Logo
  बैशाख ३१, २०७८ शुक्रबार

माओवादीसँग क्रुद्ध ओलीद्वार आफू अनुकूलका नेतालाई नियुक्ति



काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका तर्फबाट नियुक्ति पाए नेताहरूलाई हटाउन थालेका छन् । एमाले र माओवादी एकीकरण भएको बेला भागबन्डामा नियुक्ति पाएका माओवादी नेताहरूलाई पदबाट हटाई ओलीले आफू अनुकूलका नेतालाई नियुक्ति दिन थालेका हुन् ।

माओवादीका तर्फबाट नियुक्त गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई हटाएर ओलीले सीता पौडेल र गंगानारायण यादवलाई नियुक्त गरेका छन् ।

यादव २०७४ सालमा राप्रपाबाट एमालेमा प्रवेश गरेका हुन् भने पौडेल एमालेकै महिला नेत्री हुन् । यसअघि २०७६ कात्तिकमा सरकारले सातैवटा प्रदेशका प्रमुख परिवर्तन गरेको थियो । त्यति बेला प्रदेश २, गण्डकी र सुदूरपश्चिममा माओवादी केन्द्र निकटकालाई नियुक्त गरिएको थियो ।

पुस ५ गतेपछि तत्कालीन नेकपामा आएको विग्रह र फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गराएपछि ओलीले तीनजना प्रदेश प्रमुखलाई पदमुक्त गरिसकेका छन् । यसअघि उनले प्रदेश २ मा माओवादीका तर्फबाट नियुक्ति पाएका तिलक परियारलाई हटाएर राजेश अहिराजलाई नियुक्त गरेका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली नेतृत्वको सरकारलाई आफ्नो पार्टीको समर्थन नभएको जनाए पनि औपचारिक रूपमा समर्थन फिर्ता लिएका छैनन् । यसअघि नै ओलीले माओवादीलाई समर्थन फिर्ता लगे हुन्छ भनेर ललकारेका थिए ।

सार्वजनिक रूपमा राजीनामा माग्ने तर संसद्मा अविश्वासको प्रस्ताव पनि नलैजाने गरेकाले माओवादीसँग क्रुद्ध ओलीले त्यस दलका नेताहरूलाई प्रदेश प्रमुखबाट मुक्त गरेका हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्