Logo

चीनको तिब्बत सीमा जोड्ने सडक सर्वे सुरु



ताप्लेजुङ, १ कात्तिक । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकास्थित पापुङको तोक्पेगोलाबाट चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा जोड्नेगरी सडक योजनाको सर्वे कार्य सुरु गरिएको छ ।

मेरिङ्देन गाउँपालिका–५ थुकिमा–नाल्बु चाँगा हुँदै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलाबाट तिब्बत जोड्ने सडकको सर्वे कार्य सुरु गरिएको छ ।

चालू आर्थिक वर्षमा प्रदेश १ सरकार र मेरिङ्देन गाउँपालिकाको समपूरक कोषको ५० लाख रुपियाँ र सडक पूर्वाधार विकास कार्यक्रमको ४० लाख गरी ९० लाख रुपियाँ बजेटबाट हाल सर्वेको कार्य भइरहेको मेरिङ्देन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले जानकारी दिए । बराइलीका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि अहिले सर्वेको कार्य धमाधम भइरहेको छ ।

डीपीआर तयार भएपछि सडक निर्माण कार्य हुने र ताक्पेगोलाबाट पनि चीनको सीमा क्षेत्र सडक सञ्जालले छुने भएको छ । अर्कोतर्फ हाल उत्तर–दक्षिण ओलाङ्चुङगोला लोकमार्गमार्फत चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा टिपाताला भञ्ज्याङसम्म सडक सञ्जाल जोडिने प्रक्रियामा छ ।

अब लेलेप–ओलाङ्चुङगोला खण्डतर्फ करिव पाँच किलोमिटर ट्रयाक खुलेमा सडक सञ्जालले नेपाल–चीनको सीमा क्षेत्र टिपतालासम्म जोडिने छ ।

प्रतिक्रिया दिनुहोस्