Logo
  बैशाख ८, २०७८ बुधबार

घाँस काट्न गएका सात किशोरी जब मुम्बईतर्फ हान्निए…



महोत्तरी, २५ चैत । महोत्तरी भगाहाका सातजना किशोरी भारत जानुको कारण खुलेको छ ।

मंगलबार दिउँसो करिब २ बजे घाँस काट्न भन्दै एउटै गाउँका १२ वर्षीया सीमा पासवान, १२ वर्षकै रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १४ वर्षीया रिया, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान र २० वर्षीया अस्मिता पासवान घाँस काट्ने बहानामा घरबाट निस्केका थिए । घरबाट घाँस काट्न जाने भन्दै निस्किएका उनीहरू भारतमा पो भेटिए ।

ती किशोरीहरूले केही दिनअघि नै को कहाँ कसरी र कता निस्कने भनी योजना बनाइसकेका थिए । सोही योजना बमोजिम एक-अर्कालाई सहयोग पुग्ने गरी घरबाट केही टाढा रहेको खेत जाने भन्दै परिवारलाई झुक्याए । अनि बलिउड चलचित्र नगरी मुम्बई पुग्ने लक्ष्यसाथ हिँडे ।

उनीहरू भारतको सीतामढीस्थित रेल्वे स्टेशन पुग्नासाथ बच्चा चोरको आरोपमा हल्लीखल्ली भयो । आफूहरू नेपाली रहेको भन्दा भारतीय प्रहरीले अझै ठम्याउन सकेन । पछि एकजना किशोरीबाट सय रुपैयाँ दरको नेपाली नोट फेला पारेपछि भारतीय प्रहरीले उनीहरू नेपाली रहेको थाहा पायो ।

गीतसंगीत र नृत्यमा औधी रुचि राख्नेगरेका किशोरीमध्ये रियाको गायिका बन्ने सपना पूरा गर्न मुम्बई जान लागेको किशोरीहरूले प्रहरी तथा सेफ हाउसलाई बताएका छन् । रिया गायिका बनिसकेपछि अन्य किशोरीहरूले नृत्यांगना (डान्सर) बन्ने लक्ष्य पालेका थिए ।

उनीहरूले भारतीय टेलिभिजनमा प्रसारण हुने इन्डियन आइडललगायतका टेलिभिजन शो र टिकटकमा भिडियो देखेर आफूहरू मुम्बई जान लागेको बताएका छन् ‌। त्यहाँ पुगेपछि अरू झैं आफूहरू पनि ‘भाइरल’ हुने र गायिका तथा नृत्यांगना बन्न पाइने भएकाले घर छाडेको रियाले प्रहरीलाई बताएकी छिन् ‌।

​भारतमा पुगेपछि खर्च टार्न र मुम्बई पुग्न उनीहरूले रुटिन नै बनाएका थिए । कसैले नाच्ने, कोहीले स्कुल पढाउने, कसैले भाँडा मस्काउने र कसैले खाना पकाउने भनेर कामसमेत बाँडिसकेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएपछि ती किशोरीहरूले परिवार र आफन्तलाई दु:ख दिएकोमा क्षमा मागेका छन्‌ । साथै, आइन्दा यस्ता गतिविधि नगर्ने प्रतिवद्धता पनि जनाएका छन्‌ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने यसको अझै पनि अनुसन्धान हुँदै गरेको र केही दिनमै पूर्ण जानकारी आउने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्