Logo
  माघ ९, २०७७ शुक्रबार

के हो भर्चुअल सोसाइटी ?



इन्टरनेटको प्रयोग गरी विद्युतीय उपकरणका माध्यमबाट अभौतिक रुपमा गरिने मानवीय क्रियाकलापको सञ्जाललाई भर्चुअल सोसाइटी अर्थात् अभौतिक समाज भनिन्छ । इन्टरनेट, कम्प्युटर, मोबाइल लगायतका विद्युतीय उपकरणका माध्यमबाट २१ औं सताब्दीको प्रारम्भबाट वृहत भर्चुअल समाज निर्माण भएको छ ।

इन्टरनेट र विद्युतीय उपकरणको विकासले बृहत् सञ्जालयुक्त भर्चुअल समाजको निर्माण सम्भव भएको हो । यस्तो समाजमा मानिसको भौतिक उपस्थिति नभएपनि सामाजिक सम्बन्ध र क्रियाकलाप वृहत आकारमा हुन थालेको छ ।

इन्टरनेट र कम्प्युटरको विकासले फेसबुक, ट्वीटर, इन्स्टाग्राम, यूट्युब लगायतका सोसल मिडियामा मानिसबीच हुने अन्तरक्रियाले भर्चुअल समाजको विकास गरेको हो । त्यसमा जुम, स्काइप, माइक्रोसफ््ट टिम्स, गुगल मिट, डिस्कर्ड जस्ता भिडियो कलिङ प्लेट फर्मले मानिसबीचको सम्वाद र अन्तरक्रियालाई अझ प्रभावकारी र फराकिलो बनाएको छ । यस्ता प्लेट फर्मले सयौंसँग होइन, हजारौँलाई एकैपटक जोड्ने र सम्वाद गर्न सक्ने सम्भव बनाएको छ ।

मानिसको सानो समूहबीच अन्तरक्रिया र सम्वाद गर्नका लागि फेसबुकको म्यासेन्जर, वाट्सएप, भाइबर, इमो जस्ता एप पनि निकै लोकप्रिय छन् । यस्ता एपको मोवाइल र टेलिफोनको विकल्पमा प्रयोग भएका छन् । त्यति मात्र होइन, भिडियो कल, फोटो, भिडियो, अडियो वा कुनै लिखित सामग्री पठाउन निकै लोकप्रिय छन् । यस्ता एपले भर्चुअल सम्वादका लागि मानिसलाई अभ्यस्त मात्र बनाएन, भर्चुअल समाजमा रमाउनेहरुका लागि यस्ता अदृष्य औजार जीवनको अनिवार्य हिस्सा भएका छन् । र, लोकप्रिय बनेका छन् ।

मानिसका मानवीय क्रियाकलाप विस्तारै भर्चुअल हुन थालेका छन् । मानिस अभौतिक क्रियाकलापमा सक्रिय हुन थालेका छन् । सोसल मिडियाले मानिसलाई अभौतिक क्रियाकलापका लागि अभ्यस्त बनाएउँदै लगेको छ । शिक्षा, स्वास्थ्य, मनोरञ्जन, व्यापार–व्यवसायको प्रबद्र्धन तथा कारोबार पनि भौतिकभन्दा भर्चुअल प्रभावकारी हुन थालेको छ । सोसल मिडिया प्लेटफर्म सूचना प्रवाह गर्ने गतिलो माध्यम पनि बनेको छ । यसमा फेसबुक, ट्वीटर, युट्यूब, इस्टाग्राम जस्ता सञ्जाल बढी लोकप्रिय छन् ।

मानिसले संगठित भएर कम्पनी, संघ, संस्था जस्ता कानुनी संरचना निर्माण गरेका हुन्छन् । यस्ता संस्था वा कम्पनीले कानुनी व्यक्तिको मान्यता पाउँछन् । इन्टरनेट र सोसल मिडियाले मानिसको संगठित हुने प्रक्रिया, प्रवृति र तरिका नै बदलिदिएको छ ।

सोसल मिडियामा मानिस संगठित हुने प्रावधान निर्माण भएको छ । आफ्नो संस्थाले कम्पनी वा कुरा मिल्ने व्यक्तिहरु विभिन्न ग्रुप बनाएर सोसल मिडियामा संगठित हुन सक्छन् । त्यस्ता ग्रुपमा औपचारिक छलफल र बहस हुने गर्दछन् । आज निर्माण र विकसित हुँदै गएको भर्चुअल सोसाइटी भविष्यमा अझ उन्नत र विकसित हुने सम्भावना छ ।

