Logo

यात्रु ठगिन थालेपछि सवारीभित्रै नम्बरप्लेट



ताप्लेजुङ, १ कात्तिक । ताप्लेजुङमा यात्रुमाथि हुने दूव्र्यबहार तथा बढी भाडा असुलीजस्ता क्रियाकलाप रोक्ने उद्देश्यले सार्वजनिक यातायातका साधनभित्रै सवारी नम्बरप्लेट टाँस्न सुरु गरिएको छ ।

चाडपर्वका समयमा यात्रुमाथि दुव्र्यवहार र तोकिएभन्दा बढी भाडा रकम असुल्ने क्रियाकलाप हुनेभन्दै सवारी साधनभित्र सवारी नम्बर उल्लेख गरिएको स्टिकर (नम्बरप्लेट) टाँस्न थालिएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायीको आपसी समन्वयमा स्टिकर राख्ने अभियान शनिबारदेखि सुरु गरिएको हो । सवारी धनी तथा यातायात व्यवसायीबाट बढी भाडा असुल्ने गरेको, बेलाबेलामा यात्रुमाथि दूव्र्यबहार हुने गरेको गुनासो बढेकाले सवारीभित्र नम्बर प्लेटको स्टिकर टाँस्न सुरु गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

सवारीभित्र स्टिकर (नम्बरप्लेट) टाँस्नाले यात्रुलाई बढी भाडा असुल्ने तथा दुव्र्यबहारजस्ता क्रियाकलाप गर्ने सवारी साधनको पहिचान गर्न सजिलो हुने ठानेर अभियानको सुरुवात गरिएको जिल्ला ट्राफिक प्रहरी ईन्चार्ज दीपक दुलालले बताए ।

दुलालका अनुसार धेरै यात्रुले आफू ठगिएको भनेर गुनासो गर्ने गरेको भए पनि ठगी गर्ने सवारी साधनको तत्काल पहिचान गर्न नसक्दा सम्बन्धित यातायात व्यवसायी र सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन सकिएको छैन ।

सवारी साधनभित्रै नम्बर प्लेट राखेपछि भने बढी भाडा असुल्ने र दूव्र्यबहार गर्ने सवारी साधनको नम्बरसहित प्रहरी वा ट्राफिक प्रहरीलाई सूचना दिन यात्रुलाई सजिलो हुने भएको छ ।

यता जिल्लाभित्र ग्रामीण भेगमा चल्ने र लामो दूरीका सबै सवारी साधनमा चढ्दा सवारीको नम्बर समेत ख्याल गर्न र ठगी लगायतका क्रियाकलाप भएमा तत्काल प्रहरीलाई खबर गर्न प्रनाउ श्रेष्ठले यात्रु तथा नागरिकलाई आग्रह पनि गरे ।

प्रतिक्रिया दिनुहोस्