Logo
  बैशाख ७, २०८१ शुक्रबार

कहाँ पुग्यो विश्व कम्युनिस्ट आन्दोलन ?



औद्योगिक पुँजीवादले व्यापक मात्रामा मजदूर वर्गमाथि लुट र उत्पीडनसँगै मजदुर वर्गको पक्षमा लड्न विचारधारा, राजनीति र राजनीतिक व्यवस्थाको वस्तुगत आवश्यकता जन्मिन पुग्यो । त्यही वस्तुगत आवश्यकताको धरातलमा नै माक्र्सवादको जन्म भयो ।

द्वन्द्वात्मक भौतिकवादी दार्शनिक प्रणाली त्यतिबेलासम्म मानव समाजमा एक छत्र राज गरिरहेको प्रत्ययवादी शोषक वर्गीय दार्शनिक प्रणालीको सम्पूर्ण रूपमा विकल्पको विचारधाराका रूपमा अगाडि आयो । माक्र्स–एङ्गेल्सको पहलमा सन् १८४८ मा प्रकाशित कम्युनिस्ट घोषणापत्र पहिलो र आधारभूत कम्युनिस्ट दस्तावेज बन्न पुग्यो ।

सन् १८७१ म पेरिसका मजदुरहरूले विद्रोह गरी पेरिस कम्युनको स्थापना गरे । पेरिस कम्युन नै मजदुर वर्गले निर्माण गरेको पहिलो राज्यसत्ता थियो । त्यो मजदुर वर्गीय राज्य केवल ७१ दिन मात्र टिके पनि त्यसले सबैको ज्याला बराबर पार्ने, राज्यका सबै निकाय मजदुर वर्गले निर्वाचित गर्ने लगायतका असाधारण कामहरूको थालनी गरेर मजदुर वर्गले कस्तो राज्यको निर्माण गर्दछ भन्ने ऐतिहासिक सन्देश दियो ।

पेरिस कम्युनको हारपछि माक्र्सले मजदुर वर्गले सत्ता कब्जा गरेर मात्र पुग्दैन, बरू पुरानो राज्य सत्तालाई पुरै ध्वस्त पार्नुपर्ने ऐतिहासिक संश्लेषण गरे ।

औद्योगिक पुँजीवाद एकाधिकार पुँजीवादका रूपमा अगाडि आएपछि रूसमा लेनिनले पुँजीवादको एकाधिकार पुँजीवादी चरणलाई साम्राज्यवादका रूपमा परिभाषित गर्दै सर्वहारा क्रान्तिको रणनीति प्रस्तुत गरे र सन् १९१७ को अक्टोबर सामाजवादी क्रान्ति सम्पन्न हुन पुग्यो ।

अक्टोबर क्रान्ति नै माक्र्सवादी सिद्धान्तका आधारमा सम्पन्न भएको पहिलो कम्युनिस्ट क्रान्ति थियो । त्यस क्रान्तिले एक देशमा क्रान्ति सम्पन्न गरेर क्रान्तिलाई विश्वव्यापीकरणतिर लैजान सम्भव भएको प्रमाणित ग¥यो । लेनिनले सम्पूर्ण सत्ता सोभियतलाई भन्ने नीति लिए ।

समाजका विभिन्न सर्वहारा श्रमिक जनसमूहका बीच उनीहरू आफैले निर्णय गर्ने गरी बनेका ती सोभियतहरूलाई सम्पूर्ण सत्ता दिने नीति वास्तवमा राज्यसत्तामाथि आम श्रमिक जनताको नियन्त्रण र पहुँच गराउने प्रणाली थियो । यो नीतिले उत्पादक शक्तिलाई व्यापक मात्रामा सिर्जनात्मक बनाउने र राज्यको मालिक आम सर्वहारा श्रमिक जनतालाई बनाउने दिशा पक्रेको थियो ।

व्यापक सर्वहारा–श्रमजीवी जनतालाई पूर्ण रूपमा दिइने सर्वहारा जनवादको अभ्यासको जगमा मात्र पराजित पुँजीपतिवर्ग माथि अधिनाकत्व सम्भव हुन्छ भन्ने सर्वहारा वर्गको अधिनायकत्वको मूल मर्म यस नीतिले पक्रिएको थियो । यो पेरिस कम्युनमा मजदुर वर्गको सत्ताले अपनाएको नीतिकै नयाँ रूपमा व्यापक स्तरमा निरन्तरता थियो ।

