Logo
  बैशाख ८, २०७८ बुधबार

ताप्लेजुङका स्थानीय वन तथा जैविकता संरक्षणमा सक्रिय बन्दै



ताप्लेजुङ, १२ फागुन । ताप्लेजुङमा वन तथा जैविकता संरक्षणमा स्थानीयहरु सक्रिय बन्दै गएका छन् । सन्तुलित वातावरणले मात्र सिङ्गो प्राणी जगतको जीवन रक्षा हुने साथै भरपर्दो आम्दानीको स्रोत भएको बुझेपछि स्थानीयहरु वन तथा जैविकता संरक्षणमा सक्रिय बन्दै गएका हुन् ।

बढ्दो वन विनासले वातावरण असन्तुलित बन्दै गएको र जैविक विविधता पनि मासिन थालेको अवस्थामा वनजङ्गल तथा जैविकता संरक्षणमा गर्नमा स्थानीय जुट्न थालेका हुन् । जिल्लाका विभिन्न गाउँका स्थानीयहरु समूहमा आवद्ध भएर वन तथा जैविकता संरक्षणमा सक्रिय बन्ने गरेको पाइएको छ । स्थानीयस्तरमा गठित सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध भएर उनीहरु संरक्षणको क्रियाकलापमा सक्रिय बन्दै गएका हुन् ।

वन तथा जैविकता संरक्षणका लागि जिल्लास्तरबाट सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको सहयोग पाएकाले पनि आपूmहरुलाई थप सक्रिय हुनमा प्रेरणा मिलेको उपभोक्ता बताउँछन् । वन विनासले वातावरण नै खराब बन्दै गएको र त्यसको असर मानिस तथा अन्य प्राणीमा पर्न थालेपछि हाल वनजङ्गलको संरक्षणमा सक्रिय बन्न थालेको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रास्थित रमिते सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तेजकुमार चोङ्बाङले बताए ।

चोङ्बाङले वन तथा जैविकता संरक्षणमा समूहमा आवद्ध सबै उपभोक्ता सक्रिय भएर लागिपरेको बताउनुभयो । वन विनासले पहिरोको जोखिम बढेको, पानीको मुहानहरु सुक्दै गएको र केही महत्वपूर्ण वनस्पतिको अस्तित्व समेत मासिँदै गएको उनको भनाइ छ । पछिल्लो समय सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङको आर्थिक लगायत सहयोगबाट वन तथा जैविकता जोगाउन वृक्षरोपण, पोखरी संरक्षणजस्ता कार्य गर्दै आएको उनले बताए ।

यस्तै मिक्वाखोला गाउँपालिका–४ साँबाको आइखालाम्बा यक फुङफुङ्गे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विजयप्रकाश साँबाले पनि वन तथा वातावरणको संरक्षणमा सक्रिय रहँदै आएको बताए । साँबाका अनुसार वन तथा जैविकता जोगाएर पर्यापर्यटनको समेत विकास गर्ने योजना बनाएर समूह लागिपरेको छ । पर्यापर्यटनका लागि सामुदायिक वन उपभोक्ता महासङ्घ, जिल्ला महासङ्घको सहयोगमा पदमार्ग, विश्रामस्थल लगायतका संरचना निर्माण गरिएको उनले जानकारी दिए ।

मेरिङ्देन गाउँपालिका–५ थुकिमाको घुमाउने पातल सामुदायक वन उपभोक्ता समूहका कोषाध्यक्ष ङिमा शेर्पाले जैविक विविधता जोगाउन पोखरी संरक्षण लगायतका क्रियाकलाप गर्दै आएको बताए । झाडी फडानी, वृक्षरोपणजस्ता क्रियाकलाप गर्ने योजना समूहले बताउँदै आएको पनि शेर्पाले जानकारी दिए । यसरी जिल्लामा रहेका सयौं सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध भएर स्थानीयले वन तथा जैविकताको संरक्षणमा स्थानीय जुटेका छन् ।

यता तिनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्र संरक्षण आयोजनाको आर्थिक सहयोगमा स्थानीय वन समूहहरुलाई वन, वातावरण तथा जैविक विविधता संरक्षणका कार्य गर्नेगरी सहयोग गर्दै आएको सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङका अध्यक्ष सुरज ओझाले बताए । वृक्षरोपण, झाडी फडानी, उद्यम सञ्चालन, पदमार्ग निर्माण, विभिन्न सीप तथा तालिम प्रदान साथै समूहको कार्यालय व्यवस्थापन समेतमा जिल्ला महासङ्घले सहयोग गर्दै आएको ओझाले जानकारी दिए ।

वन तथा जैविकता संरक्षणमा स्थानीय उपभोक्ताको सक्रियता प्रभावकारी देखिएको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनले बताए । योजना तथा उनीहरुले गरेको कार्यको निरीक्षणका क्रममा उपभोक्ताको सक्रियताले वातावरण संरक्षण महत्वपूर्ण टेवा पुग्ने आपूmले महसुस गरेको मादेनको भनाइ छ ।

यस्तै डब्लुडब्लुएफ नेपालका वरिष्ठ अधिकृत गौतम पौडेलले पनि वन तथा जैविकता संरक्षणमा स्थानीय उपभोक्ताले देखाएको सक्रियताको सह्राना गरे । पौडेलले वातावरण संरक्षणका क्रियाकलापमा वृक्षरोपण गर्दा स्थानीय प्रजातिको प्रयोगलाई प्राथमिकता दिन र कुनैपनि वस्तु वा अवस्थाको अस्तित्वलाई असर नपर्नेगरी काम गर्न पनि उपभोक्तालाई सुझाव दिए ।

टीएमजे क्षेत्र संरक्षण आयोजनाका प्रवन्धक सुमित गौतमले पनि वन तथा जैविकता संरक्षणको कार्य गर्दा स्थानीय माटो र भूगोललाई ख्याल गर्नुपर्ने बताए । योजना अनुगमन तथा उपभोक्तासँगको छलफल कार्यक्रममा जिल्ला समन्वय अधिकारी आत्मराम सल्याल, डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बद्रीलाल यादव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्