Logo

ताप्लेजुङका प्रजिअमा सङ्क्रमण देखिएपछि सेवा बन्द



ताप्लेजुङ, ३० असोज । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट दशैँ अघिसम्म कुनै पनि सेवा प्रवाह नहुने भएको छ । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईलाई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि प्रशासन कार्यालयले कम्तिमा एक सातासम्म सेवा प्रवाह नगर्ने भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले बिहीबार सार्वजनिक सूचना जारी गर्दै दशैँ अघि अर्थात आगामी कात्तिक ६ गतेसम्म प्रशासन कार्यालयको कुनै पनि सेवा प्रवाह नहुने जनाए । प्रजिअ चापागाईलाई नै सङ्क्रमण पुष्टि भएपछि सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रवाह गर्न असम्भव भएकाले प्रशासन कार्यालयको सेवा बन्द गरिएको सहायक प्रजिअले सूचनामा उल्लेख गरेका छन् ।

नेपाली नागरिक प्रमाणित हुने नागरिकता प्रमाणपत्र प्रदान गर्ने निकायको सेवा प्रवाह नै बन्द हुँदा सेवाग्राहीमा पर्न गएको असुविधाप्रति जिल्ला प्रशासन कार्यालयले क्षमायाचना पनि गरेको छ । दशैँ विदापछि आगामी कात्तिक १३ गते बिहीबारदेखि प्रशासन कार्यालयको सेवा प्रवाह नियमित हुने सूचनामा जनाइएको छ । यता प्रशासन कार्यालयले सेवा प्रवाह बन्द गरेपछि सेवाग्राही भने सेवा लिनबाट बञ्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्