कुर्र्सीहरु थिए ।
निर्वाचन परिचालनको जिम्मा पाएका प्रौढ नेताहरु पुरानै शैलीमा फोन नम्बर र अन्य सुचना कापीकलमकै भरमा संकलन गरिरहेका थिए । त्यहाँ कम्प्युटर, ल्यापटप वा सामाजिक सञ्जालको प्रयोग गरेको देखिएन । तर युवाहरुको भने प्राथमिकतामा थियो ‘न्यु मिडिया’ प्रचार ।

जीतको भोक दालमोठको खाजा
कार्यालयमा एकाएक मानिसको हातहातमा पोकाहरु बाँडिए । दालमोठको पोको रहेछ । दालमोठ चबाइरहेका सबैमा जीतको भोक टड्कारो देखिन्थ्यो । कोही आशावादी थिए, कोही भाजपाका प्रतिपष्र्धीले सय करोड खर्च गर्दैछन् रे, के घर घरमा बाँड्न सक्ला त? भन्दै प्रश्न गरिरहेका थिए । उनीहरुको चासो र ध्यानमा जीतको भोक निकै राम्ररी महसुस गर्न सकिन्थ्यो । पार्टी कार्यालयमा आउने अतिथीहरुको लागि मेस चलेको थियो । त्यहाँ सादा दाल भात तरकारीको व्यवस्था थियो ।

जीवित पार्टी आदर्श र प्रणाली
दिनभरको प्रचार कार्यक्रमपश्चात साँझ ७÷८ बजे कन्हैया सहित पार्टी निर्वाचन परिचालनको टिमको दैनिक समिक्षा तथा योजना तर्जुमा बैठकमा, केन्द्रीय नेताहरुको पनि आउने जाने चलिरहने रहेछ । सिपिआइका पाका नेता एवं पुर्व सांसद शत्रुधनप्रसाद सिंह त्यहाँ आइपुग्दा पार्टी कार्यालयमा रहेका सबै उभिए । यो कुरा सिंहले रुचाएनन् । उनको भनाइ थियो, तपाइँहरुलाई उठाउन म आएको हैन सघाउन आएको हुँ ।

सत्कार गर्नुहोस् तर कसैलाई ठुलो र आफुलाई सानो ठान्ने नगर्नुहोस् । हामी समानताका लागि लड्दैछौँ । सबै चुपचाप लागे । हामीलाई लाग्यो हामीकहाँ यसो बोल्ने नेताहरु निकै घटिसके । वास्तवमा यस्तो सोच्न पनि हामीले छाडेका पो छौँ कि ? त्यहाँका नेताहरुको सादापन साँच्चै अनुुकरणीय लाग्दथ्यो ।

लालसलाम, इन्क्लब जिन्दावादसँगै जयभिमको नारा
भाजपाको ‘मैँ भि चौकिदार’, कँग्रेस आइको ‘अब होगा न्याय’ भन्ने नारा देशव्यापी चलिरहँदा कन्हैयाको प्रचारमा ‘इन्क्लब जिन्दावाद’ गुञ्जिदैथ्यो । यो नारा भारतीय स्वतन्त्रता सेनानी एवं सिपीआइका संस्थापकमध्ये एक, मौलाना हसरत मोहनीले सन् १९२१ मा रचेका थिए ।

भारतीय स्वतंत्रता संग्रामताका यो नारा चर्चित थियो । कन्हैयाको प्रचारमा बृद्ध र युवाले एकैसाथ यो नारा लगाएको सुन्दा, अश्फाक उल्ला खान, भगत सिंह, चन्द्रशेखर आजाद, उनीहरुका क्रान्तिकारी साथीहरु र भारतीय स्वतन्त्रता संग्रामको याद दिलाईरहेको थियो ।

पटनाबाट चुनावी प्रचारमा आएको नागरिक समाजको ¥याली यस्तै नारा लगाउँदै बेगुसराय, अंबेड्कर पथमा रहेको अंबेड्करको शालिक नजिक पुग्यो । त्यहाँ नारा गुञ्जीयो, ‘जयजय भीम’, ‘तो जोर से बोलो जयभीम’, ‘तो मिलकर बोलो, जयभीम’ । ‘इन्क्लब जिन्दावाद’ सँगै ‘जयभिम’ र लालसलामको नारा पहिलोपटक एकैसाथ सुन्दा हामीलाई भने नौलो लागेको थियो ।

