Logo
  बैशाख ८, २०७८ बुधबार

नेपाल पत्रकार महासंघको मतगणना जारी



काठमाडौँ, २६ चैत । नेपाल पत्रकार महासंघको हिजो सम्पन्न निर्वाचनको मत परिणाम आज साँझसम्म आइसक्ने भएको छ ।

अधिकांश शाखामा बुधबार साँझदेखि नै मतगणना सुरु भइसकेको छ । थोरै मतदाता भएका कतिपय शाखाको मत परिणाम आइसकेको र कतिपय शाखाबाट आउने क्रम जारी रहेको निर्वाचन समितिले जनाएको छ।

पत्रकार महासंघको नयाँ नेतृत्वको लागि केन्द्रसहित १० वटा प्रदेश, ७६ जिल्ला शाखा, ४२ वटा प्रतिष्ठान र एसोसियटमा हिजो बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो ।

यो पटक पत्रकार महासंघको निर्वाचन प्रत्यक्ष प्रणालीबाट भएको थियो । पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा देशभरका झण्डै १३ हजार पत्रकारमध्ये ९२ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

तीन वर्षीय कार्यकाल रहने महासंघको नेतृत्वका लागि विभिन्न संगठनसँगको गठबन्धनमा विपुल पोखरेल नेतृत्वमा एउटा प्यानल र निर्मला शर्मा नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा होमिएका थिए । त्यस्तै गजेन्द्र सिंह बुढाथोकी पनि अध्यक्ष पदमा चुनाव लडेका थिए । जारी मतगणनामा अधिकांश क्षेत्रमा विपुल पोखरेल नेतृत्वको गठबन्धनलाई धेरै मत प्राप्त भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्