अक्टोबर क्रान्तिपछि निर्माण भएको सोभियत वैज्ञानिक समाजवादी व्यवस्थाले संसारभरि कम्युनिस्ट आन्दोलन उत्साहित भयो र विस्तार हुन थाल्यो । राष्ट्रिय मुक्ति आन्दोलनलाई ठूलो प्रेरणा मिल्यो र उपनिवेशहरू स्वतन्त्र राष्ट्रमा बदलिन थाले ।

पुँजीवादको विकास नभइसकेका सामन्तवादी वा अर्धसामन्ती मुलुकहरूमा कम्युनिस्ट क्रान्तिको निम्ति मजदुर र किसानको एकतामा आधारित रणनीति लिनुपर्ने थेसिस लेनिनले प्रस्तुत गरे र पछि स्तालिनले त्यसलाई ‘जनताको लोकतन्त्र’को बाटोको रूपमा प्रस्तुत गरे ।

चीनमा माओले नयाँ जनवादी व्यवस्थाका रूपमा शानदार रूपमा संश्लेषण गरे । अक्टोबर क्रान्तिले नै चीन, भियतनाम, कोरिया हुँदै क्युबासम्मको कम्युनिस्ट क्रान्तिका निम्ति एउटा गतिलो प्रेरणाको काम ग¥यो ।

अक्टोबर क्रान्तिपछि लगातार युद्धमा अल्झिनुपरको र घाइते अवस्थाबाट गुज्रिनु समेत परेका कारणले पनि हुन सक्दछ, ‘सम्पूर्ण सत्ता सोभियतलाई’ भन्ने नीतिलाई लेनिनले पर्याप्त मात्रामा राजनीतिक संस्कृति र प्रणालीकै स्तरमा थप उन्नत पार्दै लैजान व्यवस्थित योजना लागू गरेको पाइन्न ।

सन् १९२४ मा लेनिनको मृत्युपछि पनि त्यस्तो सिर्जनात्मक पहल स्तालिनबाट भएको पाइन्न । यस सन्दर्भमा गम्भीरतापूर्वक आत्मसात् गर्नपर्ने विषय के हो भने सर्वहारा श्रमिक वर्गको अधिनायकत्व पुँजीपति वर्गमाथि जरूरी र अनिवार्य छ तर त्यो भनेको सर्वहारा श्रमिक वर्गकै अधिनायकत्व हुनुपर्छ ।

सर्वहारा अधिनायकत्व भनेको पार्टीको अधिनायकत्व वा पार्टीका नेताहरूको डफ्फाको अधिनायकत्व भनेको होइन । अधिनायकत्व अर्थात् हुकमको सार भनेको निर्णय गर्ने र लागू गर्न पाउने अधिकार हो । जब व्यापक सर्वहारा श्रमिक जनताले आफ्नो विषयमा, आफ्नो सरोकारको विषयमा आफैले निर्णय गर्न पाउँदैन भने त्यो सत्ता सर्वहारा श्रमिक जनताको कसरी हुन्छ र ? त्यस्तो नहुने बित्तिकै त्यस्तो सत्ताले वर्ग उन्मुलनको प्रक्रियासँगसँगै आफैलाई पनि विलोपीकरणको प्रक्रियामा लैजाने दिशा लिएको हुँदैन ।

वैज्ञानिक समाजवादी सत्ताले एकातिर हजार तरिकाले आफ्नो गुमेको स्वर्ग फिर्ता लिन हरकत गर्ने पुँजीपति वर्गमाथि अधिनायकत्व लागू गर्नुपर्ने हुन्छ, त्यसका निम्ति व्यापक सर्वहारा श्रमिक जनतालाई अधिकार सम्पन्न बनाउँदै जानुपर्ने हुन्छ भने अर्कोतिर सत्ता विलोपीकरणको प्रक्रिया पनि सुरू गर्नैपर्दछ ।

सत्तालाई विलोपीकरणको प्रक्रियामा लैजाने भनेको आम सर्वहारा–श्रमिक जनतालाई बढीभन्दा बढी कार्यकारी अधिकारबाट सुसज्जित बनाउँदै लैजानु नै हो ।

