Logo

देशभर तीन हजार १६७ जनामा कोरोना संक्रमण, एक हजार ८०० डिस्चार्ज



काठमाडौँ, १ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख २९ हजार ३०४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा तीन हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ । देशभरका संस्थागत आइसोलेसन १३ हजार २९९ जना र होम आइसोलेसनमा २५ हजार ४३८ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७१५ जना क्‍वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ४३८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ६९ हजार ६०७ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ६६ जनाको भेन्टिलेटरमा र २९० जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८९ हजार ८४० जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८०० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९.४ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले मोरङ, सुनसरी, मकवानपुर सुर्खेत, ललितपुर, काठमाडौं, चितवन, कास्की, भक्तपुर, दाङ, बाके र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने शुन्य संक्रमित जिल्ला मुस्ताङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्