खोज्दै जाँदा भेटियो, जयभिमको नारा विशेषतः अंबेड्करवाद मान्ने बहुजन समाज पार्टी लगायतका नेताकार्यकर्ताले लगाउदा रहेछन् । तर सन् २०१६ जनवरीपश्चात ‘जयभिम’ र ‘लालसलामको’ नारा सँगसगै विद्यार्थीहरुले लगाए । कारण थियो, हैदरावाद विश्वविद्यालयमा पीएचडी अध्ययनरत रोहित वेमुलाको मृत्यु ।

जातीय विभेदविरुद्ध आवाज उठाउँदा विश्वविद्यालयले कथित दलित भनिएका वेमुलाको छात्रवृत्ती रोकेको कारण, उनले आत्महत्या गर्न बाध्य भएको भनिन्छ । यस घटनापछि गरिब र कथित तल्लो जाति भनी गरिने सबैखाले विभेदविरुद्ध जेएनयु लगायत धेरै विश्वविद्यालयमा जयभिम र लालसलामको नारा एकसाथ लाग्न थाल्यो । विद्यार्थी आन्दोलनले सुरु गरेको यो नारा कम्युनिष्ट पार्टीका मञ्चमा पनि अनुसरण भए ।

कम्युनिस्टहरुको रातो रङ्ग र अंबेड्करको निलो रङ्ग मिलाएर ‘लाल–निल एकता, जिन्दावाद’ पनि सुरु भयो । विद्यार्थी आन्दोलनबाट आएका कन्हैया कुमार र उनका साथीहरुले बेगुसरायमा पनि यो नारालाई सर्वत्र बनाएका रहेछन् । जातीय र वर्गीय उत्पीडनबाट मुक्तिका लागि ‘लालसलाम’, ‘जयभिम लालसलाम’मा रुपान्तरण भएको कन्हैयाका प्रचारमा लागेका कमरेडहरुले बताए ।

बेगुसरायमा जयभिम र लालसलाम मिश्रित नारा गरिब नागरिकको सामाजिक न्याय र मुक्तिका लागि सहयोगी होला वा नहोला, यो छुट्टै बहस हुन सक्ला । तर आज बेगुसरायमा एकसाथ गुञ्जीरहेको छ, लालसलाम, इन्क्लब जिन्दावाद र जयभीमको नारा ।

मुल एजेण्डाः संबैधानिक मुल्यको सुरक्षा
विशेषगरि भाजपा र मोदीले हिन्दुत्वको आवरणमा धर्म निरपेक्षताको संवैधानिक प्रावधानमाथि हमला गर्न थालेको र यसले हिन्दु मुसलमानबीचको आपसी सद्भाव भड्काउन मद्दत गरेको भारतका सबै वामपन्थी पार्टीको ठहर छ ।

भारतीय संविधानले निर्दिष्ट गरेको लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमाथि धावा बोल्दै भिडतन्त्र, अराजकता र उग्र राष्ट्रवादको आडमा सामाजिक फाँसिवादतर्फ धकेल्न भाजपा अग्रसर भएकाले आजका क्रान्तिकारीहरुको प्राथमिक कार्यभार चालु संविधानको रक्षा भएको उनीहरुको निष्कर्ष छ ।

सोही अनुसार बेगुसरायका जनतालाई कन्हैयाका लागि भोट मागिएको पर्चामा ‘जाती र धर्म को नाममा देश बाँड्नेहरुको षड्यन्त्रलाई असफल पार्दै, संविधान र लोकतन्त्रको रक्षा गरौँ’ भन्ने अपिल छ ।

त्रिकोणात्मक संघर्ष
बेगुसरायमा प्रतिष्पर्धा त्रिकोणात्मक छ । भाजपाका गिरिराज सिंह, बहालवाला केन्द्रीय मन्त्री हुन् । गिरिराजले चुनावी प्रचारका क्रममा ‘मोदीका आलोचकका लागि भारतमा ठाउँ नभएको र उनीहरु पाकिस्तानपरस्थ भएको’ भन्दै भाजपा विरोधीको राष्ट्रियतामाथि नै प्रश्न खडा गरे । उनले आफु सबै हिन्दुहरुको प्रतिनिधि बनेर चुनाव लडिरहेको अभिव्यक्ती दिंँदैछन् । अर्कोतिर लालुप्रसाद यादवको राष्ट्रिय जनता दल (आरजेडी) समर्थित महागठबन्धनको उम्मेद्वार छन् तनवीर हसन । उनी मुसलमान समुदायका हुन् ।