भर्चुअल सोसाइटी भौतिक समाजको विकल्प पनि हो । भौतिक समाज जति धिमा र सुस्त छ, भर्चुअल समाज त्यो भन्दा कयौँगुणा रफ्तारमा अघि बढेको छ । भर्चुअल समाजमा उन्नती, प्रगति, सूचना र प्रविधिको प्रयोग हुने तर भौतिक समाज विस्तारै यी कुराबाट टाढा हुने अवस्था हुन सक्छ । नेपाली समाजमा जसरी चेपाङ, राउटे लगायतका केही जाति सूचना, ज्ञान र शीपमा पछि छन् । भारतको सेन्ट्रिनल आण्डमन टापुका जाति आजपनि आदिम जीवन बिताउँदै आएका छन् । भविश्यमा भर्चुअल समाजमा अभ्यस्त हुन नसक्ने मानिस वा समाज आजको समाजका चेपाङ, राउटे, आण्डमन लगायतका आदिम मावन जाति र समाज जस्तै पछाडी हुन सक्दछन् ।

त्यसमा पनि इन्टरनेटमा फाइभ जीको प्रयोगले दुनियाँका हरेक कुरालाई नयाँ ढङ्गले परिभाषित गर्ने अनुमान गरिएको छ । फाइभ जी इन्टरनेट र त्यसले विकास गर्ने प्रविधिले मानिस, समाज र राज्यलाई निर्देशित गर्ने विज्ञले अनुमान गरेका छन् । फाइभ जीको विकास र प्रयोगले मानिस आजभन्दा कयौँ गुणा बढी भर्चुअल हुने निश्चित छ । आजको भर्चुअल समाजका आधारमा केही विशेषताको अध्ययन गर्न सकिन्छ ।

भर्चुअल समाजको विशेषता
१.
सोसल मिडियाले विस्तारै अलग्गै अभौतिक समाजको आकार ग्रहण गर्दै गएको छ । सोसल मिडियामा निश्चित सदस्य हुने, त्यो समाजको सदस्य हुन निश्चित प्रक्रिया पूरा गर्नु पर्ने, त्यसका निश्चित नियम पालना गर्नु पर्ने । त्यो समाजमा प्रत्यक्ष रुपमा पाँच हजार सदस्य हुने, अप्रत्यक्ष रुपमा हजारौँ मित्रसम्म आफ्नो सन्देश पुग्न सक्ने, एकअर्का बीच अन्तरसम्वाद र प्रतिक्रिया व्यक्त हुने अवस्था छ । कसैले फेसबुक, ट्वीटर, यूट्यूब जस्ता सञ्जालमा पोष्ट गरेको सामग्री अन्य केही सय वा हजार शेयर गरे भने लाखौँ लाखका बीचमा पुग्न सक्ने र त्यो ‘भाइरल’ बन्न सक्छ ।

२. कुनै समय मानिसबीच भेटघाट, सम्वाद, अन्तरक्रिया र सञ्चार क्रियाका लागि फलैँचा उपयुक्त माध्यम थियो । २० औँशताब्दीसम्म त्यो भेटघाट र सम्वाद स्थल चिया दोकान र कफीसप हुन थाल्यो । तर, २१ औँ शताब्दीको प्रारम्भदेखि मानिसको भेटघाट र सम्वाद गर्ने स्थल सामाजिक सञ्जाल बनेको छ । हिजो भौतिक समाजमा रमाउनेहरु आज भर्चुअल (अभौतिक) समाजमा रमाउन थालेका छन् ।

३. सूचना प्रवाह गर्ने परम्परागत तरिका सामाजिक सञ्जालले ध्वस्त बनाइदिएको छ । सूचनाका लागि बिहानै उठेर पत्रिका पढ्ने, रेडियोको ट्यून बटार्ने र टेलिभिजन सेट अघि बसेर सूचना प्राप्त गर्ने तरिका र प्रवृत्तिमा व्यापक परिवर्तन ल्याएको छ । पत्रिका, रेडियो र टेलिभिजन जस्ता परम्परागत मिडियाबाट प्राप्त गर्ने सूचना मानिस अनलाइन र सोसल मिडियाबाट प्राप्त गर्न थालेका छन् । परम्परागत मिडिया पनि सोसल मिडियामा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ ।

