Logo
  श्रावण १२, २०७८ मंगलबार

भद्रपुर भन्सारमा लक्ष्यभन्दा कम राजश्व असुली



झापा, ४ साउन । भद्रपुर भन्सार कार्यालय झापाले आर्थिक वर्ष २०७७÷७८ मा कोभिड–१९ का कारण भन्सार अढाइ महिना बन्द हुँदा लक्ष्यअनुसार राजश्व असुली गर्न नसकेको जनाएको छ ।

भन्सारले नरु ३० करोड २१ लाख राजश्व असुली गर्ने लक्ष्य लिए पनि रु २७ करोड नौ लाख १८ हजार मात्र असुली गरेको प्रमुख भन्सार अधिकृत प्रमोद पौडेलले बताए । उनका अनुसार लक्ष्यको ९० प्रतिशत राजश्व असुली भएको हो ।

उनले भन्सार महसुलवापत रु १३ करोड ५० लाख ४८ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ११ करोड आठ लाख ८६ हजार, कृषि सुधार शुल्क रु एक करोड छ लाख ७६ हजार, भन्सार सेवा दस्तुर रु १८ लाख ४४ हजार ६००, अन्त शुल्कवापत रु ५५ लाख ४६ हजार ५००, अग्रिम आयकर रु ६६ लाख १८ हजार र आकस्मिक लाभकारतर्फ रु तीन लाख दुई हजार राजश्व असुली भएको बताए ।

प्रमुख पौडेलले वैशाख १५ गतेदेखि हालसम्म भन्सार नाका बन्द हुँदा यसको असर राजश्वमा परेको बताए । मेची नदीमा पुल बनेपनि भद्रपुर नाकाबाट खाद्यान्न, लत्ताकपडा, माछा, चिया उद्योगका लागि चाहिने औजारलगायत सामग्री मात्र आयात हुँदै आएको उनको भनाइ छ ।

दुई वर्ष अघि पुल बनेपनि भारतको बिहार र पश्चिम बङ्गालतर्फ जोड्ने सडक अभावमा यो नाका भएर मट्टितेलका ट्याङ्कर, सिमेन्टका लागि चाहिने लिङ्कर, कोइलालगायतका सामग्री लिएर ठूला मालवाहक सवारी नआएको उनले बताए । उनले चालू आवमा सडक बनेसँगै यो नाकाबाट यी सामग्रीको आयात हुने र भन्सार राजश्व वृद्धि हुने अपेक्षा गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्