विधायक निर्वाचित भइसकेका र पछिल्लो लोकसभा चुनावमा दोस्रो भएका व्यक्ति हुन् हसन । एकातिर महागठबन्धनको साथ, अर्काेतर्फ आफु मुसलमान समुदायको भएकोले यो पाली आफैले जित्ने दावी गरिरहेका छन् हसन । यी दुईका साथमा ठुला साना गरि करिब २७ वटा वामपन्थी पार्टीहरुको साझा उम्मेद्वार बनेका छन् कन्हैया कुमार । दिल्लीमा सरकार चलाइरहेको आम आदमी पार्टीको पनि उनलाई साथ छ ।

कन्हैयालाई जित्न भने सजिलो छैन
जेएनयुको विद्यार्थी राजनीति र मिडियाको बलमा नेता बनेकाले बेगुसरायमा जन्मेको भएतापनि कन्हैयालाई स्थानीय नेता भन्न नमिल्ने बिपक्षीको तर्क छ । सिर्फ एक सिटले केही गर्न सकिन्न त्यसैले सिपिआइका उम्मेद्वार कन्हैयालाई भोट दिनुको अर्थ छैन भनेर समेत प्रचार गरिँदैछ ।

भारतमा जातियताको मुद्दा पेचिलो छ । कट्टरपन्थीहरुको राजनीतिक पकड चुलीमा भएको हामीले देखेकै छौँ । कन्हैया भुमिहार हुन् जस्को मतसंख्या करिब साढे चार लाख छ । मुस्लिमको साढे दुई लाख, दलित को करिब एक लाख र यादवको असी हजार ।

अघिल्लो चुनावमा भाजपाका विजयी उम्मेद्वारले चार लाख अठ्ठाइस हजार, उनलाई पछ्याएका तनवीर हसनले करिब तीन लाख, उनन्सत्तरी हजार र सिपिआइका उम्मेद्वारले करिब एक लाख बयानब्बे हजार मत प्राप्त गरेका थिए । यही तथ्यांकलाई हेर्ने हो भने पनि उनले जीतका लागि करिब अढाइ लाख भोट बढाउनु पर्छ । यो सजिलो विषय भने छैन ।

कन्हैया आफु कुनै जाती विशेषको होइन आम जनताको भोटले जित्ने दावी गर्दैछन् । भाजपाका कतिपय समर्थकले चुनावी मेसीनमा हेरफेर गरेर भएपनि कन्हैयालाई हराउनुपर्ने बताएका छन् । उनले चुनावी अभियानका क्रममा पनि धेरै भौतिक अवरोध व्यहोर्नुप¥यो ।

यो सँगै उनले ख्यातिप्राप्त कलाकार, लेखक, पत्रकार र युवाहरुको जुन स्तरको साथ पाए सोही स्तरमा सिपिआइको स्थानीय कमिटी भने परिचालित नभएको गुनासो पनि आयो । कतिपय प्रौढ र स्थापित भनिएका नेताहरुमा उनको लोकप्रियताले चिडचिडाहट पैदा गराइदिएको पनि महसुुस गर्न सकिन्थ्यो ।

कम्युनिष्ट पुनरुत्थानको आशा
बिहारको ‘लेनिनग्राड’ अर्थात कम्युनिष्टहरुको बलियो भुमी मानिन्छ बेगुसराय । तर सन् १९६७ मा योगेश शर्माबाहेक सिपिआइका अन्य कुनै उम्मेद्वारले यहाँबाट लोकसभा चुनाव जितेनन् । भारतभर कुनैबेला महत्वपूर्ण हिस्सा ओगट्ने वामपन्थीहरुको अवस्था अहिले निकै कमजोर छ । संसदमा भारतीय स्वतन्त्रतापछि मुख्य विपक्षी दलको रुपमा क्रियाशील रहेको सिपिआइ क्रमशः विभाजित र कमजोर बन्दै गयो ।

क्षेत्रीय रुपमा पश्चिम बंगाल, त्रिपुरा र केरेलामा लामो समय पकड जमाएका कम्युनिष्ट पार्टीहरु पछिल्लो २०१४ को लोकसभा चुनावमा ईतिहासमै सबैभन्दा कम ११ सिटमा खुम्चिनुप¥यो । आज यतिविघ्न कमजोर हुनुमा सिपीआइका ज्योति बसुलाई सन् १९९६मा तेस्रो मोर्चाका तर्फबाट प्रधानमन्त्री बनाउने अवसर वामपार्टीले सदुपयोग गर्न नसक्नु र पछिल्लोपटक २००८ मा एकिकृत प्रगतिशील गठबन्धनबाट वामपार्टी अलग हुनु मुख्य कारक रहेको कुरामा त्यहाँका वाम नेताकार्यकर्ताको ‘रियलाइजेशन’ पाइन्छ ।

