Logo
  बैशाख ८, २०७८ बुधबार

आर्मी र श्रीलंका पुलिसबीचको खेलमा आधा दर्शकलाई मात्र अनुमति



काठमाडौँ, २० चैत । एएफसी कप–२०२१ प्लेअफ अन्तर्गत नेपालको त्रिभुवन आर्मी क्लब र श्रीलंका पुलिस स्पोर्ट्स क्लबबीचको खेलमा रंगशालाको क्षमता भन्दा आधा दर्शकलाई मात्र दशरथ रंगशालामा प्रवेश दिईने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्मी र श्रीलंका पुलिसबीचको खेलमा रंगशालाको क्षमताको आधा दर्शकलाई प्रवेश गराइने जनाएको छ । आर्मीले दशरथ रंगशालामा श्रीलंकाको पुलिस क्लबसँग चैत २५ गते प्रतिस्पर्धा गर्नेछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ।

दशरथ रंगशालाको क्षमता १५ हजार रहेको छ । तर, कोरोनाको महामारी र एएफसीको नियमलाई मध्यनजर गर्दै आधा दर्शकलाई मात्र मैदान प्रवेशको अनुमति हुने एन्फाले जनाएको छ । आर्मी र श्रीलंका पुलिसबीचको खेल हेर्न दुई फरक टिकटदर राखिएको छ । सामान्यतर्फ ३ सय र भीआईपीतर्फ ५ सय टिकट मूल्य राखिएको छ।

करिब २० लाख खर्च हुने खेलमा उठेको रकम क्लबको हुनेछ । श्रीलंकन टिमले नेपाल आएपछि जंगी अड्डामा तयारी गर्नेछ । पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ।

भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्लेअफको फाइनल खेल खेल्नेछ । यस प्लेअफको विजेताले समूहचरणको समूह ‘डी’ स्थान बनाउनेछन्।

समूह ‘डी’ मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ । एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल्न लागेको हो।

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्लेअफको मौका पाएको हो।

प्रतिक्रिया दिनुहोस्