Logo
  फाल्गुन १२, २०७७ बुधबार

ताप्लेजुङमा छ महिनामा १५ बलात्कारका घटना



ताप्लेजुङ, ३ माघ । ताप्लेजुङमा पछिल्लो छ महिनाको अवधिमा एक दर्जनबढी जबरजस्ती करणीका घटना भएका छन् । प्रहरीका अनुसार चालू आर्थिक वर्षको छ महिनाभित्र अर्थात पुस मसान्त सम्ममा १५ वटा जबरजस्ती करणीका घटना भएका हुन् ।

जिल्लाको अपराध अनुसन्धान तथा नियन्त्रणको अवस्थाबारे जानकारी गराउँदै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जबरजस्ती करणीसम्बन्धी घटनामा कमी नआएको जनाएको छ । गत साउनदेखि पुस मसान्त सम्ममा कुल ८२ वटा मुद्दा दर्ता भएकामा १३ वटा जबरजस्ती करणी र दुईवटा करणी उद्योगका घटना भएका छन् ।

पछिल्लो केही वर्ष यताको तथ्याङ्कलाई हेर्दा जबरजस्ती करणीसम्बन्धी घटना दिन प्रतिदिन बढ्दै गएको प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

प्रनाउ श्रेष्ठका अनुसार जबरजस्ती करणी घटनामा अधिकांस १८ वर्ष मुनिका बालिका पीडित रहेका छन् । केही २० वर्षमाथिका महिला पीडित छन् भने हाडनाताभित्र समेत करणी घटना भएको उनले जानकारी दिए ।

यस्तै छ महिनाको अवधिमा कर्तव्य ज्यान तीन, ज्यानमार्ने उद्योग दुई, लागूऔषध दुई, बहुविवाह चार, सवारी ज्यानसम्बन्धी दुई वटा मुद्दा दर्ता भएका छन् ।

बैङ्किङ कसुर एक, जातीय भेदभाव तथा छूवाछुतको एक, धर्म संस्कारसम्बन्धी कसुरको एक, भवितव्य ज्यान १४, झुण्डी आत्महत्या १० र अभद्र व्यवहारका २१ वटा मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

उक्त दर्ता भएका सङ्ख्यामध्ये ४३ वटा मुद्दाको फछ्र्योट भइसको र बाँकी प्रक्रियामा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्