बामपार्टीहरु निरन्तर विभाजित हुनु । समर्थन गरेका सरकारले लिएका कतिपय बाम नीतिहरुको स्वामित्व लिन नसक्दा, यसको जसबाट बञ्चित हुनु । यसले जनतासँग बढाएको दुरी । र अझ महत्वपूर्ण कुरा, कम्युनिष्ट पार्टीले नयाँ पुस्ताको नेतृत्व उत्पादन नै गर्न नसक्नु । उत्पादन भएका कार्यकर्तामा नेतृत्व हस्तान्तरण गर्न पनि नसक्नु ।

यस्ता विभिन्न कारणले सामाजिक रुपले खण्डित र वैचरिक ढंगले विभाजित भारतीय बामआन्दोलनमा आज कन्हैयाको उदय र चुनावी उम्मेद्वारीले केही आशा भने थपेको छ । यसको उदाहरण, देशभर सिपीआइएमले आरजेडीसँग गठबन्धन गरेपनि, बेगुसरायमा भने आफ्नो उमेद््वार तनवीर हसनलाई नभई कन्हैयालाई समर्थन गरेको छ ।
सिपिआइएमका महासचिव सिताराम यचुरीले बेगुसराय चुनावी सभामा मन्तव्य राखेपछि सामाजिक सञ्जालमा लेखे, ‘भारत बचाउन र सकारात्मक परिवर्तनका लागि बामपन्थी उम्मेद्वार कन्हैयाको जीत महत्वपूर्ण छ’ ।

कम्युनिष्ट पार्टीका नेता मात्र होइन, उनीहरुका भातृसंगठनका युवा विद्यार्थीहरु बेगुसरायको गाउँगाउँमा व्यस्त छन् । एकअर्कालाई संशोधनवादी वा उग्रपन्थी आरोप लगाइरहेकाहरुले एकताबद्ध भएर कन्हैयाको प्रचारमा जसरी जुटिरहेका छन्, त्यो साँच्चै लोभलाग्दो छ । यस क्रममा नयाँ पुस्ताले देखाएको जोश, सहभागीता र सक्रियतालाई वाम पार्टीहरुले आँफुलाई एकताबद्ध गर्न र फेरी बौराउन पहलकदमी गर्छ वा चुनावसँगै यो सकिन्छ ? त्यो यसै भन्न सकिन्न ।

माक्र्सले श्रमजीवि जनताको जीतका लागि तीन प्रमुख शर्त बताउँछन् । एक, श्रमजीवि वर्गको बहुसंख्या । दुई, उसलाई मुक्त गर्ने ज्ञान । र तीन, श्रमजीवि वर्गको संगठन । चुनावि प्रचारमा कन्हैयाले संगठनको विषयमा कम कुरा गरेका छन् ।

चुनावि जीतकोे तत्कालिन रणनीतिका लागि यसो गरिएको हो भने यसलाई ठिकै मान्न सकिएला । तर सामाजिक रुपान्तरणको मुद्दाहरुलाई निश्कर्षमा पु¥याउन कन्हैया कुमार पौराणिक मिथकहरुमा पाइने एकल नायकी (इन्डीभिजुयल हिरोइज्म) को बाटोमा लाग्छन् वा कम्युनिष्ट आन्दोलन एकीकृत गर्ने, बृहत संगठन निर्माणको सारथी बन्छन् ? उनको छनौट भविष्यमा देखिने नै छ ।

कम्युनिष्ट पार्टीमा संकट नआएको भए कन्हैयाको उम्मेद्वारी हुन्थ्यो कि हुन्नथ्यो त्यो अब अनुमानको विषय भयो । तर कन्हैयाको उम्मेद्वारी भारतमा कम्युनिष्ट पार्टीको पुनरुत्थानको अवसर बन्छ वा बन्दैन, त्यो चाँही उनको छनौट र त्यहाँका कम्युनिष्ट पार्टीहरु स्वयंको सुझबुझमा भर पर्नेछ ।

सिपाआइको केन्द्रले कम्युनिष्ट आन्दोलनको पुनरुत्थानको लागि कन्हैयाको जीतलाई ज्यादै ध्यान दिएको छ । यसमा उ सफल हुन्छ वा हुन्न त्यो बुझ्न भने मे २३, २०१९ पर्खनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्