पुँजीवाद भनेको राज्यले जनतामाथि शासन गर्ने हो तर वैज्ञानिक समाजवाद भनेको त्यस्तो संक्रमणकालीन व्यवस्था हो, जहाँ समाज अर्थात् व्यापक सर्वहारा श्रमिक जनताले राज्यमाथि नियन्त्रण बढाउँदै क्रमशः राज्यलाई विलोप गराएर राज्यलाई व्यवस्थापक संस्थामा रूपान्तरण गर्ने हो । यो विषय अबको वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका सम्बन्धमा सर्वाधिक महत्वको विषयका रूपमा आत्मसात गर्नु जरूरी छ ।

सोभियत समाजवाद र पूर्वी युरोपका समाजवादी व्यवस्थाहरूमा सोभियत वा कम्युनहरू वा आम सर्वहारा श्रमिक जनतालाई सम्पूर्ण सत्ता कसरी सुम्पिँदै जाने भन्ने विषयमा उपेक्षा नै रहेको देखियो । फलतः सोभियत औपचारिक जनवाद अभ्यास गर्ने संरचना बन्न पुग्यो र सबैतिर राज्य र राज्य सञ्चालक व्यक्तिहरू हावी हुन पुग्ने नियति देखाप¥यो । स्तालिनले यस विषयमा उपेक्षा नै गरेको पाइन्छ ।

विश्वव्यापी पुँजीवादबाट घेरिएर पनि भव्यतापूर्वक समाजवाद निर्माण गरिछाड्नुपर्ने चुनौती, पार्टीभित्रका विवर्गीय विचारहरूसँगको सङ्घर्ष, संसारभरिको कम्युनिस्ट आन्दोलनलाई गर्नुपर्ने सहयोग–समर्थनको चाप, हिटलरको नेतृत्वको मानवताविरोधी दोस्रो विश्वयुद्धबाट विश्व मानवताको रक्षाको जिम्मेवारी– यी र यस्ता भयानक चुनौतीलाई सामना गरेर विश्व समाजवादी शिविरको रक्षा गर्ने काम निकै नै ऐतिहासिक महत्वको थियो । ती कामको भव्यतापूर्वक नेतृत्व गरेका हुनाले विश्व पुँजीवाद र संशोधनवादले आरोप लगाएजस्तो स्तालिन ‘तानाशाह’ थिएनन् ।

संक्रमणकालीन समाजवादी व्यवस्थामा वर्गको अन्त्य भएको निष्कर्षमा पुग्ने हतारोले निम्त्याएको सैद्धान्तिक गल्ती, सोभियतहरूलाई कार्यकारी बनाउनेतिर नगई राज्यसत्तामै गरिएको अधिकारको केन्द्रीकरण, सर्वहारा जनवादलाई सङ्कुचन, भिन्न मतमाथि अनावश्यक प्रकृतिका प्रशासनिक दमन जस्ता काम भने सही भएका थिएनन् भन्न सजिलै सकिन्छ, तिनै कामको मूल्याङ्कन गरेर नै माओले प्रतीकात्मक रूपमा स्तालिन ३० प्रतिशत गलत भएको निष्कर्ष निकालेको बुझ्न पनि खास कठिनाइ पर्दैन ।

तसर्थ, समाजवादको रक्षा र विकासको क्रान्तिकारी नियतसहित विश्व साम्राज्यवादका विरूद्ध दृढतापूर्वक लड्ने क्रममा स्तालिनबाट गम्भीर गल्तीसमेत हुन पुगेको विषयलाई अबको कम्युनिस्ट आन्दोलनले नकारात्मक पाटोको शिक्षाका रूपमा ग्रहण गर्नुपर्दछ र स्तालिनको रक्षा गरिनुपर्दछ ।

सन् १९५३ मा स्तालिनको मृत्युपछि सत्तासीन हुन पुगेको ख्रुश्चोव नेतृत्वको डफ्फाले स्तालिनमाथि सयौँ आरोपसहित शान्तिपूर्ण सहअस्तित्व र शान्तिपूर्ण संक्रमणको रणनीति अगाडि ल्यायो, जुन छद्म पुँजीवाद अर्थात् संशोधनवाद थियो । यो संशोधनवादको प्रतिवाद माओ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीले ग¥यो, साथै अनवर होक्जा नेतृत्वको अल्वानियाली कम्युनिस्ट पार्टीले पनि त्यसको प्रतिवाद ग¥यो ।

