Logo

सरकार असफल पार्ने यस्तो रणनीति !



नेकपाको सरकार बनेपछि चुलिएका नागरिकका अपेक्षाप्रति सरकारका मन्त्रीहरुको क्रियाकलापले पछिल्लो समयमा नागरिकलाई निराश बनाउन थालेको टिप्पणी हुन थालेको छ । पहिलो पटक प्रधानमन्त्री हुंदा ओलीले आर्जन गरेको लोकप्रियता र विश्वास यतिबेला धरापमा पर्न थालेको महशुस भैरहेको छ ।

आफ्नै पार्टी भित्र सरकार र पार्टीको तीब्र आलोचना भैरहेको छ । जसको कारण प्रधानमन्त्रीलाई मन्त्रीपरिषद् हेरफेर गर्न दबाब फर्न थालेको छ । प्रधानमन्त्री स्वयमलाई पनि मन्त्रीहरुको काम चित्त बुझिरहेको छैन ।

दुई तिहाईको सरकारको नेतृत्व गरिरहेका ओलीले भ्रष्टाचारमा शून्य सहनशीलताको नारा दिएका छन् । जनतामा उनको यो अठोटले मुलुकमा सुशासन र स्थिरताको अवस्था र्जिना हुने विश्वास पलाएको थियो । यो स्वभाविक पनि थियो । तर प्रधानमन्त्रीले यसो भनिरहंदा मुलुकमा भ्रष्टाचारका ठूला ठूला काण्डहरु बाहिर आइरहेका छन् ।

भ्रष्टहरु राजीनामा दिंदै उन्मुक्ति पाउंदै गर्ने अवस्था बनिरहेको छ । लामो समयदेखि राजनीतिक अस्थिरता र बेथितिले आजित नागरिकमा दुई तिहाईको सरकार बनेपछि अब देश बन्ने भयो भन्ने खुशी जाग्नु अस्वभाविक थिएन । आम कार्यकर्तामा पनि निकै ठूलो उत्साह पैदा भयो । तर यो खुशी र उमंग कायम रहन सकेको देखिएन ।

भ्रष्टाचार पहिले भन्दा झन बढ्न थालेको समाचारहरु आइरहेका छन् । प्रधानमन्त्री भ्रष्टाचारमा शून्य सहनशीलताको विचार प्रवाह गर्ने र निर्देशन दिन्छन् तर, उनकै नेतृत्वका मन्त्रीहरु आफै निर्णय गर्दै दोहोरो सुविधा लिइरहेका छन् । सांसदहरु सरकारी निवासमा बसेर छुट्टै घरभाडा वापतको रकम लिइरहेका छन् । मन्त्रीहरु दोहोरो इन्धन सुविधा लिइरहेका छन् । बाहिर सुशासनको भाषण गर्ने भित्रभित्रै भ्रष्टाचारमा लिप्त हुने प्रवृत्ती देखिएको छ । प्रधानमन्त्रीले मन्त्रीहरुलाई आर्थिक अनुशासनमा राख्न सकेको देखिंदैन । यही चाला हो भने केपी ओलीको सत्ता भ्रष्ट्रचारले हल्लिन बेर छैन ।

मन्त्रीहरुलाई पार्टीले पनि लगाम लगाउन जरुरी छ । पार्टीको घोषणा पत्रको आधारमा जनताले यो सरकारका मन्त्रीहरुलाई निर्वाचित गरेका हुन । पार्टीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता पूरा गर्न सरकारको बाध्यकारी दायित्व हो । तर मन्त्रीहरुले त्यो लक्षण देखाएका छैनन् । दुई तिहाईको बलमा पदको दुरुपयोग गर्ने मन्त्रीहरुलाई पदमा बसिरहने सुविधा दिइनु हुंदैन ।

संविधानले लिएको समाजवाद निर्माणको बाटो त अझ टाढाको विषय भैरहेको छ । विद्यमान विकृतिहरुलाई मात्र नियन्त्रण गर्न सके पनि सरकारको वाहवाही हुने अवस्था छ । सुरुवाती चरणमा केही महत्वपूर्ण प्रयास गरे पनि तिनीहरुलाई निष्कर्शमा पुर्याउन नसक्दा सरकारको अहिलेसम्म पनि आलोचना भैरहेको छ । त्यसैले सरकार बनेदेखिका घटनाहरुको गम्भीर समीक्षा गर्दै अघि बढ्न सक्नु पर्दछ । किनभने यो सरकारको अर्को विकल्प छैन र कुनै बहानामा पन्छिने छुट पनि यो सरकारलाई छैन ।

नेकपाले आफ्नो सबै शक्ति लगाएर भए पनि नागरिकलाई निराश बनाउनु हुंदैन । नागरिकमा निराशा छायो भने त्यसको फाइदा वर्तमान परिवतनलाई नरुचाउने शक्तिहरुले लिने छन् । जनता स्वतन्त्र र सार्वभौम हुन्छन् भन्ने सबैले हेक्का राख्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्