Logo

मेरिङ्देन गाउँपालिकाको प्रशासकीय भवन बन्ने



ताप्लेजुङ, ३० असोज । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको प्रशासकीय भवन बन्ने भएको छ । मेरिङ्देन गाउँपालिका केन्द्र (मुकाम) सान्थाक्राको सुलुम्फीमा प्रशासकीय भवन बन्ने भएको हो ।
आउँदो दुई वर्षभित्र निर्माण भइसक्ने प्रशासकीय भवनको बिहीबार मेरिङ्देन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूले शिलान्यास गरेका छन् । गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फेसहितको उपस्थितिमा भवनको शिलान्यास गरिएको हो । भवनको शिलान्यास गर्नुहुँदै अध्यक्ष लिम्बूले लामो समयको पहल तथा कसरतबाट कार्यालयका लागि जग्गा प्राप्त गरेको र भवन निर्माण कार्य सुरु गर्ने अवस्थामा आइपुगेको बताए ।

कार्यालय प्रमुखसहितको समन्वय र सहजीकरणमा स्थानीय राजनीतिक दल लगायतसँग सहमति जुटाएर भवन निर्माण प्रक्रिया सुरु गर्न सफल भएको उनको भनाइ छ । गाउँपालिका उपाध्यक्ष तुम्बाहाम्फेले पनि स्थानीय राजनीतिक दल, सबै वडाका जनप्रतिनिधि र कार्यालयका कर्मचारी लगायतको प्रयत्न तथा सहयोगबाट भवन निर्माणको कार्य सुरु गर्न सम्भव भएको बताए । प्रशासकीय भवनका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताको पनि ठूलो सहयोग रहेको उपाध्यक्ष तुम्बाहाम्फेले बताए ।

यता अध्यक्ष तथा उपाध्यक्ष दुवैजनाले भवन सम्पन्न गर्नलाई मोटो रकम लाग्ने हुँदा बजेट व्यवस्थाका आपूmहरुले प्रदेश तथा सङ्घीय सरकार साथै मन्त्री र सांसदमार्फत निरन्तर पहल गर्दै आएको बताए । प्रशासकीय भवन सम्पन्न गर्नलाई स्थानीय राजनीतिक दल, अन्य जनप्रतिनिधि, कर्मचारी लगायत स्थानीय समूदाय सबैलाई उनीहरुले आग्रह पनि गरे ।
आगामी दुई वर्ष अर्थात २०७९ साल असोज पहिलो साताभित्र भवन निर्माण गरिसक्ने गरी मालिका देवी÷हिमालयन जेभी कम्पनीसँग गत असोज ५ गते सम्झैता गरिएको मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले बताए । बोलपत्र आव्हान गरिएको कुल लागत रकम छ करोड ६३ लाख ९७ हजार ८२० रुपियाँमध्ये पाँच करोड छ लाख १९ हजार ९८८ रुपियाँमा मालिका देवी÷हिमालयन जेभीले ठेक्का परेको र सोही रकममा चारतले भवन निर्माण गर्नेगरी सम्झौता गरिएको आङ्देम्बेले जानकारी दिए ।

मेरिङ्देनको प्रशासकीय भवनका लागि स्थानीय पाँचजनाले करिव सात रोपनी जग्गा निःशुल्क उपलब्ध गराए । यता जिल्लाको नौ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिकाको भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने पाथीभरा याङ्वरक गाउँपालिकाले आफ्नो कार्यालय वा प्रशासकीय भवन निर्माण कार्य भर्खरै सुरु गरेको छ । बाँकी स्थानीय तहले अहिलेसम्म कार्यालय भवन निर्माण गर्न सुरु गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्