Logo

मेसीले बार्सिलोनामै करियर सकाएको हेर्न चाहन्छुः प्रशिक्षक ग्वार्डिओला



काठमाडौं, ६ मंसिर । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले लिओनल मेसीले बर्सिलोनामै करिअर समापन गरेको हेर्ने चाहना रहेको बताएका छन् । बिहीबार मात्रै सिटीसँग दुई वर्षको सम्झौता नवीकरण गरेका ग्वार्डिओलाले आफ्नो पूर्व खेलाडीको बारेमा प्रश्न गर्दा यस्तो जवाफ दिएका हुन् ।

बार्सिलोनामा मेसीको सम्झौता अर्को समरमा सकिँदैछ । अर्को वर्ष जनवरी १ पछि मेसीले स्पेन बाहिरको कुनै पनि क्बलसँग प्रि कन्ट्रयाक्ट गर्न सक्छन् । ग्वार्डिओलाले सम्झौता नवीकरण गरेपछि मेसीसँग उनको नाम जोडिएको थियो । मेसीले गत समयमा क्लब छाड्ने मनसाय व्यक्त गरेपछि उनी सिटी जाने हल्लासमेत चलेको थियो ।

‘लिओनल मेसी बार्सिलोनाका खेलाडी हुन् । मैले हजारौँ पटक यो भनेको छु । एक समर्थकको रूपमा म चाहन्छु लिओ त्यही अन्त्य गरुन्,’ उनले भने, ‘तर उनको सम्झौता यसै वर्ष सकिँदैछ र मलाई थाहा छैन उनको दिमाखमा के हुनेछ । अहिलेका लागि उनी बार्सिलोनाका खेलाडी हुन् ।’

यस्तै ग्वार्डिओलाले बार्सिलोनासँग आफ्नो घनिष्ट सम्न्ध रहेको पनि बताए । उनले भने, ‘क्लबले मेरो लागि जे गरेको छ त्यसको लागि म बार्सिलोनाप्रति आभारी छु ।’

सन् २००८ देखि २०१२ सम्म क्याटलान क्लबको प्रशिक्षक रहेका ग्वार्डिओलाले मेसीसँग काम गरेका थिए । ‘एकेडेमीमा, खेलाडीका रूपमा, प्रशिक्षकका रूपमा, उनीहरूले मलाई सबैथोक दिए । अहिले मेसी बार्सिलोनाकै खेलाडी हुन् र जुन र जुलाईमा ट्रान्सफर विन्डो नआउँदासम्म त्यहीं रहनेछन्,’ उनले भने ।

ग्वार्डिओलाले अहिले खेलमा उपलब्धी हासिल गर्ने नै आफ्नो एकमात्र टार्गेट रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्