संसारभरिका कम्युनिस्ट पार्टीहरू रूसी वा चिनियाँ धारामा विभक्त हुन पुगे । उत्तर कोरियाको कम्युनिस्ट पार्टीले कुनै पक्षधरता देखाएन । ख्रुश्चोवले नेतृत्व गरेको त्यस संशोधनवाद सन् १९९० को दशकमा पुग्दा पूर्वी युरोपसहित नाङ्गो पुँजीवादमा पतन भयो ।

सन् १९४९ मा चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भएपछि निकै ठूलो पार्टी अन्तरसङ्घर्षपछि माओको नेतृत्वमा वैज्ञानिक समाजवादमा सन् १९५६ मा संक्रमण गरिएको थियो ।

रूसमा पार्टीभित्रैबाट छद्म पुँजीपति वर्ग अर्थात् संशोधनवादले बिना रक्तपात समाजवादी सत्ता उल्टाएको परिघटनालाई गम्भीरतापूर्वक नियालेका र त्यसविरूद्ध महाबहस सृष्टि गरेर प्रतिवाद गरेका माओले चीनमा प्रतिक्रान्ति हुन नदिन, चिनियाँ सत्तामा रहेको छद्म पुँजीवादलाई परास्त गर्न उनले ऐतिहासिक महत्वको सन् १९६६ बाट सर्वहारा सांस्कृतिक क्रान्तिको सुरूआत गरे ।

सर्वहारा सांस्कृतिक क्रान्ति गुदीमा सामन्तवादी र पुँजीवादी विचारधाराको परिवर्तनको आन्दोलन थियो । आम सर्वहारा श्रमिक जनतालाई भौतिकवादी शिक्षाबाट सुसज्जित बनाएर सत्तामा रहेको छद्म पुँजीवादलाई चिन्न सक्ने बनाउने अभियान थियो ।

करोडौँ जनतामाथि विश्वास गरेर करोडौँ जनतालाई एक साथ व्यापक जनवादको अभ्यासको निम्ति अपिल थियो । सत्तासीन पार्टीले आफ्नैभित्रको खराबीविरूद्ध जनतालाई विद्रोहमा उत्रिन गरएको क्रान्ति आफैमा ऐतिहासिक महत्वको थियो ।

माओको सन् १९७६ मा मृत्यु भएका कारण माओले त्यस्तो सांस्कृतिक क्रान्ति पटकपटक जरूरी हुन्छ भनेर जोड गरेझैँ फेरि त्यस्तो क्रान्ति चीनमा अघि बढ्न सकेन । तर माओले निरन्तर क्रान्तिको सिद्धान्तलाई संश्लेषण भने गरे ।

अबको नयाँ कम्युनिस्ट आन्दोलनले क्रान्तिपछि होइन, बरू सुरूदेखि सर्वहारा सांस्कृतिक क्रान्तिलाई क्रान्तिको अभिन्न अङ्गका रूपमा अघि बढाउनु जरूरी छ । माओको मृत्युपछि आजसम्म पुग्दा चीन समाजवादी होइन, बरू राज्य नोकरशाही पुँजीवादमा पतन भइसकेको यथार्थ प्रष्ट नै छ ।

समाजवादी सत्ताहरू किन हारे ?
करीब आठ हजार वर्ष लामो वर्गीय समाज र त्यसले निर्माण गरेका निजी सम्पत्ति लगायत तमाम विषयमा निर्माण गरेका गलत सत्व र आदतबाट ग्रस्त मानव समाजमा माक्र्सवादले यात्रा सुरू गरेको केवल १७० वर्ष भयो । ८ हजार वर्षका अगाडि १७० वर्ष भनेको नौ महिनाको शिशु जस्तै हो । ८÷९ महिनाको शिशु उभिन खोज्दा लडेन भने, लड्दैउठ्दै गर्ने अभ्यासमा गएन भने उसका नलीहाड र ढाड बलियो नै हुन्नन् र ऊ कहिल्यै उभिन सक्दैन ।

यो कोणबाट हारको विषयलाई हेर्नु आवश्यकत छ । अर्को कुरा वैज्ञानिक समाजवाद एउटा संक्रमणकालीन समाज हो, त्यसैले त्यहाँ वर्गसङ्घर्ष बाँकी रहन्छ, वर्गसङ्घर्ष बाँकी रहने हुनाले हार हुने सम्भावना पनि बाँकी रहन्छ ।

