Logo
  श्रावण १२, २०७८ मंगलबार

‘जियानलुइजी’ युरोकपको सर्वोत्कृष्ट खेलाडी, पेड्री उत्कृष्ट युवा खेलाडी



काठमाडौँ, २८ असार । इटालीका गोलकिपर जियानलुइजी डोनारुम्मा १६ औं संस्करणको युरोकप फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। इटालीलाई युरोकप दिलाउन उत्कृष्ट प्रदर्शन गरेका जियानलुइजी प्लेयर अफ दि टुर्नामेन्टमा चुनिएका हुन् ।

जियानलुइजी युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर बनेका छन् । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको हो। फाइनलमा उनले दुई पेनाल्टी प्रहारसमेत रोकेका थिए।

स्पेनविरुद्धको सेमिफाइनलमा पनि उनी नायक बनेका थिए। जियानलुइजीले युरोमा ७ सय १९ मिनेट खेल्दै ३ क्लिन सिट निकालेका थिए। उनले प्रतियोगितामा ४ गोल व्यहोर्दा ९ पटक गोल बचाउ गरेका थिए।

यस्तै स्पेनका मिडफिल्डर पेड्री युरोकप फुटबलको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन्। आइतबार सम्पन्न युरोकपमा उत्कृष्ट प्रदर्शन गरेका पेड्री योङ प्लेयर अफ दि टुर्नामेन्ट बनेका हुन् । प्रतियोगितामा उनले ६ खेल खेलेका थिए । तर, स्पेन सेमिफाइनलमा इटालीसँग पराजित हुँदै बाहिरिएको थियो।

१८ वर्षीय पेड्री यो अवार्ड पाउने दोस्रो खेलाडी हुन् । २०१६ मा पोर्चुगलका रेनेटो सान्चेजले यो अवार्ड जितेका थिए।

प्रतिक्रिया दिनुहोस्