Logo
  बैशाख ८, २०७८ बुधबार

जनस्वास्थ्य मापदण्ड नअपनाए देश लकडाउनतर्फ जान्छ: प्रधानमन्त्री ओली



काठमाडौँ, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कोभिड संक्रमितको संख्या बढेको तर्फ औल्याउँदै सर्वसाधारण नागरिकले सावधानी नअपनाए लकडाउन गर्नुपर्ने अवस्था आउने संकेत गरेका छन् ।

‘हाम्रो जनजीवनलाई ठप्प नगरुम,बाध्य भए ठप्प पार्ने अवस्था पनि आउन सक्छ । हामीले सावधानी अपनाउनुपर्छ र अहिलेदेखि सावधानी अपनाउनैपर्छ, ‘बिहीबार चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभामा प्रधानमन्त्री ओलीले भने, ‘सामाजिक दूरी कायम गर्नुपर्छ । मास्क लगाएर हाम्रो जीवनमा कोभिडलाई आउन दिने अवसर दिनु हुँदैन ।’

नागरिक आफैं सचेत नभए कोभिडबाट सुरक्षित हुन नसक्ने प्रधानमन्त्री ओलीले बताए । खोपले पनि शतप्रतिशत सुरक्षित राख्न नसक्ने उनको दाबी छ । मुख्य कुरा सरसफाइमा ध्यान दिन उनले आग्रह गरे। भने, ‘एकैपटक कोभिड भाइरस भित्र छिर्दैन। नाकमा बस्छ र त्यहीँबाट भित्र छिर्छ ।’

कोभिडका बिरामीलाई निःशुल्क उपचार गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ । परीक्षणदेखि खोप लगाउने कामसमेत निःशुल्क गरिएको उनले बताए । कोभिडलाई सरकारले लखेट्नुपर्ने उनको भनाइ छ ।

कोभिडले पर्यटन क्षेत्रमा सबैभन्दा बढी असर गरेको ओलीले सुनाए । अन्य देशको तुलनामा नेपालको अर्थतन्त्रमा कम असर परेको उनले दाबी गरे । निजी क्षेत्रसँग सरकारसँगै बढने पनि उनले बताए । उनले भने, ‘उद्योग, व्यापार तथा व्यवसायको क्षेत्रमा निजीक्षेत्रसँग साझेदार गरी अगाडि बढ्छौं ।’

व्यवसायीक क्षेत्रका लागि नीति बनाउन पनि उनले आग्रह गरे । ‘एडभान्स पोलिसी बनाऔं, एडभान्स काम गरौं,’ प्रधानमन्त्री ओलीले भने, ‘सँगै काम गरौं र देश विकासका लागि सँगै जुटेर काम गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्