Logo
  बैशाख ८, २०७८ बुधबार

नभएको तथ्यांकलाई आधार मानेर गफ चुट्न बन्द गर्नुस्: गगन थापा



काठमाडौँ, २६ चैत । सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तथ्य र तथ्यांकमा टेकेर बहस गर्न संसदमा निम्तो दिएका छन् ।

विशेष समयमा थापाले प्रधानमन्त्रीले बाहिरको सभा सम्मेलनमा हुँदै नभएको तथ्य र तथ्यांकलाई आधार मानेर गफ चुट्न बन्द गर्न उनले सुझाव दिए ।

‘निर्माण भइसकेको पुलको शिल्यानास गरेको छ । ठेक्का पनि नभएको सुनकोशी मरिन डाइभर्सनको उद्घाटन गरेको छ । बीच बाटोमा पुगिसकेको बाटोको शिल्यान्यास गरेको छ । अस्ति भर्खर १६५ वटा सडकको बटन थिचेको छ,’ उनले प्रधानमन्त्रीतर्फ इंगित गर्दै भने, ‘बजेट तीन अर्ब छ । ती सडक निर्माण गर्न ५७ अर्ब लाग्छ । डिजाइन छैन । पैसा छैन । वर्षको जम्मा ८/९ सय किमि सडक बनाउने सडक विभागले अब २२/२३ सय किमि सडक थप्नका निम्ति संस्थाको क्षमता बढाउने हिसाबकिताब केही छैन । त्यसबारे केही सोच्न नपर्ने हो भने १६५ मात्र किन एउटा निर्वाचन क्षेत्रमा १० वटा सडक ठोक्दिम् । एकैपटक १६ सय ५० वटा सडकको शिल्यान्यास गरौं ।’

दिनको ३ किलोमिटर सडक पिच भएको भन्दै प्रधानमन्त्री जस्तो पदमा बसेको व्यक्तिले देशमा १० किलोमिटर पिच भएको छ भन्दै मिथ्यांक फैलाएको उनको आरोप थियो ।

‘हाम्रो पूर्वाधार निर्माणमा समस्या छ । अहिलेको सरकारको मात्र यो समस्या होइन् । पूर्वाधार निर्माणमा हाम्रा नियम र कानुनमा आधारभूत समस्या छन् । स्रोत, साधन र क्षमतामा समस्यामा छ । यो अवस्था बदल्न संसदले कयौं कानुन बदल्नुपर्ने काम छ । बजेटको समयमा गम्भीर छलफल गर्नुपर्ने छ’, उनले भने,’ प्रधानमन्त्रीले यसतर्फ सोच्न नपर्ने ?’

प्रतिक्रिया दिनुहोस्