४. भौतिक उपस्थितिमा दिइने बधाई, शुभकामना, श्रद्धाञ्जली, समवेदना जस्ता कार्य सोसल मिडियाबाट भर्चुअली हुन थालेको छ । यति मात्र होइन, विवाह, व्रतबन्ध, श्रद्धा, दशैँ, तिहार जस्ता पर्व मनाउने लगायतका धार्मिक कार्य पनि भर्चुअली हुन थालेका छन् । यस्ता कार्यमा मानिस सोसल मिडियाको प्रयोगमा अभ्यस्त हुँदै गएका छन् ।

५. इन्टरनेटका माध्यमबाट अरबौं रुपैयाँको व्यावसायिक कारोबार हुन थालेको छ । नयाँ पुस्ता त कुनै पसलमा गएर सामग्री खरिद गर्ने झन्झट गर्न चाहँदैनन् । आफूले चाहेको सामग्रीको घरमै बसेर अध्ययन गर्ने र अनलाइन अडर गर्नमा बढी रुचि लिन थालेको छ । भर्चुअली रुपमा सामग्री अडर गर्ने र डिजिटल भुक्तानी गर्ने अभ्यास बढ्दै गएको छ । गुणस्तरी इन्टरनेटको सबै क्षेत्रमा पहुँच नभएको देशमा पनि अनलाइन सपिङको आकर्षण बढ्दै गएको छ । उपभोक्ताहरु बिस्तारै नगद भन्दा क्यासलेसमा अभ्यस्त हुन थालेका छन् । सरकार र वित्तिय संस्थाले नगद भन्दा डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने नीति लिएको छ ।

६. विद्यार्थीले कलेज र विश्वविद्यालय नै नदेखि भर्चुअल अध्ययन र परीक्षा मात्र दिँदैनन्, परिणाम पनि भर्चुअल हुन थालेको छ । भौतिक उपस्थितिमा कक्षा कोठामा हुने अध्ययन विधिमा व्यापक परिवर्तन गरिदिएको छ । त्यसमा पनि कोरोना भाइरसको माहामारीबाट प्रभावित विश्वका लागि भर्चुअल शिक्षा प्रभावकारी विकल्प बन्यो । नेपालमा पनि भर्चुअल शिक्षाको व्यापक प्रयोग सुरु भएको छ ।

७. मानव समाजका क्रियाकलाप आज सोसल मिडियामा निर्भर हुनु थालेका छन् । समाजका राम्रा, नराम्रा विषय सोसल मिडियाका मुद्दा बनेका छन् । सोसल मिडियाको भर्चुअल समाजले राज्य, सरकार, समाज, राजनीतिक पार्टी, अदालत, प्रहरी, प्रसाशन जस्ता राज्यका संरचना प्रभावित हुने र तिनलाई नियन्त्रण, निर्देशित र सन्तुलनमा राख्न थालेको छ ।

८. सोसल मिडिया अभिव्यक्ति स्वतन्त्रताको सबैभन्दा उत्तम माध्यम बनेको छ । मानिसले आफ्नो गाउँ ठाउँ, वर्ग, समुदायको अधिकार र मुद्दालाई सोसल मिडिया मार्फत राज्यसम्म पूर्याउन थालेका छन् । हिजो नारा, जुलुस, धर्ना, अनसन बस्नु पर्ने मानिस फेसबसक र ट्वीटरमा जस्ता सोसल मिडियाबाट दबाब दिइरहेका छन् । राजनीतिक तथा सामाजिक आन्दोलनका लागि माइकिङ गर्ने, पत्रिकामा सूचना प्रकाशन कामको विकल्पमा सोसल मिडिया प्रयोग हुन थालेको छ ।

९. सोसल मिडियाबाट मानिसले राजनीति, अधिकारका कुरामा मात्र गर्दैनन्, आफ्नो उन्नति, प्रगति र भविश्य पनि खोज्न थालेका छन् । सडक मानिस रातारात सेलिब्रेटी भएका छन् । महान भनिएका मानिसको अस्तित्व र व्यक्तित्व निमेशभरमा समाप्त भएको छ ।

सडकमा गाउँदै हिँड्ने असोज दर्जी सोसल मिडियाका कारण चर्चित गायक बन्न र प्रतिभा देखाउन सफल भए । यौनकाण्डमा मुछिएपछि कृष्णबहादुर महाराले सभामुख पदबाट तत्काल राजीनामा दिनु पर्ने अवस्था आयो । सोसल मिडियाका कारण पद त्याग गर्नु पर्ने बाध्यता भएका र रातारात स्टार हुने दर्जनौँ उदाहराण छन् । टिकटक जस्ता एपको प्रयोग गरेर मानिसले आफ्नो कलाको प्रयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्