वैज्ञानिक समाजवाद पुँजीवाद र साम्यवादबीचको पुलजस्तै संक्रमणकालीन समाज भएकाले त्यहाँ ज्याला, वस्तु मूल्य जस्ता पुँजीवादका अवशेष बाँकी नै हुन्छन्, त्यस वस्तुगत स्थितिले चेतनालाई प्रभाव पारि नै रहेका हुन्छन् । त्यसैगरी पुँजीवादले विकास गरेका निजी सम्पत्तिजन्य संस्कृति पनि समाजवादसम्म आइपुग्छ, त्यसले प्रभावित गरिरहेको हुन्छ ।

विश्व समाजवाद कायम नहुँदासम्म विश्व पुँजीवादले हजार तरिकाले त्यसलाई भत्काउन हरकत गरिरहन्छ । र, त्यतिबेला प्रचुर उत्पादन गर्ने उत्पादन शक्ति सतहमा नआइसकेको पनि धेरै क्षेत्रमा मानिसहरूमा अभाव रहन पुग्ने अवस्था थियो, त्यो पक्षले पनि भूमिका खेल्ने नै भयो । वस्तुगत रूपमा समाजवादी सत्तालाई नकारात्मक प्रभाव पार्ने प्रस्तुत परिस्थितिहरू थिए ।

वस्तुगत कारणहरू जे जति भए पनि समाजवादी सत्ताहरूलाई बाहिरबाट प्रहार गरेर ढलेको होइन, बरू पार्टी र सत्ता भित्रैबाट संशोधनवाद अथवा छद्म पुँजीवादले पार्टी र सत्ता रक्तपात बिना नै कब्जा गरेर समाजवाद ढालिन पुगेको हो । त्यसकारण समाजवादको हारको सवालमा कम्युनिस्ट आन्दोलनको आत्मगत अर्थात् भित्री कारणबारे सबैभन्दा गम्भीर हुनु जरूरी छ ।

यसरी हेर्दा, सोभियतहरू वा व्यापक सर्वहारा श्रमिक जनतालाई शक्तिशाली बनाउने कुरामा, सत्तामाथि उनीहरूको नियन्त्रण र पहुँचलाई बढाउँदै लैजानुको सट्टा शक्ति जति पार्टी र सत्तामा केन्द्रित गदै लैजानु नै भित्रैबाट समाजवाद कमजोर हुँदै जानुको मुख्य कारण हो । त्यसैगरी सर्वहारा जनवादलाई सङ्कुचित पारियो । एक प्रकारले पेटलाई शान्त पार, ओठलाई बन्द गर भनेजस्तो नीति लिइयो ।

अभिव्यक्ति स्वतन्त्रता र निर्णय प्रक्रियामा सहभागिता मानव समाजको खानापछिको सबैभन्दा ठूलो भोक हो भन्ने कुरा स्पष्ट नै छ । समाजवादी संविधान अन्तर्गत बसेर समाजवाद निर्माणमा लागिरहेका सर्वहारा श्रमिक जनताको बोल्ने, लेख्ने, भिन्नमत राख्ने जस्ता अधिकारलाई सङ्कुचित पार्नु अर्को गम्भीर कारण बनेको देखिन्छ । कम्युनिस्ट पार्टीभित्र समेत महाधिवेशनताका मात्र छलफलको फोरम खोल्ने नीतिलाई हेर्दा पनि यो विषय प्रष्ट हुन आउँछ ।

त्यसैगरी वैचारिक स्तरलाई लगातार नयाँ उचाइमा लैजान लगातार वैचारिक अभियान पनि चलाउने काम भएन । औपचारिक विश्वविद्यालयको पढाइले मात्र समाजवादको रक्षाका निम्ति तयार हुने पुस्ता जन्मिनै सक्दैनथ्यो ।

माओले यस्ता समस्याबाट पाठ सिक्दै जनवादलाई फराकिलो पार्ने नीति लिन थाले । मजदुरहरूलाई हडताल गर्न छुट दिने व्यवस्था थपियो । ‘सबै फूलहरूलाई फुल्न देऊ’ भन्ने नीति अघि सारियो । अन्ततः सर्वहारा सांस्कृतिक क्रान्तिको दश वर्षको क्रान्तिकारी तुफान नै खडा भयो । तर, त्यतिले मात्र प्रतिक्रान्तिलाई रोक्न सम्भव भएन ।

(वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको विचारधारात्मक राजनीतिक कार्यदिशा सम्बन्धी प्रस्ताव–२०७ ५ नामक दस्तावेजबाट)

प्रतिक्रिया दिनुहोस्